हामी अहिले रमत नेगेट क्षेत्रमा छौं। कृषि तथा वन विज्ञान विश्वविद्यालयका ८३ र सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी एकै ठाउँमा छौं। यो एउटा ठूलो कृषि फार्म भएकै स्थान हो। तर, यो सुरक्षित छ। बोर्डर क्षेत्रबाट एकदमै सुरक्षित क्षेत्रमा हामीलाई सारिएको थियो। यहाँ हामीले बमका आवाजहरू सुन्नु परेको छैन। फार्मभन्दा बाहिर तिर पनि जनजीवन सामान्य नै देखिन्छ। यातायात चलिराखेको छ।
सरकारले हामीलाई उद्धार गर्दै छ भन्ने कुरा बुधबार दिउँसो सुन्यौं। मन फुरुङ्ग भएको छ। कतिबेला फर्काै जस्तो भएको छ। अझ, परराष्ट्रमन्त्री स्वयं हामीलाई लिन आउँदै हुनुहुन्छ रे। बुवा आमा नै हामीलाई लिन आउन लागेको जस्तो महसुस भएको छ।
हमासको आक्रमण घटनाले मानसिक विक्षिप्त अवस्थाबाट हामी गुज्रिरहेका थियौं। हुन पनि, हामीले दक्षिण पूर्वी सीमा क्षेत्रमा जुन अवस्था देखेर/भोगेर आएका छौं, ती भयानक दृश्यहरू थिए। साथीहरू आत्तिनु स्वाभाविक थियो। किनभने धेरै दर्दनाक अवस्था देख्यौं। मृत्युको मुखमा परिँदै छ भन्ने लागेको थियो। हामी फर्किन लागेको खबरले नेपालमा रहेका परिवारमा पनि खुसी छाएको छ। दसैंको मुखमा भयानक मृत्युबाट उम्किएर हामी पनि घरमा पुग्दैछौं।
सुरक्षित स्थानमा आइसकेपछि हामीले पनि यहाँका प्रोटोकलका कुराहरू सुन्यौं। आफ्नो पहुँचले भ्याएसम्म नेपाल सरकार, यहाँको राजदूतावास र एनआरएनले पनि हामीलाई एकदमै अभिभावकको भूमिका खेल्नुभएको छ। यहाँ आएपछि राजदूतावासबाट खानाहरू पनि ल्याइदिराख्नु भएको छ। बुधबार बिहान पनि राजदूतावासबाट खानेकुरा ल्याइदिनुभएको थियो। अहिले सुरक्षित महसुस गरेका छौं।
(गणेश साउद , इजरायलबाट नेपाल फर्किंदै गरेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी हुन्)