चाडपर्व : किन र कसरी ?
नेपालको समृद्ध सांस्कृतिक विरासत कयौं शताब्दीको अन्तरालमा विकसित भएको हो। नेपाली संस्कृति विश्वमै उत्कृष्ट मानिन्छ। यसका आफ्नै मौलिक गुण र विशेषता छन्। नेपालमा विभिन्न जातजाति, भाषाभाषी, भेषभूषा, धर्म, संस्कृति, प्रथा–परम्परा, रहनसहन, आचारविचार, गीत–नृत्य, साहित्य र कलाकौशल छन्। नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो। यहाँ अनेकतामा एकताको अलौकिक संगम देख्न पाइन्छ।
अझ अनेक धर्म, भाषा, जाति, सम्प्रदायका मानिस एउटै मालामा गाँसिएको देश हो, नेपाल। यहाँका हरेक जाति, धर्म र सम्प्रदायको आआफ्नै सांस्कृतिक सम्पत्ति छ, जो विभिन्न चाडपर्वको रूपमा नेपाली समाजमा चलन चल्तीमा छ। हिमाल, पहाड, मधेस, पूर्व–पश्चिम सबै ठाउँमा आआफ्नै मूल्य–मान्यता र रीतिरिवाजअनुसार चाडपर्व मनाउने गरिन्छ। नेपालमा मनाउने चाडपर्वहरू अनगिन्ती छन्। ती सबै नेपाल र नेपालीको चिनारी र पहिचान हुन्। हाम्रो सामाजिक विविधतालाई यिनै चाडपर्वले एकतामा रूपान्तरण गरेको छ।
हिन्दु धर्मको बहुलता रहेको नेपालमा हरेक दिनजसो कुनै न कुनै पर्व परिरहेकै हुन्छन्। नेपालमा वर्षभरिका धेरै दिन प्रायः कुनै न कुनै धर्म–संस्कृतिले रंगिएका पर्व, उत्सव अनि यसभित्रका खुसी र उमंगका दिनहरू नै पर्छन्। जुनसुकै समाजको सांस्कृतिक जीवनमा चाडपर्व एक प्रमुख अंगका रूपमा क्रियाशील छ। संसारको जुनसुकै भागमा पनि कुनै न कुनै रूपमा चाडपर्व प्रचलनमा रहेकै पाइन्छ।
किन मनाइन्छन् त चाडपर्व ? चाडपर्वलाई सामाजिक, धार्मिक, सांस्कृतिक र मानव स्वास्थ्य रक्षाका दृष्टिले हेर्न सकिन्छ। प्रायः चाडपर्व एकातिर प्रकृतिसँग तादम्यता राख्छन् भने अर्कोेतिर परस्पर सद्भाव, सम्मान र सहिष्णुतालाई आत्मसात् गरेको देखिन्छ। चाडपर्व पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्ने तथा नवीकरण गर्ने सेतु हो। हाम्रा प्रत्येक चाडपर्व मनाउनुको पछाडि विशिष्ट अर्थ र अन्तर्निहित उद्देश्य छन्। यी चाडपर्वले हामी, हाम्रो समाज र संस्कृति तथा परम्परालाई प्राचीनकालदेखि डोहोर्याउँदै ल्याएको छ। नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताका लागि चाडपर्व महŒवपूर्ण छन्। जसले सामाजिक सौहाद्र्रतामा बेलाबखत परेको खाडल पुर्दै आएका छन्। समाजमा देखिने मतभेद अन्त्य गर्न मद्दत गर्दै आएका छन्। समग्रमा भन्दा संस्कृतिलाई जीवन्त राख्ने माध्यम हाम्रा चाडपर्व नै हुन्। जसको महŒव युगौंयुगदेखि जस्ताको त्यस्तै छन्।
चाडपर्वहरूले धर्म एवं आध्यात्मिक भावनालाई दर्शाएर हामीलाई यस लोक र परलोक सुधार गर्ने प्रेरणा प्रदान गरेका छन्। हाम्रा घरपरिवारका साना–ठूला सबै सदस्यलाई नजिक्याउने, मिलिजुली बढाउने, सँगै बस्ने, एकअर्काको सुखदुःखमा सहभागी गराउने अवसर प्रदान गर्दै आएका छन्। समाजलाई सहयोग गर्ने कार्यले समाज जोड्ने सूत्रलाई कसिलो पारेको छ। प्रत्येक चाडपर्वका पछाडि वैज्ञानिकता लुकेको छ। जसमा मौसमअनुसार व्रत, अनुष्ठान, खानेलाउने, कसको पूजा गर्ने कुरा परम्परित रूपमा रहेको छ। प्रत्येक चाडपर्वका पछाडि रहेका पौराणिक कथाहरूले हाम्रो जीवन सुखी र हितकर बनाउने सन्देश दिने गरेको छ।
