दसैं आयो, आएन चामल
जाजरकोट : डिपोमा चामल आउला र दसैं मनाउला भनेर आशामा बसेका जाजरकोट जुनीचाँदे–७ रजुतराका करवीर बुढा निराश छन्। दसैंअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उनी जस्तै धेरै स्थानीय छटपटीमा छन्। दसैंअघि डिपोमा सहुलियत दरको चामल पाइने आशामा बसेका त्यहाँका बासिन्दालाई चाडबाड टार्ने पिरलो छ। स्थानीय बजारमा खाद्यान्न पाइँदैन। पाइए पनि निकै महँगो पर्छ। खाद्यको भन्दा झन्डै दोब्बर पैसा तिरेर पनि सहज रूपमा चामल पाइँदैन। वर्षातमा बिग्रेको बाटो अझै बनेको छैन। जसका कारण पनि जुनीचाँदेवासी थप समस्यामा छन्।
सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ढुवानी अनुदान दिएर सहुलियत दरमा खाद्यान्न बिक्री गर्ने गरेको छ। तर, चाडबाडका बेला सहुलियत दरको चामल नपाउँदा करबीर जस्तै धेरै बिपन्न नागरिक समस्यामा परेका छन्। मूल्यवृद्धिले खाद्यान्न छोइसक्नु छैन। नजिकमा बजार पनि छैन। खाद्यान्न कसरी जुटाउने रजुतराकै अर्की स्थानीय रामकली घर्तीले भनिन्, ‘चाडबाड आउन थालिसके। घरमा खाने अन्न छैन। डिपोमा चामल आएको छैन। म जस्तै धेरैले डिपोको चामल कुरेर बसेका छौं तर कहिले आउने हो केही टुंगो छैन। डिपो तीन महिनादेखि बन्द छ। दसैं कसरी मनाउँ ?’
सहुलियत दरको चामल खाद्य डिपोमा नहुँदा खाद्य संकट झेलिरहेका स्थानिय चर्को मूल्यको मारमा परेका छन्। बजारबाट उनीहरूले दोब्बर बढी मूल्य तिरेर चामल किन्न बाध्य छन्। रजुतरामा रहेको खाद्य डिपोमा यतिबेला एक गेडो पनि चामल छैन। रजुतरामा मात्र होइन जुनीचाँदेकै ताँगाचौर, बारेकोटको काउली र नायकवाडा, नलगाडको चौखा, कुशेको टापुचौर, छेडागाडको दशेरा र पजारु खाद्य डिपोमा पनि चामल ढुवानी हुन नसक्दा स्थानीय मारमा परेका छन्। खाद्यले समयमा टेन्डर नगर्दा डिपोमा खाद्य पुग्न नसकेको हो।
- जाजरकोटका सबै खाद्य डिपो रित्तौ
- सस्तो र मोटो चामलको माग बढी
- यातायातको पहुँच नहुँदा ढुवानीमा समस्या
नलगाड नगरपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा यतिबेला खाद्यान्न अभाव देखिएको छ। ती पालिकामा रहेका खाद्य डिपो र बिक्री केन्द्र यतिबेला रित्तै छन्। नयाँ बाली नपाकेको, वर्षात्ले ग्रामीण सडक अवरुद्ध पारेको र खाद्य डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न नहुँदा दुर्गमका बासिन्दालाई यतिबेला खाद्यान्नको ठूलो समस्या परेको छ।
जिल्लाका ग्रामीण भेकमा हिजोआज स्थानीयले पैसा तिरेर पनि चामल नपाउने अवस्था छ। स्थानीय चामलको जोहो गर्नका लागि भौंतारिरहेका छन्। दुर्गममा चाडपर्वका बेलामा चामल अभाव हुन नदिन खाद्य कम्पनीले चामल खरिद र ढुवानीको प्रक्रिया अगाडि नबढाउँदा समस्या परेको हो। खाद्य कम्पनीले हालै मात्र टेन्डर स्वीकृत गरेको छ। खाद्य जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले गत २० असोजमा जाजरकोटका खाद्य डिपोमा चामल ढुवानीका लागि टेन्डर स्वीकृत भएको र १५ दिनभित्र सम्झौता गर्न २५ गते केन्द्रबाट पत्र आएको बताए।
१५ दिनको म्याद भए पनि संभव भएसम्म ५ दिनभित्र सम्झौता गरी दसैअघि नै चामल ढुवानी गर्न आग्रह गरे पनि बाटोघाटो बिग्रेको कारणले ठेकेदारले चामल ढुवानी गर्न र सम्झौता गर्न आनकानी गरेको शाखा प्रमुख पौडेलले बताए।
केही समयअघि बसेको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले पनि दसैंअघि नै खाद्यान्न डिपोमा पठाउन सम्बन्धित निकायलाई आग्रग गरेको थियो। चौखा, टापुचौर, ताँगाचौर खाद्य डिपोको चामल ढुवानीका लागि एमबी विल्डर्स जाजरकोटको फार्म स्वीकृत भएको छ।
त्यस्तै पजारु, दशेरा, नायकवाडा र रजुतराका लागि एन्जिला टे«डर्स नेपालगञ्जको नाममा स्वीकृत भएको छ। चौखा ७ सय ५० क्वीन्टल, नायकवाडा एक हजार क्वीन्टल, टापुचौर ५ सय क्वीन्टल, ताँगाचौर ७ सय ५०, रजुतरा ७ सय क्वीन्टल, दशेरा र पजारुमा ५/५ सय क्वीन्टल चामलको कोटा स्वीकृति भएको पौडेलले बताए। पजारु र दशेरा नेपालगञ्जबाट ढुवानी हुनेछ भने अन्य डिपोका लागि सदरमुकाम
खलंगाबाट हुनेछ।
स्थानीयले मोटो र सस्तो चामल खोज्ने गरेका छन् तर खाद्य कम्पनीसँग उक्त चामल नहुँदा थप समस्या देखिएको छ। स्थानीयले मोटो चामल खोज्छन् तर मोटो चामल खाद्यका गोदाम नेपालगञ्ज र राजापुरमै छैन। मसिनो चामल महँगो पर्छ। त्यही भएर स्थानीयको रोजाइमा पर्दैन। प्रतिकेजी ६० देखि ८० रुपैयाँसम्ममा मोटो चामल पाइन्छ भने मसिनो चामल झन्डै १ सय रुपैयाँ प्रतिकेजी पर्छ। ‘शाखा कार्यालयमा करिब ४ सय ५० क्वीन्टल मसिनो चामल गत वर्षकै मौज्दात छ। त्यसले जेनतेन धानिरहेका छौं।
सदरमुकाममा अहिले पनि त्यही मसिनो चामल वितरण भइरहेको छ तर सदरमुकाममै पनि मोटो चामलको माग आइरहेको छ’, कार्यालय प्रमुख पौडेलले भने। जाजरकोटका ग्रामीण भेकमा धान उत्पादन नहुँदा बर्सेनि चामलको अभाव हुने गरेको छ।
यातायातको सहज पहुँच नहुँदा पनि ढुवानीमा समस्या हुँदै आएको स्थानीयको भनाइ छ। सरकारको फितलो तयारी र बेवास्ताले दुर्गममा हरेक वर्ष चामलको अभाव हुने गरेको छ। समयमै ढुवानी नहुँदा चाडपर्वका बेला पनि चामल नपाउँदा दुर्गमका बासिन्दामा सधै पिरलो हुने गरेको छ।