विदेशी सुपारी नेपाली बजारमा, कोशीका सुपारी तस्करकै हातमा
किसान पनि खेती गर्नमा उत्साहित नै छन्। तर, मुख्य समस्या बजारको छ। तस्करकै हातमा र उनीहरूकै मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न किसान बाध्य छन्।
झापा : कोशी प्रदेशको मुख्यतः पाँच जिल्लामा बढी सुपारी खेती हुन्छ। झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा ४ हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती भएको छ। यस क्षेत्रका खेत, बारी र खाली जमिन भएका स्थानीयले पनि केही बोट सुपारी लगाएकै हुन्छन्। व्यावसायिक उत्पादनमात्रै वार्षिक १५ हजार मेट्रिक टन बढी हुने सरकारी तथ्यांकले नै देखाउँछ। किसान पनि खेती गर्नमा उत्साहित नै छन्। तर, मुख्य समस्या बजारको छ।
यतिको उत्पादन हुँदा पनि अझै यहाँका किसानले मूल्य पाउँदैनन्। तस्करकै हातमा र उनीहरूकै मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न किसान बाध्य छन्। भन्छन्, ‘सरकारले खेती गर्न प्रोत्साहन गर्यो। तर, बजारका लागि बेवास्ता गर्यो।’ कोशी प्रदेशमा आर्थिक वर्ष २०७९–०८० मा १४ हजार ५ सय ६१ मेट्रिकटन सुपारी उत्पादन भएको थियो। तर, ‘कौडीको भरमा’ सुपारी बेच्नु परेको किसानको गुनासो छ।
झापा अर्जुनधारा नगरपालिकामा विगत ३० वर्षदेखि सुपारी व्यवसाय गर्दै आएका सुरेन्द्र साह यो समस्या आउनुको मुख्य कारण सरकारको बेवास्ता ठान्छन्। भन्छन्, ‘बिलौचियामार्फत स्थानीयस्तरमा उत्पादित राम्रो सुपारी भारत जान्छ। भारतको नराम्रो र कुहिएको सुपारी उनीहरूमार्फत नै नेपाल आउँछ। सरकार आफ्नो उत्पादनलाई निर्यातमा भन्दा आयातमा बल गर्छ। यसको दुःख सुपारी किसानले पाएका छन्।’ सुपारी किसानको नाममा विभिन्न संस्था खोलेर बिचौलिया हाबी हुँदा किसान मर्कामा परेको उनको तर्क छ।
झापाको अर्जुनधारामा रहेको सुपारी प्रशोधन केन्द्रमा पुर्याइएको किसानका सुपारी।
केही दिनअघि मात्रै झापाको बुद्धशान्तिमा पत्रकार सम्मेलन गरेर किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न पाउनुपर्ने सरकारसँग माग गरे। ‘अब अति भयो’ भन्दै उनीहरूले सरकारले मागको बेवास्ता गरे आन्दोलन गर्ने चेतावनी पनि दिए। त्यहाँ नेपाल सुपारीखेती किसान पहल समितिले प्रस्तुत गरेको तथ्यांकमा १० लाख बढी किसान सुपारीखेतीमा लागेको र अहिले उत्पादन भइरहँदा पनि बिक्रीका लागि बिचौलिया र तस्करकै भर पर्नु परेको उल्लेख थियो। उपस्थित किसानको एउटै भनाइ थियो, ‘विदेशी सुपारीका कारण स्वदेशीले उचित मूल्य पाएन।’
नेपाल सुपारीखेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारी किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न पाए राम्रो आम्दानी हुने र किसान आत्मनिर्भर बन्न सक्ने बताउँछन्। नेपालमा सुपारीखेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको उनको भनाइ छ। भन्छन्, ‘काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न हामीले सहजै पाउनुपर्छ। हाम्रो मागलाई बेवास्ता गरेमा १० लाख बढी सुपारी किसान एकैपटक आन्दोलनमा उत्रिन्छौं।’
सुपारी किसानले कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्दै आफ्ना माग पटकपटक राखेका पनि छन्। तर, यतिका समय हुँदा पनि मागका विषयमा सरकारले कुनै सम्बोधन नगरेको किसानको गुनासो छ।
‘किसानलाई किन तस्कर जस्तो व्यवहार ?’
