दसैंमा दाँतको हेरचाह
चाडबाड मनाउन जति रमाउँछौं, त्यति नियमित कार्यबाट फुर्सद लिन आनन्द मान्छौं। जन्मेदेखि मरणसम्मका हरेक चाडबाड, उत्सव सबै खानेकुरालाई केन्द्रबिन्दु बनाएर नै मनाउँछौं। यी सबै हाम्रा समृद्ध परम्परा पनि हुन्। तर, यसकै नाममा जीवनशैली अनियमित र मनाउने तरिका अस्वस्थकर भई दिँदा बिभिन्न स्वास्थ्य समस्याबाट जगडिरहेका हुन्छौं।
जानीजानी पाहुनापात, साथीभाइ घरमा भएकाले राती अबेर सुत्ने, कम सुत्ने गर्छौं। बिहान चाँडै उठेर व्यायाम तथा घुमफिर गर्ने काम खुसीसाथै छोडछौं। चाडबाडमा यस्ता नियमित र स्वस्थकर कुराले महत्व गुमाउँछ। तसर्थ पनि दसैं, तिहार तथा अनेकन चाडबाडले धेरै मानिसलाई बिरामी बनाएर चिकित्सक वा अस्पताल पुर्याउँछन्। ट्राइग्लिसिराइड, कोलेस्टेरोल, युरिक एसिड, सुगर, उच्च रक्तचाप, तौल बढ्नेजस्ता दीर्घरोगको मात्रा ४० प्रतिशतमाथि गएको हुन्छ। बढेको स्तर ठीकमा ल्याउँदासम्म शरीरको भित्री भागमा केही न केही नोक्सान भइसकेको हुन्छ।
चाडपर्वको बेला खानेकुरामै ज्यादा ध्यान केन्द्रित हुन्छ। बिहान उठेदेखि राति नसुतेसम्म तथा दिनभर नै अब अर्काेपटक के खाने भन्ने छलफलमै व्यस्त बन्छौं। अस्वस्थकर ‘स्न्याक्स’ नै सस्तो हुन्छ, चाँडो तयार पार्न सकिन्छ, मिठो स्वाद अनि सजिलैसँग उपलब्ध पनि। भोजमा दिइने खानेकुरामा प्रशस्त चिल्लो र नुन हुन्छ। त्यस्तै पोषणका हिसाबले मात्र नभई स्वस्थका दृष्टिले पनि निम्न गुणस्तरको खानाले चाडको समाप्तिसँगै स्वास्थ्यमा समस्या ल्याउने गर्छ। भोज खान बिहानैदेखि भोको बस्ने, जमातका लागि पकाउने, पस्कने, धेरै भएमा बासी राख्ने र खाने आदिले गर्दा बिभिन्न जीवाणुको संसर्गमा आई
चाड मनाउने भनेको एकदमै रक्सी खाने, धूमपान गर्ने, मासु खाने एकसाथै आउँछन्। खानेकुराको परिमाण पनि बढ्छ। रक्सीसँगै सेवन गरिने खानेकुरा पनि नुन र तेल बढी भएका तयारी खानाकै प्रचुरता बढ्छ। निस्क्रिय धुमपान गर्न बाध्य पनि भइन्छ र बनाइन्छ। रक्सी सेवन तब यात्राले सडक दुर्घटनाले अस्पतालका आकस्मिक कक्ष भरिने गर्छन्। एकछिनको आरामदायी साँझले जिन्दगीको पटाक्षेप निम्त्याइ परिवार र समाजका लागि अपूरणीय क्षति बन्नसक्छ। चाडबाडमा हामीले गरिरहेका बानी अपनाएका जीवनशैलीले हिजोसम्म स्वस्थकर खाना र जीवनशैलीका बारेमा शिक्षा दिने अभिभावकप्रतिको विश्वास डगमगाउँछ। जसले बालबालिकालाई समेत नकारात्मक असर पार्छ।
दसैं र दाँत : हिन्दु धर्माम्वलम्बीको मात्र नभई सम्पूर्ण नेपालीको प्रमुख चाड बनिसकेको चाडपर्व दसैंलाई सही रूपमा सदुपयोग गर्ने दाँत हो। हुन् त दाँतको महत्व हरेक क्षण क्षणमा छ। तथापि पटक–पटक मिठो र स्वादिलो कुरा खाने, मुसुक्क मुस्कुराउने तथा दिल खोलेर हाँस्ने, सामाजिक जमघटमा निर्धक्क, स्पष्ट बोल्ने र गलल्ल हाँस्ने चाड दसैं–तिहारमा दाँतको महत्व झनै प्रष्टिन्छ। लाग्छ, यी चाडबाडको समयमा दाँतलाई स्वस्थ र काम गर्ने अवस्थामा राख्नु भनेको आधा बढी उत्सव मनाउनु जस्तै हो।
