कठोर पर्व जितीया मनाउँदै मिथिलानी
महोत्तरी : जितीया पर्वको मुख्य दिन मिथिलानीहरुले आज कठोर विधि अपनाएर व्रत लिएका छन्। सन्तानको कल्याणको कामना गर्दै आमाहरुले सुरु गरेको यो व्रतको दोस्रो दिन निराहर व्रत बसेका छन्।
असोज कृष्ण अर्थात् पितृपक्षको अष्टमी तिथिमा सन्तानको कल्याण कामनाका साथ आमाहरूले गर्ने यो पर्वको व्रत विधि कठोर मानिन्छ।
निराहार व्रत सुरु गरेका आमाहरुले व्रत समापन नहुन्जेलसम्म थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यता रहेको छ। जसले गर्दा यस पर्वलाई ‘खरजितिया’ पनि भनिन्छ गरिन्छ।
व्रत अवधिमा व्रतालुले नजिकको जलाशयमा गइ सामुहिक रुपमा राजा जितवाहनको कथा सुन्ने गर्छन्। आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन्। द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक लोककथामा उल्लेख छ। सोही धार्मिक मान्यताले यो कठोर व्रत बस्ने परम्परा बसेको जानकारवालाहरु बताउँछन्। राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुरु भएको मानिन्छ।
व्रत अवधिभरि एउटा सानो त्यान्द्रो झार पनि नटेकियोस् र क्षति नपुगोस् भन्ने सचेतता यो पर्वमा अपनाइन्छ। आफूहरूले गर्ने जितिया व्रतको प्रभावले नै सन्तानको सौर्यवृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने व्रतालु आमा (मिथिलिनीहरु) बताउँछन्।
बितेको मध्यरात अघि ‘ओगटन’ (दर) खाएर व्रत सुरु गरेका थिए। ब्रतालुले दही, चिउरा र अमोट (जमाएर राखिएको पाकेको आँपको रस) खाएर ‘ओगटन’ विधि गरेका थिए।
मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि व्रत समापन गर्नेछन्।
आफूहरूले गर्ने जितिया व्रतको प्रभावले नै सन्तानको सौर्यवृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने व्रतालुहरु विश्वास गर्छन्। सन्तानको कल्याण र सौर्यवृद्धिको कामनासहित व्रतालु मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा छ। यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै व्रतालुले दिवङ्गत आफन्त महिलालाई तर्पण दिने गर्दछन्।
निराहार व्रतको एक दिन अगाडि व्रतालुले एकाबिहानै पवित्र जलाशयमा गइ चोखो भएर भगवान सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ्य देखाएर व्रत सङ्कल्प लिएका थिए।
गौशाला नगरपालिकामा महिला कर्मचारीको लागि बिदा
जितीय पर्व मनाउने महिला कर्मचारीको ध्यानमा राखेर गौशाला नगरपालिकाको कार्यालयले आज शुक्रबार एक दिनको लागि महिलालाई सार्वजानिक बिदा दिएको छ।
नगर मातहतमा पर्ने सरकारी निकायमा कार्यरत रहेका महिला कर्मचारीहरुको हकमा बिदा दिइएको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ। कठोर व्रत लिएकी महिला कर्मचारीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै बिदाको घोषणा गरिएको नगरप्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिएका छन्।