पर्साको विन्दबासिनीमा विद्यार्थी र प्रहरीबीच झडप, चार विद्यार्थी घाइते

पर्साको विन्दबासिनीमा विद्यार्थी र प्रहरीबीच झडप, चार विद्यार्थी घाइते
सुन्नुहोस्

वीरगन्ज : पर्साको विन्दबासिनी गाउँपालिकाको कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज गर्दा चार जना घाइते भएका छन्। 

घाइते हुनेहरूमा विन्दबासिनी गाउँपालिका-२ गर्दौलस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत खेमबहादुर गोढ, अनुराग यादव, विशाल यादव र कक्षा ८ मा अध्ययनरत कृष्ण मुखिया  छन्। तीमध्ये खेम र कृष्णको टाउको फुटेको छ भने अनुराग र  विशालको हातमा चोट लागेको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। 

गाउँपालिकाले गरेको शिक्षक सरुवाको निर्णय फिर्ता लिनुपर्ने र प्रधानाध्यापकलाई सरुवा गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रिय मावि गर्दौल र राधाकृष्ण मावि बहुअर्वाका विद्यार्थीहरूले आइतबार गाउँपालिका कार्यालय घेराउ गरेका थिए। 

लठ्ठी र भाठासहित पुगेका प्रदर्शनकारी विद्यार्थीहरूले नाराबाजी गर्दै प्रदर्शन गर्न थालेपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठी चार्ज गरेपछि चारजना विद्यार्थी घाइते भएका हुन्। 
 
घाइते भएकामध्ये नेपाल राष्ट्रिय मावि गर्दौलको कक्षा ९ मा अध्ययनरत छात्र खेमबहादुर गोढले आफूहरू गुनासो लिएर गाउँपालिकामा आउँदा प्रहरीले लाठीचार्ज गरेर दमन गरेको बताए। 

उनले विद्यालयका शिक्षकद्वय विनोद राउत र धर्मेन्द्र चौबेको सरुवा भएपछि आफूहरूको पठनपाठन प्रभावित भएको बताए। साथै प्रधानाध्यापक नन्दुप्रसाद यादवले व्यापक अनियमितता गरेकाले उनको सरुवा हुनुपर्ने माग आफूहरूको रहेको उनले बताए। 

यस्तै प्रदर्शनमा सहभागी कक्षा ९ मै अध्ययनरत छात्रा नितु यादवले प्रहरीले विद्यार्थीमाथि लाठी बर्साएको बताइन्। उनले विद्यालयमा आफूहरूको मागको सुनुवाइ नभएपछि गाउँपालिकामा आउँदा प्रहरीले कुटपिट गरेर घाइते बनाएको आरोप लगाइन्। उनले भनिन्, ‘हेडसर नन्दु यादवलाई तत्काल विद्यालयबाट हटाउनु पर्छ किनकी उहाँको कारण हाम्रो पढाइ धेरै बिग्रिएको छ। स्कुलमा घोटाला पनि भएको छ।'
 
घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले समस्या समाधानका लागि आन्दोलन विद्यार्थी र गाउँपालिकाका जनप्रतिनिधिबीच छलफलको प्रयास भइरहेको बताए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.