पोल्ट्री व्यवसाय ओरालै ओरालो

पोल्ट्री व्यवसाय ओरालै ओरालो
सुन्नुहोस्

चितवन : दानाको मूल्यवृद्धि र बैंकको चर्को ब्याजका कारण पोल्ट्री व्यवसाय ओरालो लागेको छ। पोल्ट्री उत्पादनमा लागतभन्दा कममा बिक्री गर्नुपर्ने व्यवसायीलाई बाध्यता छ। 

प्रतिक्रेट ४ सय ९० लागत मूल्य रहेको अन्डा हिजोआज बढीमा ३ सय ६० रुपैयाँमा बिक्री हुन्छ। प्रतिगोटा १६ रुपैयाँ लागत रहेको अन्डा १२ रुपैयाँमा बिक्री भएको छ। उत्पादन लागतभन्दा कममा बिक्री गर्नुपर्दा व्यवसाय नै संकटमा परेको गुनासो व्यवसायीको छ। 

कुनै बेला ७० लाख अन्डा उत्पादन हुँदा त्यसको ८० प्रतिशत उत्पादन चितवन आसपासबाट हुन्थ्यो। अहिले ठूला लगानीका फार्म बढेका छन्। साना घटेका छन्।  चितवन नबलपुर क्षेत्रमा करिब १६ लाख कुखुरापालन हुन्छ। 

डेढ सय कृषक यस पेसामा आबद्ध छन्। नेपालका पोल्ट्री व्यवसायी ६० प्रतिशतले कमी भएका छन्। ‘व्यवसाय चौपट छ। महँगीको मार एकातिर अर्को बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पिर छ,’ नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले भने,  ‘लगानी धेरै पुग्यो न छोड्न सकिन्छ न अडिन नै।’

कोभिडको समयमा प्रतिदिन ५० लाखसम्म उत्पादन हुने अन्डा अहिले दैनिक ३० लाख मात्र उत्पादन हुन्छ। पोल्ट्री व्यवसायमा आएको आर्थिक संकटले व्यवसायी पलायन हुँदै गएका छन्। साना व्यवसायी पलायन भएका छन्। ठूला लगानीमात्रै पोल्ट्री क्षेत्र धानिएको छ। बजार भाउ कम र बैंकको चर्को ब्याजदरले पोल्ट्री क्षेत्र धराशायी बनेको छ। व्यवसायी ६० प्रतिशत घटेका छन्। 

चितवनमा ९५ ह्याचरी उद्योग थिए। अहिले ४३ वटा मात्र छन्। पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले अहिले व्यवसायमात्रै धानेको बताए। ‘चार वर्ष घाटा खाँदा दुई महिना भाउ आएर के थेग्न सकिन्छ र ?’ पोखरेलले भने, ‘उत्पादन पनि घट्यो लगानी जोगाउन सकिएन। त्यसैले धेरैले पलायनको बाटो रोजे।’

साना लगानीका कृषकले पेसा छोडेका छन्। ठूला लगानीका व्यवसायी बैंकको ऋणले समस्यामा छन्। देशभरका आठ हजार लेयर्स कुखुरा फार्म अहिले चार हजार मात्रै छन्। लेयर्स कुखुरा फार्म, ह्याचरीसहित पोल्ट्रीसँग सम्बन्धित किसान र व्यवसायी अधिकांश विस्थापित भएका छन्। घाटामा व्यवसाय गर्न परेपछि व्यवसाय कसरी टिकाउने भन्ने चिन्तामा छन्, व्यवसायी। अन्डाको बजारीकरणमा समस्या छ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने लागत मूल्यभन्दा पनि कम मूल्यमा बिक्री गर्न परेको गुनासो व्यवसायीको छ। ‘मिहेनत गर्दा अगाडि बढ्न सकिन्छ कि जस्तो लागेको थियो। तर पोल्ट्रीबाट हामी धेरै साथी पलायन हुने अवस्थामा पुग्यौं,’ उनले भने, ‘बैंकले लगानी गर्न सकेन। अर्को लगानी भएकोमा पनि ब्याजदर बढ्दै गयो। अब अगाडि बढ्नै कठिन भएको छ।’ 

३ सय ४८ ह्याचरी अहिले १ सय २० मात्रै छन्। क्षमताभन्दा कम उत्पादन भएको छ। राज्यले वास्ता नगरेको गुनासो व्यवसायीको छ। कुल गार्हस्थ्य उत्पादनमा पोल्ट्री व्यवसायले करिब चार प्रतिशत योगदान दिएको व्यवसायी बताउँछन्। चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले भने व्यवसायी टिकाउन मुस्किल भएको बताए।

‘पोल्ट्री व्यवसाय खस्किनु भनेको व्यवसायी मात्र होइन राज्यकै अर्थतन्त्र खस्किएको छ भन्ने कुरा सरकारले बुझ्न सकेन,’ उनले भने। यसबेला करिब दुुई खर्बभन्दा बढी लगानीको पोल्ट्री व्यवसाय धराशायी बनेको छ।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.