क्रान्तिकारीहरूले भकारी फोर आन्दोलन चलाउँदा उनले धरम भकारी आन्दोलन छेडे। र, त्यो आन्दोलन आफ्नै घरबाट सुरुआत गरे।
समय निकै प्रतिकूल थियो। अहिलेको जस्तो अनुकूल थिएन। देशमा राणाको जगजगी थियो। छिमेकी भारतमा अंग्रेजको आतंक। उनीहरूका विरुद्ध लड्ने चानचुने कुरा थिएन। किनभने त्यसबेला शासक र शासितबीचको सम्बन्ध अहिलेको जस्तो थिएन। नितान्त भिन्न प्रकृतिको थियो। अहिलेको कल्पनाभन्दा बाहिर थियो। सामाजिक र मानवीय चेत समेत अहिलेको जस्तो खुला र फराकिलो थिएन। यस्तो अवस्थाको समाजमा जन्मेका दलबहादुर प्रजापति विशेष खालका सचेत मानिस थिए। उसको परिवार राणाको विशेष सम्बन्धमा रहे पनि उनी भने समाजको परिवर्तन चाहन्थे। समाजमा रहेका सबैखाले विभेदको अन्त्य चाहन्थे। र, चाहन्थे मानवरूपी सभ्य समाजको निर्माण। उसको दिनचर्या यसै वरिपरि बित्ने गर्थे। किनभने उसको जीवनमा कुनै पनि चिजको अभाव थिएन। सम्पन्न परिवारमा जन्मेका थिए। उसलाई एउटै कुराको अभाव थियो मानवीय समानता।
असमान समाजभित्र समानता खोज्ने परिकल्पना बोकेका दलबहादुर प्रजापतिको यो सोच र चिन्तनबाट दुनियाँ छक्क पर्थे। यतिसम्म कि आफ्नै परिवारको तिरस्कार भोग्न बरु उनी मञ्जुर हुन्थे। तर, आफ्नो सोचभन्दा एक इन्च पछि हट्दैन्थे। उसलाई कुनै चिजको प्रवाह थिएन। परिवारमा उसको जन्म छुट्टै खालको भएको महसुस सबैले गर्थे। आफू र आफ्नो परिवारको सुख, शान्ति, विकास र समृद्धिभन्दा दिनदुःखीहरूको जीवनप्रति सदैव चिन्तित रहन्थे उनी। क्रान्तिकारीहरूले भकारी फोर आन्दोलन चलाउँदा उनले धरम भकारी आन्दोलन छेडे। र, त्यो आन्दोलन आफ्नै घरबाट सुरुआत गरे। यसबाट दाजुभाइ सबै रुष्ट भए। खेतमा काम गर्नेले धेरै श्रम पाउनुपर्छ र काम नगर्ने मालिकले कम पाउनुपर्छ भन्ने मान्यता उसको थियो।
राजा महेन्द्रले २०२१ मा भूमिसुधार ल्याए। तर, प्रजापतिले मोहियानी हकमा ६०ः४० को बाँडफाँड हुनुपर्ने जोड गरेका थिए। धनीले ४० प्रतिशत र मोहियानीले ६० प्रतिशत जग्गा पाउनुपर्ने उसको जिकिर थियो। आफू जमिनदार कुलको भए पनि तत्कालीन राणाशासन र जमिनदारी प्रथाको कटु आलोचक थिए। उनी समानताको जिन्दगी बाँच्न चाहन्थे। तर, चन्द्रशमशेरले उनलाई पाँच वर्षकै उमेरमा लप्टनको उपाधि दिन पुगे।
तत्कालीन अवस्थामा गरिब, दलित र दिनदुःखीहरूका लागि प्रजापति ईश्वर सावित थिए। उसको नाम सुनेपछि गरिब दलित बस्तीहरू उज्यालोपनको महसुस गर्थे। आफ्नो परिवार एक दिन भोकै बसे पनि गरिब, दलित, असहाय तथा दिनदुःखीहरूको चुलो कसरी बल्छ भन्ने कुराले उनलाई धेरै पिरोल्थे। त्यसैले उनी आफ्नो परिवारसँग विद्रोह गरेर भए पनि ठाउँठाउँमा रहेका आफ्नो मौजेदारीको भकारी फोडेर धान चामल गरिबहरूलाई बाँडी दिन्थे। र, उनीहरूको चुलो बाली दिन्थे। दलबहादुरको यो बलमिच्याइँ हर्कतबाट परिवार पूरै आजित हुन्थे।