अहिले विभिन्न चाडपर्वको समयमा छौं। चाडपर्व मनाउने यात्रामा छौं। यतिखेर हामी सबैलाई दसैंको माहोलले छपक्कै छोपिसकेको छ। दसैंलाई नेपालमा राष्ट्रिय पर्वको रूपमा मनाइने गरिन्छ। मान्यजनको आशीर्वाद, निधारभरि टीका र कानमा जमरा लगाउनु दसैं पर्वको विशेषता हुन्। असोज महिनाको शुक्ल पक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन पूजापाठ र मनोरञ्जन गरेर मनाइने दसैंमा दशमीलाई विशेष महŒव दिने गरिन्छ। चाडपर्वलाई मानव स्वास्थ्य र वातावरणका दृष्टिले पनि हेर्न सकिन्छ। चाडपर्वका बेला घरकोठा र शरीरको पनि शुद्धि गर्ने चलन छ। दसैं तिहार अगाडि घर लिपपोत तथा सरसफाइमा विशेष ध्यान दिने चलन छ। फोहोर ठाउँमा लक्ष्मीको बास हुन्न भन्ने मान्यता धार्मिक भावनासँगै स्वास्थ्यप्रतिको सचेतनासँग पनि जोडिएको छ।
हाम्रा चाडपर्व र हाम्रो जीवनशैलीबीच प्रत्यक्ष–सम्बन्ध जोडिएको छ। जसरी चाडपर्व मनाइरहेका छौं, त्यसमा परिवर्तन गर्न जरुरी छ। वैज्ञानिक रूपमा बनाइएका चाडपर्वको सही सदुपयोग गर्न जरुरी छ। ऋषिहरूले चाडबाडमा उपासनाका विधिहरू बनाएका छन्। अहिले ती विधिहरूको पालना गरेका छौं कि बिर्सिंदै गएका छौं। एकपटक सबैले गम्भीर भएर सोच्न जरुरी छ। चाडपर्वको समय फुर्सदको समय हो। यो समयलाई जीवन उपयोगी कुरा गरेर सदुपयोग गर्न सक्नुपर्छ। त्यसै आफ्नो स्वास्थ्य, मन, हृदय र चेतनाको रक्षा गर्ने अवसरको रूपमा चाडपर्वलाई लिनुपर्छ।
परिवारको सुख, समृद्धि, विद्या–बुद्धि र सम्पत्तिलगायत भौतिक प्राप्ति तथा आध्यात्मिक शान्तिको कामना गर्दै आस्था र गच्छेअनुसार चाडपर्व मनाउनु पर्छ। हिजोआज चाडपर्वमा विकृतिसँगै अनावश्यक खर्च गर्ने चलन बढेको छ। हुनेखाने र हुँदा खानेले मनाउने चाडपर्वमा फरक देखिन थालेको छ। आधुनिकताको नाममा चाडपर्वको मौलिकता नै उपेक्षामा पर्न थालेको छ। दिनप्रतिदिन मौलिक संस्कृति र परम्परा हराउँदै गएको छ। सामान्य ढंगबाट चाडपर्व मनाउँदा पनि हुनेमा देखासिकीका कारण ऋण लिएर भए पनि फजुल खर्च गर्ने चलन बढ्दै गएको छ।
हामीले बचाए हाम्रो संस्कृति जीवन्त रहने हो। अबको पुस्तालाई पनि वास्तविक संस्कृतिको अनुभव गराउन र पुस्तौंसम्म हाम्रा संस्कृति हस्तान्तरण गर्न सकिन्छ। कुन चाडपर्व के–कस्तो किसिमले मनाइनुपर्ने हो र पर्वको वास्तविक महŒव कुन कुरामा गाँसिएका छन्, थाहा दिनुपर्छ। रीतिरिवाज र चाडपर्वलाई बचाउनु आजको आवश्यकता हो। चाडपर्वलाई सस्तो, सर्वसुलभ र लोकप्रिय बनाउन के गर्नु पर्ला ? के के संस्कृति हुन् र के के विकृति हुन् ? तिनको सही पहिचान गर्न जरुरी छ।