इजरायलका नेपालीको बिलौना : बंकरबाट उद्धार गरिदेऊ सरकार

३ को उपचार जारी, १ डिस्चार्ज, १ बेपत्ता

इजरायलका नेपालीको बिलौना : बंकरबाट उद्धार गरिदेऊ सरकार

काठमाडौं : प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलविरुद्ध गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्।

इजरायली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायणप्रसाद न्यौपाने, बाउनिया ३ कैलालीका आशिष चौधरी, जयपृथ्वी ६ बझाङका गणेशकुमार नेपाली, लेकाम ५ दार्चुलाका दीपेशराज विष्ट, लोकेन्द्र सिंह धामी, सपही ६ धनुषाका आनन्द शाह, मधुवन १ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली डोटीका राजन फुलारा, लामिखाल ८ डोटीका पदम थापा पदम थापा र सारदा ३ सल्यानका प्रवेश भण्डारी रहेका छन्।

राजदूतावासका अनुसार ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल गएकाहरूमध्ये सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी सकुलस छन्। विद्रोहीको आक्रमणबाट चार जना घाइतेमध्ये सल्यानका विधान सेजवा र दाङका प्रविन डाँगीलाई खुट्टामा चोट लागेको छ भने कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल अस्पतालमा सकुशल छन्। कञ्चनपुरका बिपिन जोसी भने सम्पर्कविहीन रहेको रिजालले बताइन्। 

रिजालले भनिन्, ‘अत्यन्तै दुखद् घटना घट्यो। रोजगार र अध्ययनको सिलसिलामा इजरायल आइपुगेका १० जना नेपाली भाइहरूको मृत्युको खबरले अत्यन्तै दुःखी छौं। इजरायलीको लागि पनि प्यालेस्टाइनले झुक्याएर गरेको यो क्रुर हत्या एकदमै अकल्पनीय थियो।’ रिजालले अगाडि भनिन्, ‘हामी सकेसम्म समस्यामा परेका नेपालीसम्म पुग्ने कोसिसमै छौं। यहाँ अस्तव्यस्त अवस्था छ। हामीले वास्तविक सूचना नै पाउन सकिरहेका छैनौं। यहाँ रहेका नेपालीहरू कहाँ कसरी बसिरहेका छन्, उनीहरूको सुरक्षा अवस्था कस्तो छ, हामी खोजिरहेका छौं। यहाँ रहेका नेपालीहरू दूतावासको सम्पर्कमा आउने क्रम भने सुरु भएको छ।’

नेपालीहरू थप अत्तालिनुको कारण भने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको र यो युद्ध लामो र कठिन रहने वक्तव्य दिएपछि थप असुरक्षित महसुुस गरेका हुन्। प्यालेस्टाइनले गरेको आक्रमणलाई इजरायलले काउन्टर अट्याक थालेपछि बोर्डर क्षेत्रमा थप त्रास बढेकाले नेपालीहरू आत्तिएको हुनसक्ने त्यहाँस्थित नेपाली बताउँछन्। 

एक नेपाली विद्यार्थीले आफ्नो परिचय नदिई अन्नपूर्णसँगको सम्पर्कमा आएर भने, ‘हाम्रो आँखा अगाडि हाम्रा साथीहरू घिसारेर लगेर क्रुर हत्या गरेका छन्। कति साथीलाई टाउकोमा हान्ने, कोहीलाई घुँडामा गोली हान्ने, कसैको हात भाँच्नेसमेत गरे।’

‘हामी ३, ४ जना साथीहरू भागेर बंकरमा लुकेर ज्यान बचायौं। कहालीलाग्दो दृश्य थियो।’ इजरायल एनआरएन अध्यक्ष श्री कृष्ण भण्डारी भने १० नेपालीको मृत्यु भएको आधिकारिक सूचना इजरायली सरकारले दिएको जानकारी दिँदै भने, ‘१० जना नेपालीको मृत्युको खबर पाएका छौं। अत्यन्तै दुखद् छ। त्यो स्थानमा उद्दारका लागि हामीले गर्न सक्ने केहिनै थिएन। इजरायली सैनिक आज बिहान मात्रै पुगेको हो।’

नेपालीहरूलाई स्वदेश फर्काउने विषयमा भने अहिले नै नेपाल सरकारले कुनै प्रतिक्रिया दिन सकेको छैन। परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा भएको आक्रमणमा नेपाली पनि परेको विषय संसद्लाई जानकारी दिँदै भने, ‘इजरायलमा भएको दुःखद् घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको छ। परराष्ट्रमन्त्रीको संयोजकत्वमा गठित संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने। उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका सम्पूर्ण कार्यहरू गर्नेछ।’

मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न, उद्दार तथा सहयोग गर्नको लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरणको कार्य भइरहेको बताएका छन्। इजरायलस्थित नेपाली राजदूतावासका अनुसार ४ हजार ५ सय नेपाली केयरगिभरका रूपमा कार्यरत छन्। २ सय ६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत काम गर्न पुगेका छन्। यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका छन्।

null

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिण इजरायलको किवुज अलुमिम भन्‍ने स्थानमा अध्ययनरत रहेका थिए। सोही क्षेत्रमा प्यालेस्टाइनले क्रुर ढंगले आक्रमण गरेको थियो।  राजदूतावासका प्रवक्ता घिमिरेका अनुसार सो स्थान गाजा क्षेत्रनजिक रहेको छ। प्यालेस्टाइनी हमास समूहबाट आक्रमण भएको उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

बंकरबाट उद्धार गरिदेऊ सरकार

श्री कृष्ण भण्डारी, एनआरएन अध्यक्ष इजरायल 

शनिबार बिहान प्यालेस्टनी लडाकु समूह सुरुवाती चरणमा छापामार शैलीमा स्थलगतल रूपमै इजरायल प्रवेश गरे। उनीहरूले रकेट हमलासमेत एकैपटक गरी केही मानवीय क्षतिसमेत पुर्‍याएका छन्। आइतबार साँझसम्म आइपुग्दा गाजा क्षेत्रमा १० नेपालीको मृत्यु भएको इजरायल सरकारले आधिकारिक पुष्टि गरेको छ। १ जना हराएका छन्। ४ जना घाइते थिए, १ जना ठीक भए बाँकी ३ हस्पिटलमा छन्। २ जना सकुशल छन्। 

यो घटनामा हामी एकदमै दुखी छौं। जतिबेला उक्त क्षेत्रमा आक्रमण भयो। हाम्रै एनआरएन इजरायलका साथीहरू पूर्णरूपमा नेपालीहरूलाई सहयोगमै जुटेका छौं। यद्यपि कति ठाउँमा मानवीय क्षति हुन्बाट हामीले बचाउन सकेनौं। सोही ठाउँमा सयौं इजरायलीको क्रुर हत्या गरेका छन्। अहिले इजरायल पूर्णरूपमा सुरक्षित छ। हमास समूहको निरन्तर रकेट प्रहार त वर्षौंदेखि देख्दै आइरहेको हो यो भइरहन्छ र इजरायलले प्रतिरक्षा गरिरहन्छ। शनिबार रातिदेखि नै गाजापट्टीमा इजरायली प्रतिरक्षा सेनाले जवाफी कारबाही स्वरूप हमास समूहका अखडाहरूमा निरन्तर हावाई आक्रमण गरिरहेको छ। गाजापट्टीमा ध्वस्त पार्ने क्रम यसै रोक्ने मुडमा इजरायल छैन यसपटक। 

एनआरएनए एनसीसी इजरायलले दक्षिणी भाग युद्ध प्रभावित क्षेत्र जहाँ शनिबार हाम्रा विद्यार्थीले क्षति बेहोर्नु परेको छ त्यस क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरूलाई यथासक्य सुरक्षित क्षेत्रतिर सार्न विशेष पहल गर्न इजरायलस्थित नेपाली राजदूतावासलाई दबाब सिर्जना गरिरहेका छौं। संभवत आइतबार बिहानैदेखि त्यसको सुरुवात भयो भन्नेमा विश्वस्त छु।


कल्पना जोशी ,नेपाली विद्यार्थी, इजरायल

हामी इजरायलको मिभ्टाहिम सहरको शोरासिम फर्ममा १८ जना नेपाली भोकभोकै छौं। रातिदेखि बंकरभित्र १८ जना नेपाली भोकभोकै बसेका हौं। हामी मिभ्टाहिम सहरको शोरासिम फर्ममा कार्यरत छौं। शनिबार बिहानबाटै निद्रामै बंकरभित्र भागेका हौं। अहिले पनि बंकरमै छौं। सानो बंकरमा १८ जना छौं। ३ जना सुदूरपश्चिम विश्वविद्यालयका र १५ जना कृषि तथा वन विज्ञान विश्वविद्यालयका छौं। हामी १२ जना छात्रा र ६ जना छात्र हौं। 

