गुमनाम त्यो कीर्तिमान

गुमनाम त्यो कीर्तिमान
सुन्नुहोस्

काठमाडौं : गत असोज २० गते १९औं एसियाली खेलकुदअन्तर्गत प्रतिस्पर्धाको अन्तिम दिन थियो। यही दिन कराते खेलाडी एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। उनले २५ वर्षपछि व्यक्तिगत स्पर्धामा नेपाललाई रजत पदक दिलाएकी थिइन्। 

भारोत्तोलनका सागर भण्डारीको पनि त्यही दिन प्रतिस्पर्धा थियो। उनले १०९ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। सो दिन सागरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए, त्यो पनि अहिलेसम्मकै उच्च भार वहन गरेर। तर, उनको त्यो कीर्तिमान र उपलब्धि छायाँमा पर्‍यो। रजत पदक विजेता कराते खेलाडी एरिकाको चर्चा चुलिँदा सागरको त्यो उपलब्धि भने ओझेलमा पर्‍यो। 

‘देशले २५ वर्षपछि व्यक्तिगत स्पर्धामा पदक जित्दा त्यसको चर्चा हुनु स्वाभाविकै हो। एरिकाको चर्चा हुनुपथ्र्यो’, सागर भन्छन्, ‘मेरो समाचार पनि केही सञ्चार माध्यममा आएको थियो। तर, त्यसले जति चर्चा पाउनु पर्ने हो, त्यो भने पाउन सकेन। आफ्नो नाममा अहिलेसम्मकै उच्च भार वहनको कीर्तिमान लेखाउन पाउँदा खुसी छु।’ सागरले स्न्याचमा १ सय ३३ र क्लिन एन्ड जर्कमा १ सय ७० गरी ३ सय ३ केजी भार उठाएका थिए। 

नेपाली भारोत्तोलनको इतिहासमा तीन सय केजीको आँकडा कटाएको यो दोस्रो पटक हो। यसअघि १९औं एसियाली खेलकुदमै विकाससिंह विष्टले तीन सय केजीको आँकडा पार गरेका थिए। पुरुष ९६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका उनले स्न्याचमा एक सय ३३ र क्लिन एन्ड जर्कमा एक सय ६८ गरी कुल तीन सय एक केजी भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए। 

सागरले त्यसको ७२ घण्टापछि नै आफ्नो नाममा नयाँ कीर्तिमान लेखाएका हुन्। प्रशिक्षण र तयारी राम्रो भएका कारण पनि एसियाली खेलकुदमा आफूले नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सकेको उनी बताउँछन्। 

‘यस पटक हाम्रो तयारी राम्रो भएको थियो। पोखरामा ४० दिन र काठमाडौंमा करिब एक महिना प्रशिक्षण सञ्चालन भएको थियो’, सागर भन्छन्, ‘तयारी राम्रो भएका कारण पनि उत्कष्ट प्रदर्शन गर्न सकियो।’ यसअघि साउदी अरेबियाको रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा पनि उनले कुल २ सय ९१ केजी भार वहन गरेका थिए। 

कञ्चनपुरको महेन्द्रनगरका सागरले भारोत्तोलन खेल्न थालेको नौ वर्ष बितिसकेको छ। उनी सात कक्षा पढ्दादेखि खेलकुदमा सक्रिय भएका हुन्। गणेश चन्द महेन्द्रनगरका भारोत्तोलनका चर्चित खेलाडी थिए। उनैलाई देखेर सागरले पनि भारोत्तोलन खेल रोजेका हुन्। ‘हामीले देखेका चर्चित खेलाडीमा गणेश चन्द हुनुहुन्थ्यो। उहाँलाई पछ्याउँदै मैले पनि भारोत्तोलन रोजेको हुँ’, सागर भन्छन्। उनलाई निखार्ने काम भने महेन्द्रनगरकै जीवन गौतम गरे। जीवन गौतमबाटै सागरले अहिले पनि प्रशिक्षण लिइरहेका छन्।   

१९औं एसियाली खेलकुद सागरले खेलेको सबैभन्दा ठूलो प्रतियोगिता हो। यसअघि उनले विश्व भारोत्तोलन च्याम्पियनसिप र १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा प्रतिस्पर्धा गरेका थिए। चार वर्षअघि नेपालमै आयोजना भएको १३औं सागमा उनले रजत पदक जितेका थिए। 

सागरले सातौंदेखि राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेका हुन्। सातौं राष्ट्रिय प्रतियोगितामा चौथो स्थान हात पारेका उनले आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने स्वर्ण पदक जिते। सागर पछिल्लो समय विभागीय टोली नेपाल पुलिस क्लबमा आवद्ध छन्। उनी दुई वर्षअघि पुलिस क्लबमा आवद्ध भएका हुन्। उनले नेपालमा आयोजना भएका अधिकांश प्रतियोगितामा स्वर्ण पदक जित्दै आएका छन्। 

सागर पछिल्लो समय अर्को वर्ष आयोजना हुने पेरिस ओलम्पिकको तयारी गरिरहेका छन्। अब केही दिनपछि नै ओलम्पिकको तयारीका लागि प्रशिक्षणमा सहभागी हुने उनी बताउँछन्। ‘पेरिस ओलम्पिकको तयारीका लागि स्कलरसिप पाएको छु। अब त्यसकै तयारीमा लाग्नेछु। महेन्द्रनगरमा जीवन गुरुबाट नियमित प्रशिक्षण गर्नेछु’, सागर भन्छन्। अर्को वर्ष हुने ओलम्पिकमा छनोट हुन  कम्तीमा ६ वटा छनोट प्रतियोगिता खेल्नुपर्ने हुन्छ। वरीयतामा पर्न सके उनी ओलम्पिकमा छनोट हुन सक्नेछन्। 

छनोट प्रतियोगिताबाट सफल हुन नसके वाइल्ड कार्डमार्फत पनि सहभागी हुने प्रावधान छ। सागरले अहिलेसम्म ६ मध्ये दुई वटा छनोट प्रतियोगिता खेलिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.