झापा अर्जुनधारा नगरपालिका—८ का कृषक दीपेन्द्र ढकालको सबै जमिन सुपारीले ढाकेको छ। सबै सुपारीले उत्पादन दिन थालेको ११ वर्ष भयो। उनको खेती सरकारले घोषणा गरेको सुपारी जोन क्षेत्रमा नै पर्छ। तर, उनी आफैंले बारीमा उत्पादन गरेको सुपारी निर्धक्क भएर बजारमा लगेर बिक्री गर्न सक्दैनन्।
दुई वर्ष अघिमात्र आफैंले उत्पादन गरेको सुपारी ट्रकमा हालेर बिर्तामोडको बजारमा बिक्री गर्न लैजादा बीच बाटोमा प्रहरीले चेक गर्यो। उनलाई प्रश्न तेस्यायो– ‘सुपारी तस्कर हो ? कहाँबाट ल्याएको ? कहाँ लैजान लागेको ?’ ‘आफैंले उत्पादन गरेको वा आफू सुपारी कृषक हो भन्ने के प्रमाण छ ?’ प्रहरीका यस्ता प्रश्नको सामना गर्नुपर्दा त्यो समय ढकाल अक्कन बक्क भए। आफैंले तरकारी खेती गरेजस्तै सुपारीखेती गरेर बजार लैजाँदा पनि तस्करको संज्ञा पाएका उनको मन अमिलो भयो।
अहिले पनि बारीभरि सुपारीको बोट भएका कृषक ढकाल बजार जान र आफैं बिक्री गर्न मन मार्नु परेको बताउँछन्। भन्छन, ‘सुपारीखेती गरियो, बिक्री पनि हुन्छ। तर, बजार लैजाँदा सुपारी बेच्नेलाई तस्करलाई गर्ने व्यवहार जस्तो गरिन्छ। विभिन्न हैरानी खेप्नुपर्छ।’ अहिले उनी सुपारी पाक्न साथ बोटमा नै खरिद गर्न आउने व्यापारीलाई सस्तो मूल्यमा नै सुपारी बिक्री गर्छन्। व्यापारी पनि नेपालका नभई भारतीय नै बढी आउने गरेको कृषक ढकालको भनाइ छ।
खेती सहज, बिक्री असहज
झापाको अर्जुनधारा, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सबैभन्दा बढी सुपारीखेती हुन्छ। यस क्षेत्रमा सुपारी नभएको घर कमै छन्। स्थानीय केहीले व्यावसायिक रूपमा सुपारीखेती गरेका छन्। केहीले एक/दुई दर्जन बोटलाई आयस्रोतको माध्यम पनि बनाएका छन्।
झापा सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले दुई नगरपालिका र एक गाउँपालिकालाई समेटेर सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरी काम अघि बढाएको पनि छ। तर, झापाका सुपारी कृषक र व्यवसायी भने जिल्लामा उत्पादन भएकै सुपारीले बजार नपाउँदा चिन्तित छन्। ‘केही भारतीय व्यापारी आउँछन्, उनीहरूले तोकेको मूल्यमा नदिए बिक्री हुँदैन। नेपाली व्यापारीले धेरै खरिद गर्दैनन्। उत्पादन गरे पनि बजार छैन,’ अर्जुनधारा नगरपालिकाका सुपारी कृषक शैलेश लिम्बूले भने। केही समय अघिसम्म सुपारीको बजार राम्रो थियो अहिले बिक्री गर्न नै कृषकलाई समस्या छ। सुपारीको बोक्रा छोडाउँदै स्थानीय महिला । तस्बिर : रविन भट्टराई
धार्मिक कार्यहरू न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभई नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिने भएकाले कोशीका जिल्लामा धेरै वर्ष अघिदेखि सुपारीखेती भएको हो। कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका कृषिविज्ञ अभिमन्यु अधिकारीका अनुसार कोशी प्रदेशको कुल सुपारी उत्पादनमध्ये दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुन्छ। त्यही कारण झापालाई सुपारीको राजधानी तथा उर्वरभूमि पनि भन्ने गरिन्छ।
झापामा २ हजार ७ सय ७० हेक्टरमा सुपारीखेती हुँदै आएको छ। झापामा आर्थिक वर्ष २०७९/८० मा १० हजार ३ सय ७० मेट्रिकटन सुपारी उत्पादन भएको छ। झापामा सुपारीखेतीको विस्तार पनि तीव्र रूपमा भइरहेको छ। जिल्लाका १५ वटै पालिकामा किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएको सुपारीखेतीका अभियन्ता एवम् सुपारी जोनका पूर्वअध्यक्ष नीलकण्ठ तिवारी बताउँछन्। अहिले सुपारीको पातदेखि खोस्टासमेत बिक्री हुन थालेपछि यसप्रति किसानको आकर्षण बढेको छ। मात्रै दानाको भाउ नपाउँदा निराश छन्।
