पुल निर्माण सुरु
परासी : सम्झौता भएको तीन वर्षपछि खजुरा खोलामा पुल निर्माण सुरु भएको छ। नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ नम्बर वडा जोड्ने पुल निर्माण गर्न २०७७ सालमा सम्झौता भएको थियो।
शिलान्यास समेत गरिएको पुल निर्माण कार्य अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कबिहीन भएका थिए। म्याद सकिँदासमेत सम्पर्कमा नआएपछि नगरपालिकाले जिल्ला प्रशासनको सहयोग लिएर निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएको थियो।
निर्माण व्यवसायी सम्पर्क आएपछि अहिले एक सातादेखि निर्माण कार्य सुरु भएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए। प्रशासनले प्रहरीमार्फत निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएको हो। ‘लामो समयको प्रयासपछि निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएका छौं। निर्माण कार्यको म्याद सकिएको र निर्माण सामग्री ल्याएर काम सुरु गरेकाले म्याद थपको प्रक्रिया अगाडि बढेको छ, ’ नगरप्रमुख श्रेष्ठले भने।
२०८० असार ३ गतेभित्र सम्पन्न गर्ने गरी श्रीमृत संजिवनी निर्माण सेवाले ९ करोड ७७ लाखमा निर्माण कार्यको जिम्मेवारी लिएको हो। पुल नहुँदा स्थानीयहरू वर्षायाममा बाढीको जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ।