विश्वासको अंकगणितमा रुमलिएको प्रदेश

कोसीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोसीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रदेशसभाबाट विश्वासको मत पाउन सकस पर्ने देखिएको छ। कार्की नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हुन्। उनले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार दिउँसोलाई प्रदेशसभा बैठक बोलाइएको छ। तर, सरकारका लागि प्रदेशसभाको अंकगणित प्रतिकूल हुँदा कार्कीले विश्वासको मत पाउने सम्भावना कमजोर बनेको हो। 

कोसीको ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ मत चाहिन्छ। सरकारसँग अहिले उपसभामुखसहित ४० प्रदेशसभा सदस्य छन्। प्रदेशमा सभामुख खाली छ। प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने हुँदा उपसभामुखले विश्वासको मत दिन मिल्दैन। एमालेसँग मत दिन पाउने प्रदेशसभा सदस्य ३९ मात्रै हुन्छन्। एमालेसँगै गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग ६ जना प्रदेशसभा सदस्य छन्।

कार्कीले विश्वासको मत पाउन राप्रपा एक्लैले साथ दिएर हुँदैन। यद्यपि, मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने टुंगोमा राप्रपा पुगिसकेको छैन। हाल राप्रपा सरकार बाहिर छ। उपसभामुखबाहेक एमाले र राप्रपाका ४५ जना मात्रै प्रदेशसभा सदस्य छन्। 

विपक्षी गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य छन्। गठबन्धन दल नेपाली कांग्रेससँग २९, नेकपा (माओवादी केन्द्र)सँग १३, नेकपा (एकीकृत समाजवादी)सँग ४ र जनता समाजवादी पार्टी (जसपा)सँग १ जना प्रदेशसभा सदस्य छन्। स्रोतका अनुसार विपक्षी गठबन्धनले कार्कीलाई विश्वासको मात दिने सम्भावना छैन। 

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्की भदौ २२ गते प्रदेशको दोस्रो कार्यकालको चौथो मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रमा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार कार्कीले विश्वासको मत लिन लागेका हुन्। तर, मत पाउने सम्भावना निक्कै क्षीण बनेर गएको छ। 

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी विश्वासको मतका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका दलसँग छलफल भइरहेको बताउँछन्। विश्वासको मत पाउने वातावरण बनिनसकेको बताउँदै उनले परिस्थितिको अन्तिम मूल्यांकन गरेपछि मुख्यमन्त्रीले राजीनामा दिने कि विश्वासको मत लिने भन्ने टुंगो लाग्ने उल्लेख गरे। अरू दलले साथ दिएमा राप्रपाले पनि एमालेलाई विश्वासको मत दिने उनको भनाइ छ। विश्वासको मत लिने अधिकतम प्रयास भइरहेको जानकारी उनले दिए। 

राप्रपाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट अहिले पनि आफूहरू एमालेकै साथमा रहेको बताउँछन्। ‘एमालेकै साथमा रहेकाले विश्वासको मत नदिने भन्ने कुरा छैन। तर, हामीले मात्रै सघाउँदा पनि विश्वासको मत जुट्दैन,’ उनी भन्छन्, ‘एमालेले अन्तबाट पनि वातावरण बनाउन सक्यो भने हामी मत दिन्छौं। नत्र तटस्थ बस्छौं।’ प्रदेशमा राजनीतिक स्थायित्वका लागि राप्रपा तयार रहेको विष्ट बताउँछन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.