झापापछि मोरङमा सबैभन्दा बढी सुपारीखेती र उत्पादन हुन्छ। मोरङको ९ सय ५ हेक्टरमा सुपारीको खेती हुन्छ। गत आवमा मोरङमा २ हजार ९ सय ४६ मेट्रिकटन सुपारी उत्पादन भएको थियो। यस्तै इलाममा गत आवमा २ सय ९ हेक्टरमा सुपारीखेती भएकोमा ६ सय १० मेट्रिकटन उत्पादन भएको थियो भने सुनसरीको १ सय ३५ हेक्टरमा खेती हुँदा ५ सय २५ मेट्रिकटन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ।
उदयपुरको ३५ हेक्टरमा सुपारीखेती भएको र गत आवमा १ सय ९ मेट्रिकटन सुपारी उत्पादन भएको थियो। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन सञ्चालन गरेको छ। जोन घोषणा भएसँगै सुपारी किसानलाई खेती विस्तार, बिरुवा उत्पादन, कृषि औजार, भण्डारण, सुपारी प्रशोधनलगायतका लागि परियोजनाले ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा विभिन्न औजार दिने गरेको छ।
- सुपारी खेती गर्न प्रोत्साहन गर्छ सरकार। तर, बजारीकरणमा सधैं बेवास्ता।
- नेपाली सुपारीले पाउँदैन भाउ। विदेशी सुपारी नेपालका बजारभरि।
- उत्पादन गरेको सुपारी आफैं बोकेर बजार पुग्न सक्दैनन् किसान। तस्करलाई जस्तै गरिन्छ व्यवहार।
- बिचौलिया आउँछन् भाउ तोक्छन्। तस्करले बोक्छन् पारि लान्छन्।
- सुपारी तस्करी नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय नै स्थापना। तर, रोकिएन तस्करी।
झापाको पूर्व–पश्चिम राजमार्गको उत्तरी क्षेत्रमा सुपारीखेतीका लागि अनुकूल माटो रहेको छ। बाहुनडाँगी, बुधबारे, शनिश्चरेमा जताततै सुपारीका मनमोहन बगान देख्न सकिन्छ। पछिल्लो समय सुपारीखेती विस्तार गर्ने लहर नै चलेको छ। सुपारी बहुवर्षे बाली भएकाले एकै वर्षमा एउटा बोटबाट ५० किलोसम्म सुपारी फलाउन सकिन्छ।
खेती/कारोबार पुरानो, समस्या नयाँ नयाँ
२०५० सालभन्दा अघिदेखि नै नेपालमा सुपारीको कारोबार सुरु भएको थियो। खेती त पुरानै हो। नेपालका सीमावर्ती सहरहरूमा यो व्यापार बढी केन्द्रित बन्यो। विगतमा सुपारीको कारोबार खुलेआम थियो। भारतीय व्यापारीहरू खरिदका लागि झापा आउँथे। भन्सार नाकाबाटै खुलेआम मेची नदी तार्थे। ‘सुपारी खरिद बिक्रीका लागि भारतीय व्यापारीहरूको ‘मेला’ नै लाग्थ्यो, अहिले त्यस्तो छैन,’ काँकडभिट्टाका स्थानीय हरि न्यौपाने भन्छन्।
सबैभन्दा बढी सुपारीको व्यापार हुने काँकडभिट्टाको एउटा क्षेत्रको नाम नै ‘सुपारी लाइन’ छ। ‘यो स्थानबाट पहिले सुपारी खुलेआम व्यापार हुन्थ्यो अहिले लुकीचोरी हुन्छ,’ एक स्थानीय भन्छन्। सुपारी लामो समयदेखि प्रहरी प्रशासनको बिना कुनै अवरोध कारोबार भइरहेको थियो। तर, बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालबाट सरकारले सुपारी व्यापारलाई कडाइ गरेको हो। २०६८ माघ २१ देखि नेपालले सुपारी भारतमा बिक्री गर्न कडाइ गर्यो। सोही समयदेखि नेपालका कृषक मर्कामा परेका हुन्। नेपाल सुपारीखेती विकास संस्थाले अनुमति पत्र ‘उत्पत्तिको प्रमाणपत्र’ दिएपछि मात्र निकासी गर्न पाउने प्रावधानले सुपारी निकासीमा समस्या सुरु भएको हो।
