दसैंमा घर लिपपोत गर्ने चटारो
पोखरा : दसैंले छोपेसँगै पोखराका गाउँ घर र वरपरका परम्परागत नेपाली शैलीका घर रातो माटोले लिपपोत गर्ने, घर वरपर सरसफाइ गर्ने चटारो छ। पोखराका ग्रामीण क्षेत्रका स्थानीय परम्परागत घरमा रातो माटो, कमेरो प्रयोग गरेर घर लिपपोत गर्ने चटारोमा छन्। पछिल्लो समयमा पोखराको मुख्य बजार मात्र होइन ग्रामीण क्षेत्रमा पनि सिमेन्ट, रड प्रयोग बढेको छ।
एक दशक अघिसम्म पोखराको मुख्य बजार क्षेत्रमै नेपाली परम्परागत घरहरूको संख्या धेरै थियो। अहिले सिमेन्ट प्रयोग गरेर घर बनाउने प्रतिस्पर्धाले परम्परागत नेपाली घरहरू हराउँदै गएका छन्। जति घरहरू बाँकी छन् ति घरहरू विदेशीका लागि मात्र होइन नेपालीकै लागि पनि आकर्षक हुँदै गएका छन्।
हराउँदै परम्परागत नेपाली शैलीका घर
१५ वर्ष अघिसम्म पोखराको मुख्य बजारमै नेपाली परम्परागत मध्येका घुमाउने घर १५ बढी थिए। अहिले मुख्य बजार क्षेत्रमा घुमाउने घर देख्नै मुस्किल भएको पोखरा ६ का हरिकृष्ण पहारी बताउँछन्। नेपाली कला, शैली, स्रोत, साधन र नेपाली परम्परागत इन्जिनियरिङ शैलीमा बनेका घरहरू हराउँदै गएका मात्र छैनन्, त्यस्ता परम्परागत कला र सिप पनि हराउँदै गएको उनको भनाइ छ। दुई पाखे परम्परागत नेपाली शैलीका घरहरू भने अझै पनि पोखराको ग्रामिण क्षेत्रमा प्रशस्तै देख्न सकिन्छ।
दशक अघिसम्म दसैं सुरु भएसँगै पोखराको मुख्य बजार क्षेत्रका स्थानीय घर पोत्न रातो माटो, कमेरोको जोहो गर्थे। रातो माटो खन्ने क्रममा माटोले पुरिएर कतिको ज्यानसमेत गएको समाचार त्यतिबेला सुन्नु पर्थ्यो। आजभोलि भने पोखराको मुख्य बजार क्षेत्रमा मात्रै होइन ग्रामीण क्षेत्रमा पनि परम्परागत शैलीका घरहरूको ठाउँ पक्कि सिमेन्टका घरले लिएका छन्। ढुंगा, माटो, काठ, खरको प्रयोग गरेर बन्ने घरहरू हराउँदै गएका छन्।
ढुंगा, माटो, काठ, खरको प्रयोग गरेर बनेका नेपाली परम्परागत घरहरू पनि आरसीसी जस्तै बलिया हुन्छन्। तर, आरसीसी नै बलियो हुन्छ भन्नेमा जाँदा परम्परागत घरहरू बन्ने क्रम हराउँदै गएको इन्जिनियर हरि अधिकारी बताउँछन्। दुई तलासम्मका नेपाली परम्परागत शैलीका पुराना घरहरू अहिले पनि त्यति नै बलियो रहेको उनले सुनाए। मान्छे सबै ढलान नै बलियो हुन्छ भन्ने धारणामा गएको उनले बताए।
नेपाली परम्परागत शैलीका घरमा धेरै काठको प्रयोग हुन्थ्यो। खानीका लामा ढुंगाका प्रयोग गरिन्थ्यो। अहिले खानीको ढुंगाको ठाउँमा खोलाको ढुंगा प्रयोग हुन थालेको इन्जिनियर अधिकारीले बताए। अहिले नेपाली परम्परागत शैलीका घर बनाउँदा पनि काठ महँगो हुनु, खानीका लामा–लामा ढुंगा सहज रूपमा नपाइने र महँगो पनि हुने भएकाले आरसीसी जत्तिकै खर्च लाग्ने गरेको उनले सुनाए। यसैले पनि परम्परागत घर बनाउन चाहानेका लागि पनि खर्च उस्तै–उस्तै पर्न जाने भएकोले आरसीसी घर नै बनाउने क्रम बढेको अधिकारी बताउँछन्।