नेपालबाट ल्याएको चाउचाउ खाएर हिजोको रात काट्यौं। कलेजका साथीहरू अर्को फर्ममा थिए। बिहानै कलेजको ग्रुपमा म्यासेज गरेका थिए। हिजो हामीलाई बचाऊ, नेपाल फर्काउने व्यवस्था मिलाउ भन्दै थिए। त्यतिबेला त्यति गाह्रो भइसकेको थिएन। हामीले मज्जाकमा लियौं। 

हामीलाई सामान्य लागिरहेको थियो। तर, रातिपछि अवस्था झन् बिग्रियो। गाह्रो हुँदै गयो। अहिले ४९ मध्ये १२ जना साथी सम्पर्कविहीन छन्। ५ जना गम्भीर घाइते भएको खबर छ। हामी हाम्रा साथीहरू सकुशल हुन भन्ने प्रार्थनाबाहेक केही गर्न सकिराखेका छैनौं। यता नि कतिबेला के हुने हो केही थाहा छैन। हामीसँग भगवान्को भरोसाबाहेक अरू केही आशा छैन। हामीसँगै आएका सबै साथीसँगै फर्किन पाए हुन्थ्यो भन्ने कामना गरिरहेका छौं। 


बिपिन सुवेदी,नेपाली विद्यार्थी, इजरायल 

राज्यले ‘के भएको छ ?’ भनेर सोध्दा जतिबेलै घाइतेकै स्थिति बताउन विवश छौं हामी। तर, जो हामी छौं, त्रासमा लुकेर बसेका छौं यही त्रासले नै मर्ने स्थिति पुगिसक्यो। 

बचाउने काम सबैलाई गरी दिनुस्। हामीले सबैलाई अहिल्यै नेपाल भनेका छैनौं, तर सकेको जति सुरक्षित ठाउँमा सबै हुन पाइयोस्। पहल गरीदिनु। मन आत्तिएर भक्कानिन् थाल्यो, आँखा सुक्न थाले। बिन्ती छ सरकार सुनिदिनुपर्‍यो।


गणेश साउद,नेपाली विद्यार्थी, इजरायल 

म पनि लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल आएको करिब डेढ महिना भयो। यहाँ कतिबेला के हुने हो भन्ने डर एकदमै छ। जुन ठाउँमा प्यालेस्टाइनले आक्रमण गर्‍यो त्यो स्थानबाट ४० किलोमिटरको दूरीमा हामी छौं। हामी कार्यालयको बंकरमै बसेका छौं सुरक्षित छौं। जुन १७ जना नेपालीको कुरा आएको छ त्यहाँका ७ जना साथीहरू हस्पिटलमा हुनुहुन्छ। २ जना त्यही क्षेत्रमा लुकेर बसेर सम्पर्क गर्नुभएको छ। अन्य साथीहरूसँग कुनै सम्पर्क हुन सकेको छैन। 

इजरायलस्थित नेपाली राजदूतावासले कुनै भूमिका नै खेल्न सकेको छैन। जुन तदारुकता देखाउनुपथ्र्यो त्यो छैन। अहिले आक्रमण भएको स्थानका नेपालीहरू नेपाल फर्कन चाहेका छन्। अन्य स्थानकालाई भने त्यस्तो रिस्क छैन। बंकरमै बस्दा इजरायल सरकारले नै कडा सुरक्षामा बस्न भनेको छ। सरकारको नियम पालना गर्नुको विकल्पै छैन। 


खगेश्वर अधिकारी, निवर्तमान अध्यक्ष, जनसम्पर्क समिति इजरायल 

प्यालेस्टाइनले यसपटक क्रुर तवरले आक्रमण गरेको भएरै अलिक त्रासको वातावरण भएको हो। यद्यपि हिजोभन्दा आइतबार धेरै शान्त छ। शनिबार दिउँसो साढे ४ बजेबाट निरन्तर रकेट हानिरहेको थियो रातभरि एकदमै त्रास भयो। बिहानदेखि रकेटको आवाज सुनिएको छैन। 

११ महिने तालिममा आएका भाइबहिनीहरू भएको क्याम्पनजिकै उनीहरू पसेर कब्जा गरेका हुन्। त्यहाँ भएका भाइबहिनीहरू सम्पर्कमा नआएकाले अहिले बाहिर आएका सूचना सबै कपोकल्पित नै हुन्। कि नेपाल सरकारले भन्नुपर्‍यो।  दुई देशबीचको द्वन्द्व भईनै राख्ने हो यसपालि प्यालेस्टाइनको आक्रमण किड्न्याप गर्ने, हत्या गर्ने खालका क्रुर गतिविधि गरेकाले डर भएको हो। अर्को मुख्य कुरा एउटै के डर छ भने आक्रमण भएको क्षेत्रका सम्पर्कमा नआएका नेपालीको विषयमा उनीहरूलाई अपहरण गरेको छ भने फिर्ता गर्छ गर्दैन भन्ने हुन्छ। 

