कृषिबाट कमाउने सूत्र हिरासँग सिक्नुस्

कृषिबाट कमाउने सूत्र हिरासँग सिक्नुस्
सुर्खेत गुर्भाकोटका हिराबहादुर मगर आफूले फलाएको ड्र्यागन फल देखाउँदै। तस्बिर : बिस्नप्रसाद न्यौपाने

वीरेन्द्रनगर : पछिल्लो समय बेरोजगारी दर बढ्दो छ। कर्णालीमा कमजोर शैक्षिक गुणस्तरबाट ग्रसित युवामाझ रोजगारी नपाउँदा बिदेसिनेको विकल्प छैन। मासिक लाखौं कमाउन सकिने कृषि उद्यमभन्दा धेरैलाई मासिक तलब आउने जागिर नै प्यारो लाग्छ। तर, सुर्खेतको गुर्भाकोट नगरपालिका—१४ गुमीका हिराबहादुर मगरको सोच भिन्न छ। उनी कर्णालीकै एक उदाहरणीय युवाका रूपमा परिचित छन्। उनले गुमीमा गरेको ड्रागन र फूलखेतीले वार्षिक करोडौंको आम्दानीमात्रै गरेको छैन, कृषि उद्यमबाट पनि सफल हुन सकिन्छ भन्ने नमुना प्रस्तुत गरेको छ।  

पेसाले स्वास्थ्यकर्मी रहेका हिराले झन्डै ८५ हजारको जागिर छोडेर गुमीमा एक बिघा अर्थात् १३ रोपनी जमिनमा ड्रागन फ्रुट खेती र ३० कट्टा जमिनमा सयपत्री र मखमली फूलखेती गरेर बसेका छन्। मेडिकल क्षेत्रमा हेल्थ असिस्टेन्ट (एचए) पढेका हिराबहादुर घर्तीमगर झन्डै सात वर्ष काठमाडौं बसेर निजी क्षेत्रमा जागिर गर्थे। त्यसपछि उनी ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टमा स्थायी जागिरे बने। जहाँ उनको तलब मासिक ८५ हजार रुपैयाँ थियो। उनका लागि यो निकै राम्रो आम्दानी हो। तर उनी यसमा सन्तुष्ट हुन सकेनन्। चार वर्षसम्म त्यहाँ काम गरेका उनले ड्रागन र फूलखेती गरेर गाउँमै कृषि कर्म गर्ने उद्देश्यले झन्डै लाखको जागिर छोडे। उनी अहिले कर्णाली प्रदेशकै अगुवा कृषक हुन्। 

हिराले भने, ‘मलाई जागिर छाड्दा धेरैले गाली पनि गरेका थिए। त्यस्तो राम्रो जागिर छोडेर गाउँमा के गर्छ यसले भन्थे। तर अहिले मेरो ड्रागन फ्रुटको फर्म र फूलखेती हेरेर सबैले स्याबासी दिन्छन्। पहिले सुरुवात गर्दा गाली गर्ने गरेकाले पनि अहिले प्रशंसा गर्छन्। गुमी गाउँमा रहेको उनको लोभलाग्दो यो खेतीले प्रश्न गर्नेहरू सबैले एकमुष्ट जवाफ पाएका छन्। युवा रोजगारीका लागि मातृभूमि छोडेर विदेश पलायन हुने क्रम बढ्दो छ। स्वदेशमा केही हुँदैन, गर्ने वातावरण नै छैन भन्ने हल्ला धेरै नै छ। उनले भने, ‘स्वदेशमै केही गर्ने सोच बनाउने हो भने धेरै अवसर हामी वरिपरि छन्। युवाहरूले आफू वरिपरि रहेका अवसरहरूलाई छोप्न सक्नुपर्छ। 

सफलताको लागि तीन चिज आवश्यक हुन्छ– लगनशीलता, धैर्य र सकारात्मक सोच।’ कर्म गर्न तयार भए जुनसुकै उद्यमबाट पनि सफल बन्न सकिने उनी बताउँछन्। 

null

सुविधायुक्त जागिर छाडेर ड्रागन फ्रुट र फूलखेतीमा रमाएका गुमीका हिराबहादुर मगरले लगाएको ड्रागन फ्रुट ।  तस्बिर : बिस्नप्रसाद न्यौपाने

