...अनि नातिसँगै फर्कियो खुसी

...अनि नातिसँगै फर्कियो खुसी

कञ्चनपुरको कृष्णपुर नगरपालिका—४ का रमेश कार्कीको घरमा पुग्दा बज्यै चन्दादेवी र उनी मख्खिरहेका थिए। बज्यैको अनुहारको हाँसो थामी नसक्नु थियो। रमेश उनको परिवारका जेठा नाति हुन्। बाजुराको बडीमालिका नगरपालिका—६ नौलापानीबाट तराई झरेका उनको परिवारका लागि आसलाग्दा रमेश नै हुन्। बुवा हर्क कार्कीको बाजुराको नौलापानीमै खुद्रा सामान र चिया नास्ताको पसल छ। रमेशका काकाको परिवार कृष्णपुरमा बस्छन्। बाजे फुंगे र बज्यै चन्दा पनि तराईमै बस्छन्। इजरायलमा हमासको हमलामा १० जना नेपाली विद्यार्थीको मृत्युको खबर थाहा पाएपछि बुवाआमामात्रै होइन परिवार नै तनावमा थियो।

बिहीबार राति नेपाल एयरलाइन्सको चार्टर जहाजबाट काठमाडौं झरेका रमेशलगायतका चार जना विद्यार्थीलाई कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाको पहलमा शनिबार राति काठमाडौंबाट घर ल्याइएको हो। ‘परिवारको जेठो नाति हो, पढ्नमा पनि राम्रो थियो, त्यसैले त सरकारले इजरायल पठायो, केही भएको भए परिवारको दियो निभ्थ्यो, नाति सकुशल घर आएकाले औधी खुसी भएको छु’, बाजे फुंगे कार्कीले भने। 

बाजुराको नेपाल राष्ट्रिय माविबाट एसएलसी गरेर रमेशले कृष्णपुरको कृष्ण माविबाट आईएस्सी गरे। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुरमा चार वर्षअघि सञ्चालनमा आएको कृषि विज्ञान संकाय, स्कुल अफ एग्रिकल्चरबाट आठौं सेमिस्टरको परीक्षा दिएर ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनी भदौको २७ गते इजरायल उडेका थिए। 

उनी हमास बाहुल्य रहेको गाजापट्टीबाट झन्डै १३÷१४ किलोमिटरको टाढा सारसरेट भन्ने स्थानको कृषि फार्म हाउसका कार्यरत थिए। ‘हामीलाई इजरायलमा रकेट हमला भइराख्ने तर त्यसलाई आकाशमै ‘डिफ्युज’ (निस्तेज) पार्ने गरिएको र त्यस रकेटका टुक्राहरूले चोट लाग्ने डरले बंकरमा पस्नु भनेर मात्रै सिकाइएको थियो। हामी भएको फार्म हाउसमा खुला बंकरहरू बनाइएका थिए। शनिबार अचानक साइरन बज्यो। त्यो हाम्रा लागि नौलो थियो। साइरन बज्यो भने बंकरमा पस्नुपर्छ भन्ने सिकाइएको थियो। हामी बंकरमा पस्यौं। अर्को दिन मात्रै इजरायली सेनाले हामीलाई सुरक्षित स्थानमा लगेको हो’ रमेशले भने।

उनले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना विद्यार्थीमध्ये १७ जनाको समूह एकै कृषि फार्ममा काम गरिरहेको बताए। ‘साथीहरू माथि आक्रमण भएछ, उनीहरूले घाइते भएको, चिच्याएको, रगत बगिरहेको फोटो भिडियो पठाउथे, त्यो देखेर यसरी घर पुगिएला भन्ने सोचिएको थिएन। संघीय सरकारलाई विशेष धन्यवाद छ, सुरक्षित घर पुगियो। दसैंको मुखमा परिवारसँग रमाउन पाइयो’, रमेशले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.