यतिसम्म कि गरिब, दलितका छोराछोरीहरू विद्यालय पढ्न नपाउँदा आफ्नो छोराछोरीको पढाइलाई समेत प्रभावित गर्थे। गरिबले पढ्न नपाउने विभेदकारी पढाइको विरोध गर्थे। भकारी फोड्ने र अन्न बाँड्ने दिन परिवारको आक्रोशको आक्रमणमा परिन्छ कि भने उनी महिनौंदिन घर फर्किदैन्थे। जब घर फर्किन्थे उसको कामै हुन्थ्यो गरिबको चुलो बाल्ने, उपद्रो मच्चाउने। जसले गर्दा उसको दाजुभाइ र परिवारजनले उनी घर नफर्केकै देख्न चाहन्थे। किनभने उसको अगाडि कसैको केही चल्दैन्थे।
दलबहादुरको बाहिरी संगत बढ्दै गयो। नामै दलबहादुर कामै दलबहादुरको रूपमा स्थापित हुँदै गयो। युवा अवस्थामै यतिका सोच्न सक्ने दलबहादुरको चर्चा गरिबका झुपडीहरूमा गुञ्जिन थाल्यो। अपार माया र स्नेह पाउन थाल्यो। यतिसम्मकि छिमेकी भारतको आजादीका लागि ब्रिटिस शासनका विरुद्ध युद्ध र आन्दोलन छेडेका डा. राममनोहर लोहिया र जयप्रकाश नारायणलगायतका आन्दोलनकारीहरूसँग समेत उसको हिमचिम बढ्छ। उनीहरूसँगको घनिष्ट सम्पर्क सम्बन्ध बढ्दै जान्छ। यतिसम्म कि डा. राममनोहर लोहिया र जयप्रकाश नारायणका असली फ्यान हुन पुग्छन् दलबहादुर प्रजापति। सँगै खानेबस्ने र आन्दोलनमा सहभागिता जनाउने उनीहरूको नित्य कर्म जस्तै हुन पुग्छ। उनीहरूको हरेक आन्दोलनमा प्रजापतिको अग्रणी सहभागिता हुन्छ। उनले आन्दोलनलाई नजिकबाट नियालिरहेका थिए।
भारतमा ब्रिटिस साम्राज्यका विरुद्ध लडिरहेका डा.राममनोहर लोहिया, जयप्रकाश नारायण, योगेन्द्र शुक्ल, सुरजनारायण सिंहलगायतका ठूला नेताहरूको गिरफ्तार हुन पुग्छ। भारतको हजारीबाग जेलमा उनीहरू कैदी हुन्छन्। सन् १९४२ नोभेम्बर ८ मा जेल तोडेर उनीहरू फरार हुन्छन्। त्यसपछि ब्रिटिसको चर्को दमन सुरु हुन्छ। ब्रिटिसले डा.राममनोहर र जयप्रकाश नारायणको जिउँदो बुझाए दुई लाख र मरेको लास बुझाए चार लाख इनामको घोषणा गर्छन्। स्थिति निकै नाजुक देखेपछि कांग्रेसको कार्यकारिणी समितिले सन् १९४२ मै भारत छोडो प्रस्ताव पारित गर्छन्। उनीहरू सबै नेपाली भूमि सप्तरीमा प्रवेश गर्छन्। उनीहरूको संरक्षण रामेश्वर सिंह र दलबहादुर प्रजापतिहरूले गर्छन्।
र, सप्तरीकै भूगोल उपयोग गरेर आजाद दास्ता निर्माण गरी ब्रिटिस साम्राज्यका विरुद्ध लड्न अग्रसर हुन्छन्। यसका लागि सप्तरीको कोशी नदी र सुरुंगा जंगल अनुकूल भूगोल उनीहरूको रोजाइमा पर्छन्। र, त्यहाँ उनीहरू परेड खेल्न थाल्छन्। फौजी तालिमहरू सुरु गर्छन्। ब्रिटिस साम्राज्यको कारण नेपालमा १०४ वर्षदेखि बाँचिरहेका राणा शासकहरूको सहकार्यमा डा.राममनोहर लोहिया र जयप्रकाश नारायणहरू नेपालमा फेरि पक्राउ पर्छन्। र, उनीहरूलाई हनुमाननगर जेलमा बन्दी बनाएर राख्छन्।
