१९औं एसियाली खेलकुद सम्पन्न

२०२६ मा जापानमा भेट्ने बाचा

१९औं एसियाली खेलकुद सम्पन्न

हाङचाओ : आगामी तीन वर्षपछि जापानको आइची नागोयामा भेट्ने बाचासहित चीनको हाङचाओमा आयोजना भएको १९औं एसियाली खेलकुद सम्पन्न भएको छ।

आइतबार हाङचाओको ओलम्पिक स्पोर्ट्स सेन्टरमा रहेको बिग लोटस स्टेडियममा आयोजित विशेष समारोहमा चिनियाँ प्रधानमन्त्री लि कियाङको उपस्थितिमा प्रतियोगिताको समापन गरिएको हो। उद्घाटन समारोहमा प्रज्जवलित गरिएको ओलम्पिक ज्योति समापन समारोहमा निभाइएसँगै १९औं एसियाली खेलकुद सम्पन्न भएको हो। उद्घाटन समारोहमा ओलम्पिक दीप प्रज्ज्वल गरेका डिजिटल मानवले समापन समारोहमा सो दीप निभाएका थिए।

कार्यक्रममा एसियाली ओलम्पिक कमिटीका कार्यबहाक अध्यक्ष राजा रणधीर सिंहले जापानको ओलम्पिक कमिटीका अध्यक्ष हिराकी योमुरा र नागोया सहरका उपमेयरलाई ओलम्पिक टर्च र  एसियाली ओलम्पिक कमिटीको झण्डा हस्तारन्तरण गरेका थिए। सिंहले १९औं एसियाली खेलकुदको उत्कृष्ट आयोजना गरेकोमा चीन सरकार र आयोजक कमिटीको प्रसंशा गरेका थिए।

‘चीनको आयोजना उत्कृष्ट थियो। १२ हजारभन्दा बढीलाई आतिथ्यता प्रदान गरेकोमा चीन सरकार र हाङचाओ सहरलाई धेरै धेरै धन्यवाद’, सिंहले भने, एसियाली ओलम्पिक कमिटीले हाङचायोको यो आयोजनालाई सदैव सम्झिरहने छ।’ कार्यक्रमको समापन समारोहमा सहभागी ४५ वटै राष्ट्रका खेलाडी तथा अफिसियलले मार्चपास गरेका थिए। समापन समारोहमा चीनको प्राचीन, कला, संस्कृति, परम्परा झल्कने विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो। उद्घाटन समारोहमा झैं समापन समारोहमा पनि विद्युतीय प्रस्तुति मनमोहक थियो।

यसैगरी विभिन्न कलाकारले आकर्षक प्रस्तुति दिएका थिए। चीनले डिजिटल युगको अद्भूत नमुना १९औं एसियाली खेलकुदमा प्रस्तुत गरेको थियो। चीनले तेस्रो पटक एसियाली खेलकुद आयोजना गरेको हो। चीनले यसअघि सन् १९९० मा बेइजिङ र २०१० को गोङझाव एसियाली खेलकुद सफलापूर्वक आयोजना गरेको थियो। कोभिड १९ का कारण एक वर्ष पछि सरेको एसियाली खेलकुदलाई भव्य बनाउन चीन र हाङचाओ सहर विशेष रुपमा लागेको थियो। गत २३ सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सि जिङफिङले उद्घाटन गरेको १९औं एसियाली खेलकुद १६ दिन सञ्चालन भएको थियो। 

२०औं एसियाली खेलकुद सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची नागोयामा आयोजना हुनेछ। प्रतियोगितामा ४५ देशका १५ हजारभन्दा बढी खेलाडी र अफिसियल सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा ४१ खेल समावेश गरिएको छ। ‘इमाजिन वान एसिया’ नारासहित जापानले २०औं एसियाली खेलकुद आयोजना गर्न लागेको हो। १९औं एसियाली खेलकुदको समापन समारोहमा जापानको विशेष आटिस्टिक प्रदर्शनी पनि प्रस्तुत गरिएको थियो। 