चाडबाडमा सधैं गुनासो गर्ने आफन्त भन्छन्, मेरो त दाँतमा आधा किलो जति मासु अड्किन्छ, अनि कटकट खान थाल्छ, के गर्ने डाक्टर बावु ? मलाई त चाडबाड पनि किन आउँदो हो जस्तो लाग्छ। सिने कलाकार भन्छन्, पछाडिको दाँतको बीचमा चेप छ, खाना खाएपछि टन्किन थाल्छ। खाना नखाएर वा नअड्कने खाना के के हुन् भनी सोध्दै थिए। अर्का अधबैशे युवक दाँत दुख्छ, मासु त माकल्याक मुकलुक पारेर निलिन्छ तर निलिसकेको केही मिनेटमा पेट अलि गडयाङ गुडुङ गर्नथाल्छ भन्दै गुनासो बिसाउँदै थिए।
यी त प्रतिनिधि समस्या र उदाहरण मात्र हुन्। घर, परिवार र समाजमा यस्ता समस्या बोकिरहेका तथा भएका अनगिन्ती बिरामी भेटिन्छन्। जसलाई भाँडाभरि पाकेको मीठो खानेकुरालाई मनले खान खोजे पनि दाँत सम्झेर इन्कार गराउनसक्ने जति पाइन्छन्, त्यति नै गराएको पनि देखिन्छ। बल्ल तल्ल भेटेका साथीभाइ, आफन्तसँगको जमघट दुखेको दाँतले ऐया ऐया बनाई खल्लो बनाउनसक्छ। खुलेर हाँस्न पनि च्वाँस–च्वाँस दुखेको दाँतले लगाम लगाइदिन सक्छ।
दाँत दुख्ने कारण : चाडबाडका बेलामा हुनसक्ने प्रमुख कारणमा धेरै साह्रो कुरा जस्तै मासुको हड्डी, खाना खाएपश्चात् खाइने सुपारी छुर्पी चपाउँदा दाँत चोइटिन सक्छ। सानो चोइटाइले दाँत तातो, साह्रो चिसो खाँदा लाग्ने वा सिरिङ–सिरिङ भए पनि ठूलो चोइटाइले दाँतको भित्री भाग देखिइ खपी नसक्नुको पीडा र गिजा तथा जिब्रोमा घाउ बनाउन सक्छ।
थरीथरीका तथा नयाँ नयाँ स्वादिला परिकार खानेवेला पनि दुई दाँतको बीचमा खाना अड्कन सक्छ। पहिले नै चेप छ वा किराले खाएको अवस्था छ भने झनै खाना अड्कन्छ र छिट्टै नै दन्तसड्नले पीडा दिनसक्छ। उक्त अड्किएका खाना समयमै सफा नगरे कुहिन थाल्छ र अम्ल निकाल्छ। कुहिएको खाना र अम्लले दाँतलाई पनि कुहाएर पीडा दिन्छ। गिजामा समेत संक्रमण बनाउँछ। गिजा संक्रमित हुँदा गिजा सुनिने, खुकुलो हुने, रातो वा नीलो हुने, रगत बग्ने र हड्डी कमजोर हुनजान्छ। हड्डी नै कमजोर भएपछि दाँत हल्लिने, दुख्ने, चपाउन नसक्ने र टनटन च्वँास–च्वाँस दुख्न थाल्छ।
समस्या र रोकथाम ः दसैंका बेला दाँतका अस्पताल र क्लिनिक कमै खुल्छन्। त्यसैमा इष्टमित्र धान्न जाने कि अस्पताल ? मिठो कुरा खाएर गफिँदै मज्जाले तास, लुडो र अन्य मनोरञ्जन गरी बस्ने कि अस्पताल जाने ? टीकाटालो र आशीर्वाद लेनदेनमा संलग्न हुने कि अस्पताल ? पिङ खेल्न जाने कि अस्पताल ? रोकथामका लागि नयाँ नरम ब्रस, दाँत सफा गर्ने धागो, टुथपिक, मुख सफा गर्ने माउथ वास वा गार्गल र कम पाश्र्व प्रभाव भएको दुखाइ कम गर्ने औषधि खरिद गरी ‘फस्ट एड किट’ बनाऔं।
खाना खानासाथ चेप चेपमा अड्केका खानेकुरालाई फ्लस नभए टुथपिकले निकालौं, तब उचित तरिकाले ब्रस गरौं। निराधार हल्ला र पुरातन प्रवृत्तिबाट मुक्त भई चिकित्सकले दिएका स्वास्थ्य सल्लाह र सुझावलाई आत्मसाथ गरौं। कहिल्यै पनि ब्रसको साटो माउथवास वा गार्गल प्रयोग नगरौं। कुला गर्ने औषधि जरुरत पर्दा मात्र प्रयोग गरौं किनभने धेरे प्रयोग गर्दा दाँत कालो र खैरो बन्नसक्छ। सहन नसक्ने गरी पीडा भएमा केही खाएर मात्र पेन किलर औषधी खाऔं।
बुढाथोकी नेपाल चिकित्सक संघका उपाध्यक्ष हुन्।