२०४७ सालमा सुर्खेतको गुमीमा जन्मिएका हिराबहादुरले गाउँकै आनन्द मावि गुमीमा कक्षा ७ सम्म अध्ययन गरे। बुवा भारतीय सेनामा भएकाले उनलाई पढ्न खासै समस्या थिएन। उनी थप अध्ययनका लागि २०६४ सालमा सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरस्थित जन माविमा पढ्न आए। उनले त्यहीँबाटै माध्यमिक शिक्षा परीक्षा पास गरे। त्यसपछि २०६९ सालमा नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनबाट हेल्थ असिस्टेन्ट (एचए)  पढे। परिवारमा दुई दिदी, एक दाइ र एक भाइ रहेका उनी माहिलो छोरा हुन्। दाजुभाइहरू सबै अलगअलग बस्छन्। उनी २०६१ मा कक्षा ७ मा अध्ययनरत रहँदा भारतीय सेनामा कार्यरत उनका बुवालाई गुमाउनु पर्‍यो। त्यसको दुई वर्षपछि २०६३ सालमा आमालाई पनि घरमै गोमन सर्पले टोकेर अल्पायुमै उनको मृत्यु भयो। दुई वर्षको अवधिमा बुवा र आमालाई गुमाएका उनले बुवा गुमाउँदा आधा संसार अनि आमालाई समेत गुमाउँदा पूरै संसार अन्धकार भएको महसुस गरे। 

बुवा भारतीय सेनामा कार्यरत रहेको हुनाले बुवाआमाको मृत्युपछि भारत सरकारले नाबालक छोराछोरीलाई दिने पारिवारिक पेन्सनले २५ वर्षको उमेरसम्म आफू र भाइको अध्ययन खर्च टारे। बुवाआमापछि आफ्नो र भाइको सम्पूर्ण रेखदेख दिदी र भिनाजुले गरेको उनले बताए। आमा बिरामी हुँदा आमालाई उपचारका लागि तत्कालीन क्षेत्रीय अस्पताल (हाल प्रदेश अस्पताल) कालागाउँमा रहँदा आमाले स्वास्थ्यकर्मीलाई देखाउँदै मेरो छोरा कहिले धेरै पढेर उहाँहरूले जस्तै मलाई उपचार गरेको देख्न पाइएला भन्नुभयो। ‘आमाको त्यही वचनका कारण मैले स्वास्थ्य क्षेत्र नै रोजेर एचए पढेँ’, उनले भने। आफ्नो आमाबुवालाई उपचार गर्ने अवसर नपाए पनि सम्पूर्ण आमाबुवाहरूलाई सेवा गर्ने अवसर विभिन्न ठाउँमा पाएको उनले बताए। काठमाडौंमा सात ब्वर्ष वीर अस्पताललगायत अन्य अस्पतालहरूमा, गोर्खा वेलफेयर ट्रस्ट नेपालमा आबद्ध रही पूर्वी नेपालका जिल्लाहरू ताप्लेजुङ, पाँचथर, दमक र धरान पछि पोस्टिङ भएर कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा स्वास्थ्य सेवा दिने अवसर प्राप्त गरे। 

  • जागिर छाडेर खेतीपातीमै रमाए हिरा
  • सुरुमा एक बिघा जग्गामा ९ सय १४ वटा खम्बा बनाएर रातो र सेतो ड्रागन फ्रुट रोपे
  • अहिले यसबाट हुने आम्दानीले परिवार पनि सन्तुष्ट छन्

त्यहीबेला खालि समयमा युट्युबमा ड्रागन फ्रुटबारे भिडियो हेर्दैगर्दा आफूलाई पनि यसको खेती गर्ने योजना बनाएको उनी बताउँछन्। मनमा सोच आएपछि उनले नेपालमा कोरोना महामारी आउनुभन्दा अगावै खेती सुरु गरे। सुरुमा १५ लाखबाट सुरु गरेको खेती अहिले एक बिघा  क्षेत्रफलमा लगाउँदा १ करोड २० लाख लगानी पुगिसकेको छ। गुर्भाकोटलाई ड्रागन फ्रुटको हब बनाउने योजना उनीसँग छ। हाल उनी ड्रागन फ्रुट उत्पादक किसान संघ सुर्खेतको अध्यक्षसमेत रहेका छन्। 