अहिलेसम्म प्यास्टाइन र इजरायलको केशमा अपहरण गरेकालाई फिर्ता गरेको रेकर्ड छैन भनिन्छ। इजरायलमा भएका नेपालीको एउटै डर त्यही छ। अहिले उनीहरूको आक्रमणको तरिका फरक भएकाले के हुन्छ के भएको छ ? कति जना साथीहरूलाई के गरिएछ भन्न यसै अनुमानका भरमा भन्न सकिने अवस्थै छैन। हामी पनि नेपाल सरकार र इजरायलस्थित राजदूतावासको आधिकारिक कुरा आओस् भन्ने प्रतीक्षामा छौं। 


null


पर्शुराम भुसाल, इजरायलमा बस्ने नेपाली 

जुन क्षेत्रमा घटना घट्यो। त्यहाँभन्दा हामी २ घण्टा पर छौं। बोर्डर क्षेत्रमा त्रास भएको हो। नेपाली विद्यार्थी त्यही क्षेत्रमा छन्। अहिले आक्रमण क्षेत्रका नेपाली आत्तिएर नेपाल जान चाहे पनि इजरायली सरकारले कुनै चहलपहल नगर्न अनुरोध गरेको छ। अहिले मुख्य समस्या नेटवर्कको समस्या परेको छ। इजरायली सरकारले सायद आन्तरिक रूपमा यो युद्ध रोक्न पहल गरेको छ। जे–जे हुनु भइसक्यो। अब त्यति संकट नहोला भन्ने आस छ। 


सुनिता राई,इजरायलमा बस्ने नेपाली 

आइतबार रकेट प्रहार भएको छैन। शनिबार राति १० बजेसम्म भएको थियोे। शनिबारको जस्तो स्थिति भएको बाँचिदैन रैछ भन्ने लागेको थियो तर आइतबार मन हल्का भएको छ। अग्रिकल्चरमा आउनुभएका विद्यार्थीहरूबारे अत्यन्तै पिर लागेको छ। जुन क्षेत्रमा उनीहरूले कब्जा गरेर बितन्डा मच्चाए त्यो स्थानमा नेटवर्कहरू पनि चलेका छैनन्। 

त्यहाँको नेपालीहरूसँग सम्पर्क हुन खासै सकेको छैन।  कति मारिसके पनि भन्छन् ! खोइ कुन कुरा सुन्नु कुन नसुन्नु भएको छ अब नेपाली राजदूतावासले पनि केही बोल्ला। पहल गर्दै हुनुहुन्छ होला भन्ने आशा लिएका छौं।


उमा खनाल, इजरायलमा बस्ने नेपाली 

बोर्डरको छेउमा हुनेलाई डर छ। प्यालेस्टाइनहरू अरू बेला पनि बोर्डरबाट काम काज गर्न इजरायल आइराख्ने नै हुन्। हामी बोर्डरबाट २ घण्टा टाढा छौं। हामी सेफ नै छौं। मिसाइल पहिला पनि फ्याकिराख्ने हो। अहिले पनि फ्याकिराखेका छन्। फ्याके पनि त्यसको क्षति खास हुँदैन। 

मुख्य समस्या भनेको बोर्डरको पर्खाल भत्काएर किडन्याप गरेर अट्याक गर्‍यो। अहिले इजरायलमा नयाँ वर्षपछि आउने सुकोद पर्व चलिरहेको छ। यो पर्व यहाँका मान्छेले एक हप्ता मनाउँछन्। शनिबार बेलुकादेखि यो पर्व सकिएको छ। सोही पर्व मनाउने क्रममा प्यालेस्टाइनबाट इजरायलबाट १० वटा गाडीमा छिरेका प्यालेस्टाइनहरूले २ हजार जनाले पार्टी मनाइरहेको ठाउँमा आक्रमण गरे।

हामी बसेको स्थानमा त्यस्तो समस्या खास छैन। आज म ड्युटि गएर आएँ। आज यहाँ देशभर शोक मनाइराखेको छ। त्यसैले पनि कोही बाहिर निस्केका छैनन्।