पक्राउ परेका लोहिया र जयप्रकाशलाई राणाले ब्रिटिसलाई बुझाउने उर्दी आउँछ। यो कुरा सहकर्मीहरूलाई थाहा हुन्छ। र, जेल तोड्ने योजना बनाउँछन्। यसका लागि सुरुंगा जंगलमा आजाद दासता फौजको तालिम सुरु गर्छन्। यसको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दलबहादुर प्रजापतिको हुन्छ। किनभने रामेश्वर सिंह बिरामी पर्छन्। जेल तोड्ने योजनाको कमान्ड दलबहादुर प्रजापतिलगायतको नेतृत्व हुन्छ। २००० साल जेठ ९ मा १२ बजे राति आजाद दस्ताले हनुमाननगर जेलमाथि धावा बोल्छन्। आक्रमणमा गरिब, दलित बस्तीका युवाहरूको सबैभन्दा बढी लडाइँमा सहभागिता हुन्छ। जेलमा गार्डलाई मार्ने, टेलिफोनको तार काटेर अवरुद्ध गर्ने, दुश्मनको फौजलाई भ्रमित पार्न साइडहरूमा आगो लगाएर आतंकित बनाउने सबैको जिम्मेवारी तोकिएको हुन्छ।
दलबहादुर प्रजापतिको जिम्मेवारी जेलको पश्चिमी भागको आक्रमणको हुन्छ। उनले आफ्नो जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्छन्। डा.राममनोहर लोहिया र जयप्रकाश नारायणहरूलाई भगाएर सुरक्षित साथ बोर्डर क्रस गराउन उनीहरू सफल हुन्छन्। यता भारतमा ब्रिटिस साम्राज्यविरुद्ध महात्मा गान्धीको नेतृत्वमा अहिंसावादी आन्दोलन सुरु हुन्छ। नेपालमा बीपीको नेतृत्वमा कांग्रेस आन्दोलनको सुरुआत हुन्छ। चौतर्फी आन्दोलनको आँधीबेहरीले ब्रिटिस साम्राज्यको अन्त्य हुन्छ। त्यसपछि नेपालम राणाको अन्त्य हुन्छ।
सन् १९४६ मा अन्तरिम सरकार बन्छ। सन् १९४७ मा भारत आजादीको घोषणा हुन्छ। डा.राममनोहर लोहिया, जयप्रकाश नारायणसँगै दलबहादुर प्रजापति पनि भारतीय चुनावमा भाग लिन्छन्। तर, उनीहरू सबैको प्राजित हुन्छ। क्रान्तिकारीहरू कोही पनि जित्न सफल हुँदैन। आन्दोलनको क्रममा प्रजापतिको भारत बसाइ लामो हुन्छ। किनभने राणा, सामाजिक सामन्त र केही जमिनदारहरूबाट प्रजापतिले आफूलाई असुरक्षाको महसुस गर्छन्। ठूल्ठूला कपाल दाह्री पाल्ने, विभिन्न भेष र पहिरनमा उनी बोर्डर वारपार गर्थे। प्रजापतिको मुख्य खाना केरा र दूध थियो। उसले साथमा एउटा भान्से पनि राख्ने गर्थे। भूमिगत अवस्थामा दलबहादुर प्रजापति विभिन्न ठाउँमा भिन्नभिन्न उपनामले चिनिन्थे।
भक्तपुरमा लप्टन बाबा, स्वयम्भू क्षेत्रमा सीताराम भिक्षु, बाला सीताराम भिक्षु, सीताराम राज अलौकिक, भारतमा पहाडी बाबा, भारतको अयोध्याबाट दीक्षित भएपछि महात्मा, अनुराग, नित्यानन्द, जनकपुरमा रामसेवक दास, रामदयाल दास वैष्णव, किशोरी दास, सप्तरी सिरहामा भने प्रजापतिले नै स्थापित थियो। दलबहादुर प्रजापतिलाई किसुनजीले (कृष्णप्रसाद भट्टराई) गुरु पनि मान्नुहुन्थ्यो। उहाँलाई त्यागी नेताको रूपमा मान्नुहुन्थ्यो। प्रजापतिको सबैभन्दा राम्रो भाषण रामराज ल्याउनुपर्छ भन्ने निकै चर्चित थियो।