समापन समारोहमा नेपालको राष्ट्रिय झण्डा करातेकी ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङले बोकेकी थिइन्। मार्चपासमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा सेभ द मिसन टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, डेपुटी सेभ द मिसन अञ्जन धमला, चतुरानन्दराज बैद्य, विभिन्न संघका पदाधिकारी, अफिसियल र नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलगायत सहभागी भएका थिए।

मार्चपासमा हाङचाओमा रहेका कराते, कबड्डी, भलिबल, एथलेटिक्स, क्यानोइङलगायत खेलका खेलाडी सहभागी थिए। १९औं एसियाली खेलकुदमा नेपालबाट २९ खेलका २५३ खेलाडी सहभागी भएका थिए। 

एरिकाले बोकिन् राष्ट्रिय झण्डा 

नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहमा नेपालको राष्ट्रिय झण्डा बोकेकी छन्। १९औं एसियाली खेलकुदको समापन समारोहको मार्चपासमा नेपालको झण्डा एरिकाले बोकेकी हुन्।

२५ वर्षपछि व्यक्तिगत स्पर्धामा नेपाललाई रजत पदक दिलाएकी एरिकालाई नेपाल ओलम्पिक कमिटी र सेभ द मिसनले राष्ट्रिय झण्डा बोक्न दिने निर्णय गरेको हो। १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा भने तेक्वान्दोका वीरबहादुर महरा र उसुकी निमा घर्तीमगरले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए।

एरिकाले शनिबार कुमुते ६८ केजीमाथिको तौल समूहमा रजत पदक जितेकी थिइन्। करातेमा नेपालबाट आठ खेलाडी सहभागी भएकोमा एरिकाले मात्र पदक जितेकी हुन्। समग्रमा यो तेस्रो रजत पदक हो। यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। यस्तै सन् २०१८ मा इन्डोनेसियामा आयोजना भएको १८औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ टिमले रजत जितेको थियो। एसियाली खेलकुदको अन्तिम दिन प्रतिस्पर्धा गरेकी करातेकी सविना श्रेष्ठ ५० केजीमुनिको तौल समूहको अन्तिम ३२ मा चीनकी रानरान लिसँग ३–१ ले पराजित भइन्।

नेपालले १९औं एसियाली खेलकुदमा २९ खेलमा अहिलेसम्मकै सबैभन्दा धेरै दुई सय ५३ खेलाडी सहभागी गराएको थियो। जसमा नेपालले एक रजत र एक कांस्य पदक जित्न सफल भयो। नेपालको महिला कबड्डी टिमले कांस्य पदक जितेको थियो। 

पदक तालिकामा चीनको वर्चश्व

आयोजक चीनले १९औं एसियाली खेलकुदको पदक तालिकामा वर्चश्व कायम गरेको छ। प्रतियोगिताको कुल चार सय ८३ स्वर्णमध्ये चीनले कीर्तिमानी २०१ स्वर्ण पदक जितेको छ। चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण पदक जित्ने कीर्तिमान बनाएको हो। यसअघि सन् २०१० मा आफैले आयोजना गरेको ग्वाङझाव एसियाली खेलकुदमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो।null

आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हाङचाओमा जारी १९औं एसियाली खेलकुदको सबै खेलको स्पर्धा सम्पन्न भएको थियो। चीनले २०१ स्वर्णसँगै १११ रजत र ७१ कांस्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो। चीनले अन्तिम दिन आइतबार आर्टिस्टिक स्विमिङमा स्वर्ण जितेको थियो। यस्तै जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो।

यसैगरी भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो। ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो। एक रजत र एक कांस्य जितेको नेपाल कुल दुई पदकसहित संयुक्त रुपमा ३३औं स्थानमा रह्यो। २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा पनि नेपाल ३३औं स्थानमा थियो। यस पटक एसियाको ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जितेका थिए।

दक्षिण एसियाली राष्ट्र भुटान र माल्दिभ्ससँगै  यमन र इष्ट टिमोरले भने कुनै पदक जित्न सकेन। अहिलेसम्मकै ठूलो एसियडमा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडी सहभागी थिए। उनीहरूले ४० खेलमा विभिन्न ४८३ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा चीनकी पौडीवाज युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन्। झाङसहित पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९औं एसियाली खेलकुदको मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) घोषित भएका थिए।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.