null

कर्णाली प्रदेशलाई ड्रागन फ्रुट, मखमली र सयपत्री फूलमा आत्मनिर्भर बनाउने अभियानमा रहेका उनी आफैंले मात्र एक बिघा जमिनमा ड्रागन फ्रुट र १ बिघा ७ कट्ठा क्षेत्रफल जमिनमा फूलखेती गरिरहेका छन्। उनले गरेको फूलखेतीबाट यस वर्षको दसैं र दीपावलीमा कर्णालीका लागि भारतबाट फूल आयात गर्नै नपर्ने भएको उनी बताउँछन्। उनी यसलाई बढाएर कर्णाली प्रदेशका १० वटै जिल्लामा कर्णालीमै उत्पादन भएको सयपत्री र मखमली फूल बजारमा पर्याप्त वितरण गर्ने योजनामा छन्। उनी सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न अपिलसमेत गर्छन्। हालसालै उनले नेपाल सरकारबाट आर्थिक वर्ष  २०७९÷०८० मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार (कृषितर्फ) प्रथम स्थानमा छनोट भई सम्मानित 
पनि भए। 

जागिर छाडेर खेतीपातीमै रमाए

हरेक समय खेतीपातीमा रमाउने हिराले युवाहरूको कर्मशील हातहरू देशकै उन्नति र प्रगतिका निम्ति खियाउनु पर्ने बताउँछन्। हाम्रो क्षेत्रका लागि ड्रागन फ्रुट नयाँ खेती भयो। यसबाट भविष्यमा राम्रै आम्दानी हुने देखेर परिवारसँग सल्लाह गरी जागिर छोड्ने निर्णयमा उनले राजी गराएँ। सुरुमा त परिवार नै मान्न तयार थिएनन्। नमानी नमानी सुरुवात गरे। अहिले यसबाट हुने आम्दानीले परिवार पनि सन्तुष्ट छन्।

उनले पहिलो वर्ष ५ लाख, दोस्रो वर्ष १० लाख कमाए। अब यो वर्षदेखि त वार्षिक २० लाख बढी आम्दानी हुने उनी बताउँछन्। हिराले भने, ‘मेरो ड्रागन फर्ममा अहिले १ हजार २ सय पिलरमा ५ हजार बिरुवा छन्। जसबाट वार्षिक एक पिलरबाट ३० देखि ५० किलो फल लाग्छ। एक वर्षमा ६ महिनामा ८ पटकसम्म फल टिप्नुपर्छ। प्रतिकिलो ५ सयका दरले ड्रागन बिक्री वितरण भइरहेको छ। ड्रागनको बेर्ना पनि उत्पादन गर्दै आएका छौं। पहिलो वर्ष ५ सय बेर्ना, दोस्रो वर्ष ३ हजार ५ सय बेर्ना बिक्री गरियो। आगामी वर्षदेखि ३० हजार बेर्ना बिक्री गर्ने लक्ष्य छ। कर्णालीमा माग भए लाखौं बेर्ना उत्पादन गरेर वितरण गर्न सकिने योजना पनि छ।’ 

उनले सुरुमा एक बिघा जग्गामा ९ सय १४ वटा खम्बा बनाएर रातो र सेतो ड्रागन फ्रुट रोपे। १० महिना खेती र कार्यालय दुवैमा समय दिए। बिरुवा हुर्किँदै गएपछि बारी आकर्षक देखिन थाल्यो। उनको मन जागिरमा भन्दा आफ्नो ड्रागन फ्रुट खेतीमा आकर्षित भयो। उनले भने, ‘जब बारीमा ड्रागनले ढपक्क ढाकेर सुन्दर देखियो, तब मैले पनि त्यसमा लगानी बढाएँ। हालसम्म १ करोड २० लाख पुगेको छ। चालू आर्थिक वर्षमा नै लगानी पनि डेढ करोड पुग्ने अनुमान छ।’ उनको फर्ममा प्रत्यक्ष २० जनाले रोजगारी पाएका छन्। अप्रत्यक्ष रूपमा झन्डै एक सयभन्दा बढी कार्यरत छन्। फर्म आसपासको केही जग्गा बाँकी छ। बाँकी रहेको जग्गामा पनि पूर्वाधार तयार गरेर ड्रागन फ्रुट नै लगाउने उनको योजना छ। 