सुस्मा भारती (नाम परिवर्तन), नेपाली विद्यार्थी, इजरायल 

हामीलाई इजरायल सरकारले बंकरमा राखेको थियो। बंकरमा असुरक्षा बढेपछि हामी भागेर अलिक परको क्याम्पमा आएका छौं। हाम्रो तस्बिर र नाम उल्लेख नगरिदिनुहोला। हामीलाई नेटवर्क डिभाइस नचला भनेको छ। भोलि समस्या आउन सक्छ। मिडियाले सही सूचना दिओस् भन्ने हाम्रो चाहना हो। अब हामी यहाँ बस्न सक्दैनौं र चाहँदैनौं। नेपाली दूतावासले पहल गरेर हामीलाई नेपाल फकाई दिओस्। अहिले हामी ९ जना साथीहरू सँगै छौं। अहिलेसम्म सुरक्षित छौं। 

हामीसँगै आएका १७ जना साथीहरू किबुता अलुमिममा थिए। दयिदैयानमा ११ जना थिए। हामी ९ जना छुट्टै सँगै छौं। अरू केही साथीहरू अस्पताल पुग्नुभएको छ भन्ने सुन्यौं। हामीले खासै कसैसँग सम्पर्क गरेका छैनौं। आज भने हामीलाई हाम्रो क्याम्पका प्रमुख आएर भेट्नुभयो। नआतिन र आत्मबल बलियो बनाउन पनि भन्नुभयो। तर नेपाल सरकार र नेपाली राजदूताबासबाट केही सूचना नै पाएका छैनौं। 


लुइस रिजाल,नेपाली विद्यार्थी, इजरायल 

अरूको झुटको आश्वासनमै जिउनु परेको छ जिन्दगी। पत्र निकाल्दैमा सबै रेस्किउ हुँदैनौं नि त्यसका लागि एक्सनमा आउन पर्छ नि ! नेपाल सरकारले कुनै पहल नै गर्न सकेको छैन। null

संवेदनशील क्षेत्रमा केन्द्रित छौं  

कान्ता रिजाल, इजरायलस्थित नेपाली राजदूत

प्यालेस्टाइनी विद्रोही समूह हमासले नेपाली कामदार कार्यरत रहेका कृषि फार्म क्षेत्रमा आक्रमण गरेको छ। त्यो क्षेत्रमा हालै कृषि फार्ममा प्राक्टिस गर्न आएका नेपाली विद्यार्थी पनि बस्दै आएका थिए। शनिबार बिहानदेखि इजरायलको गाजा सीमा क्षेत्रमा प्रवेश गरेर विद्रोही समूहले आक्रमण गरेको थियो। हालसम्म १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ। त्यो क्षेत्रमा रहेका नेपालीको उद्धारमा जोड दिइरहेका छौं।  

सीमा क्षेत्रमा रहेका नेपालीहरूको उद्धारमा दूतावास केन्द्रित हुँदा इजरायलका अन्य क्षेत्रका नेपालीहरूबाट गुनासो आइरहेको छ। अप्ठ्यारो अवस्थामा त्यस्ता गुनासा आउनु स्वाभाविक पनि हो। तर, संकटका बेला जुन क्षेत्र बढी संवेदनशील हुन्छ, त्यसमै बढी ध्यान दिनुपर्छ। राजदूतावासले केही गरेन वा गर्न सकेन भन्दै असन्तुष्टि जनाइरहनुभएको छ, उहाँहरूले हामी कति संवेदनशील क्षेत्रमा केन्द्रित थियौं भन्ने कुरा विस्तारै बुझ्नुहुनेछ। 

दूतावासको जोड भनेको शनिबार दिउँसो ४ बजेदेखि जुन नेपालीहरू सम्पर्कमा आउनुभएको छैन। उहाँहरूको अवस्था के छ ? पत्ता लगाउने र उद्धारको पहल गर्ने भन्नेमा जोड छ। विद्रोही हमास समूहले आक्रमण गरेको क्षेत्रमा आइतबार बिहानदेखि इजरायली सेना गएको छ। यहाँको सेनामार्फत इजरायली सरकारले दिएको सूचनाअनुसार ११ जना नेपालीको अवस्था अत्यन्तै ‘क्रिटिकल’ छ।

इजरायल यस्तो ठाउँ हो, यहाँ रकेट बम प्रहार भइरहेकै हुन्छन्। रकेट प्रहार हुनेबित्तिकै सरकारले साइरन बजाइदिन्छ। अनि बंकरमा बस्नुपर्ने हुन्छ। यहाँ बंकरमा बस्ने भनेको एकदमै सुरक्षित हुनु पनि हो। जहाँसम्म नेपाल जान चाहने छन्, उहाँहरूलाई जबरजस्ती राख्ने कुरा हुँदैन। नेपाल पठाइदिन सहयोग गर्छाैं। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.