लामो भारत बसाइको क्रममा दलबहादुरले साथीसंगतमा भारतको हाजीपुरमा जग्गा पनि किनेका थिए। जहाँ भारत पुग्दा आफ्नो बसोबास गर्थे। अहिले पनि उसको नाममा त्यहाँ जग्गा कायम छ। प्रजापतिको बिर्ता भक्तपुर र सप्तरी सिरहामा अझै पनि धेरै ठाउँमा छन्। भारतको अयोध्यामा दीक्षित भएर फर्केपछि जनकपुरमा उसले आश्रम खोल्ने योजना बनायो। यसका लागि तत्कालीन राणा सरकार जुद्धशमशेरसँग अनुमतिको चिठी लेखे। चिठीमा अनुमति माग्दै अन्त्यमा आज्ञा भए होस् सरकार भनेपछि उनले अनुमति पाएनन्। जुद्धशमशेर उनीबाट रिसाएर पाँच वर्ष कैद ठोक भन्ने आदेश दिए। किनभने उनलाई माफी माग्न लगाएका थिए। दलबहादुरले माफी मागेनन्। त्यसपछि जनकपुरको संकटमोचन उनले निर्माण गरे। अहिले पनि उसको नाम त्यहाँ उल्लेख छ।
उनी निरंकुश राणाशासनका विरुद्ध नयाँ खालको देश र समाजको निर्माण चाहन्थे भने छिमेकी भारतमा ब्रिटिस साम्राज्यको विरुद्ध लडिरहेका डा.राममनोहर लोहिया र जयप्रकाश नारायणहरूको साथ दिएर सामाजिक लोकतन्त्रको स्थापना चाहन्थे। त्यसैले दलबहादुरको चर्चा जति गरे पनि अपुग नै हुन्छ। दलबहादुर यस्ता बहादुर जनयोद्धा थिए कि देश र समाज परिवर्तनका लागि उनले आफूलाई पटकपटक छद्मभेषी हुनुपर्र्यो। जेलनेल भोग्नुपर्यो। अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि पटकपटक जेल बस्नु भएको थियो। २००७ सालमा बीपीको नेतृत्वमा कांग्रेसी आन्दोलन हुँदा र बीपी कोइरालाले अनशन सुरु गर्दा प्रजापतिले पहिलोपटक भारतको जवाहरलाल नेहरूलाई खबर पुर्याएका थिए।
दलबहादुर प्रजापतिको यसमा ठूलो योगदान र बलिदान छ। उनीहरू निष्पक्ष क्रान्तिकारीहरू थिए। आफ्नो अडान र विचारमा कहिले पनि बिवचलित भएन। बरु शिरमा मुक्ति र मृत्युको कफन बाँध्न प्रजापति तयार भए। १९७२ असार १९ गते शनिबार भक्तपुर नपा १२ बोलाछेमा जन्मेका र सिराहाको महदेवापोर्ताहा गाविस हाल सखुवाननकारकट्टी गापा ३ मा कर्मथलो रहेका दलबहादुर प्रजापति काठमाडौंको भद्रगोल जेलमा उपचारको क्रममा २०३० चैत २९ गते उसको मृत्यु हुन्छ। तर, विडम्बना उनै मानिस आज इतिहासको छायामा परेका छन्। उनको योगदानको चर्चा गर्ने मानिसहरू छैनन्। इतिहास आफ्नोले नलेखेपछि अरुबाट सुरक्षित नहुने रहेछ भने कुराको ठूलो उदाहरण प्रजापतिको हो। जसको सारा परिवारजन जमिनदार र राणाको नजिकको मानिस भएर पनि उनीहरूको विरोध गर्थे। यस्ता वीर पुरुषहरूलाई आज नसम्झे कहिले सम्झिने हो ? उनीहरूलाई आजको लोकतन्त्रमा चर्चा नगरे कहिले गर्ने हो ? हामीले नगरे कसले गर्ने हो ?
स्रोत : तत्कालीन भारबाट प्रकाशित पत्रिका अगस्त क्रान्ति, नेपालको प्रजातान्त्रिक इतिहास, कृष्णप्रसाद भट्टराईको कर्मयोगी, हिम्मत सिंहको काँटों कि राह में, स्व. दलबहादुर प्रजापति, अलौकिक सीताराम राज एक परिचय २०५८, लगायत परिवारजनबाट।