null

हिराका अनुसार उनले जागिरबाट २० लाख रुपैयाँ बचत गरेका थिए। जागिरबाट राजीनामा दिने निर्णय गरेपछि उनले बैंकमा ऋणको प्रक्रिया अघि बढाए। ड्रागन फ्रुटका बिरुवा रोपेकै एक बिघा जग्गा धितो राखेर ७० लाख रुपैयाँ ऋण लिए। यो रकम पूर्वाधार र नर्सरी बनाउन खर्च भयो। झन्डै तीन वर्षपहिले उनकी श्रीमती डीभी परेर अमेरिका गइन्। यसले पनि उनलाई खेतीमा गरिएको लगानी बढाउन थप प्रेरणा दियो। उनले भने, ‘अहिले व्यवसाय बढाउने काममै लगानी भइरहेको छ। अहिले नै मेरो आम्दानी ह्वात्तै बढ्दैन। राम्रो कमाइ हुने भनेको आउँदो वर्ष पछि हो। त्यसपछिका दुई–तीन वर्षभित्रमा लगानी पूरै उठ्छ। पहिलो र दोस्रो खेपमा खासै राम्रो नफले पनि तेस्रो लटबाट बढ्दै गएको छ।’  

त्यति आकर्षक जागिर छोडेर यहाँ यति धेरै लगानी गर्दा पनि मलाई कुनै पछुतो छैन। उनले भने, ‘मैले मेरो रोजगारी छाडेर गाउँका अरु २० जनालाई रोजगारी दिने काम गरेको छु। परिवारको पनि राम्रो साथ मिलेको छ।’ कर्णालीको सुक्खा र पाखो बारीमा सबै युवाहरूले ड्रागन फ्रुटकै खेती गरून् भन्ने उनलाई लागेको छ। यसबाट राम्रो आम्दानी हुनुका साथै स्वास्थ्यका लागि पनि यो निकै उपयोगी छ। 

उत्कृष्ट र फाइदाजनक फल

स्वास्थ्यका लागि ड्रागन फ्रुट धेरै राम्रो मानिन्छ। फल खानु त छँदैछ। बिरुवा र कोपिलाको तरकारी र अचार बनाएर खाँदा पनि स्वास्थ्यलाई असाध्यै राम्रो हुन्छ। उनी भन्छन्, ‘ड्रागन फ्रुटमात्र नभएर आफ्नो जग्गामा अनुकूल हुने जुनसुकै खेती गरेर स्वरोजगार बन्न सकिन्छ। थोरै आँट, मेहनत र धैर्यले नेपाली माटोमा हिरा नै फल्छ भन्ने उनको विश्वास छ। युवाहरूलाई कृषि पेसामा आकर्षित गर्न र कर्णालीमा रहेको बाँझो जमिनमा खेती गर्न  युवाहरूलाई प्रेरणा दिन आफू कृषि पेसामा लागेको हिराको भनाइ छ। 

null

के हो ड्रागन र कसरी गर्ने खेती ?

ड्रागन एक प्रकारको सिउडी प्रजातिको बिरुवा हो। यसको वैज्ञानिक नाम हाइलोसेरेअस अनडाटस हो। यसको स्तम्भ कमजोर भएकाले सपोर्टको आवश्यकता पर्छ। यसको लहरा ड्रागनको जिब्रो जस्तो हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो। यसको फल यसो हेर्दा प्याजको गानोजस्तो एकm दुई पत्र भएको बोक्राभित्रको गुदी बास्नादार रातो तथा कुनैकुनै जातको भने सेतो, बैजनी तथा पहेँलो पनि हुन्छ। यसको खेतीको लागि निकासयुक्त प्रशस्त मात्रामा प्रांगारिक पदार्थ भएको बलौटे दोमट माटो उपयुक्त मानिन्छ।

माटोको पीएच मान ५.३ देखि ६.७ सम्म राम्रो मानिन्छ। यो एक प्रकारको उष्ण प्रदेशीय हावापानीमा हुर्कने बिरुवा हो। यो प्रजातिको बिरुवा वर्षभरि एकनासले पानी पर्ने क्षेत्रमा राम्रोसँग हुर्कने गर्छ। समुद्र सतहबाट १०० देखि ८०० मिटर उचाइसम्मको क्षेत्रमा यसको व्यावसायिक रूपमा खेती गर्न सकिन्छ। पूर्ण रूपमा सूर्यको प्रकाश पर्ने ठाउँ यसको लागि उपयुक्त मानिन्छ। 

यसको एउटा बिरुवाको मूल्य १ सय ५० रुपैयाँ पर्छ। हरेक वर्ष फागुनमा रोप्ने, अर्काे फागुन अर्थात् १ वर्षमा फल दिन सुरु हुन्छ। एक पटक रोपेको बिरुवा २० देखि ३० वर्षसम्म फलिरहन्छ। सिँचाइका लागि धेरै पानी नचाहिने हुनाले सुक्खा ठाउँमा पनि खेती गर्न मिल्छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.