सन् १९५० को नेपाल–भारत वाणिज्य सन्धिमा तेस्रो देशबाट आयातित कुनै पनि वस्तु भारत निर्यात गर्न नेपाललाई छुट छैन। तर, तेस्रो देशबाट आएको सुपारी लुकीचोरी अझै भारत नै पठाइन्छ। मलेसिया, थाइल्यान्ड, इन्डोनेसियाजस्ता मुलुकबाट नेपाल भित्रिने सुपारी नेपालको भन्दै व्यापारीले भारत पठाउने गरेकाले नेपालले सुपारीमा कडाइ गरेको थियो। कडाइ गरे पनि अहिले तस्करी शैलीमा धेरै सुपारी भारत नै पुग्छ। मेची बगर र पुलमाथि अहिले पनि भारतीय सुपारी केरियरहरूको घुइँचो देखिन्छ। ‘विगतमा ठूलो परिमाणमा जान्थ्यो,’ मेची भन्सारका पुराना कर्मचारीले भने, ‘अहिले चाहिँ परिमाण घटेको छ, तर जाने, आउने क्रम रोकिएको छैन।’
तस्करकै हातमा सुपारी
सुपारी तस्करी नियन्त्रणलाई लक्षित गर्दै २०६८ पछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नेतृत्व पहिलोपल्ट नायब उपरीक्षक (डीएसपी) लाई दिइएको थियो। तर, अझै प्रहरीले प्रभावकारी काम गर्न सकेको देखिँदैन। पूर्वको मेची, विराटनगर, वीरगन्ज र भैरहवा भन्सार नाकाबाट वार्षिक अर्बौं रुपैयाँको सुपारी तस्करी/पैठारी हुन्छ।
पाँच वर्षअघिबाट सुपारी निर्यात गर्ने अनुमतिपत्र ‘उत्पत्तिको प्रमाणपत्र’ पाउने विषयलाई लिएर सुपारी संस्थाहरूको विवादका कारण भन्सारबाट वैधानिक रूपमा निकासी हुने सुपारी पूर्ण रूपमा रोकिएको हो। यसअघि झापामा उत्पादन भएको सुपारी भारतमा बिक्री गर्न नेपाल सुपारीखेती विकास संस्थाले अनुमतिपत्र ‘उत्पत्तिको प्रमाणपत्र’ दिए पछि मात्र निकासी हुने प्रावधान रहेको थियो।
उत्पत्तिको प्रमाणपत्र एकाधिकार ढंगले दिएको भन्दै संस्थाको विवाद सर्वोच्च अदालतसम्म पुगेपछि झापामा उत्पादित सुपारी भारत निकासी ठप्प भयो। उत्पत्तिको प्रमाणपत्र बिना भारत निकासी गर्दा व्यापारीले तेस्रो देशबाट ल्याएको सुपारीमात्रै भारत लैजाँदा नेपाली सुपारी कृषक समस्यामा परेका थिए।
बोरामा हालेर भारततर्फ तस्करी गरी लैजान तयार पारेको सुपारी।
प्रमाणपत्रको व्यवस्थापछि केही समय नेपाली सुपारीले भारतीय बजार पाए पनि अहिले ठप्प हुँदा सबै सुपारी भारतीय तस्करको हातमा परेको छ। ‘व्यवसायीहरू तेस्रो देशबाट ल्याइएकै सुपारीको कारोबारमा नै व्यस्त छन्,’ ‘हाम्रो सुपारी नबिकेर बर्सेनि कुहिने अवस्था छ।’ अर्जुनधाराका कृषक राधेश्याम न्यौपाने भन्छन्।
आयात खुलाउँदा किसानलाई मार
नेपालमा उत्पादन हुने काँचो सुपारी कुल उत्पादनको करिब २० प्रतिशत मात्रै स्वदेशमा खपत हुने र बाँकी ८० प्रतिशत विभिन्न बाटोबाट भारत निकासी हुँदै आएको छ।
नेपालबाट भारत सुपारी निकासी गर्न सहज छैन। तर, सरकारले केही समयअघि आयात खुलाएको छ। यसले किसान झनै समस्यामा परेका छन्। ‘किसानसँग नै सुपारी मौज्दात छ, बिक्री गर्न समस्या छ। तर, सरकार विदेशबाट आयात खुल्ला गर्दैछ,’ झापाको बुद्धशान्ति गाउँपालिकाका सुपारी व्यवसायी मनोज प्रसाईं भन्छन्।
नेपाललाई पुग्ने सुपारी देशमा नै उत्पादन हुने दाबी झापाका कृषकको छ। तर, विदेशबाट आयात किन सरकारले खोल्यो उनीहरू जानकार छैनन्। ‘नेपालमा स्वदेशी माग धान्ने परिमाणमा सुपारी आफ्नै देशमा उत्पादन भइरहेको छ,’ सुपारी जोन झापाका नीलकण्ठ तिवारी भन्छन्, ‘आयात खुलाउँदा झापाका किसानले उत्पादन गरिरहेको सुपारीले अब बजार पाउँदैन। किन यसो गरिरहेको छ सरकार थाहा छैन।’ भारतसँगको भन्सारदर अन्तरले गर्दा नेपाल हुँदै भारत सुपारी निकासी हुन्छ।
इन्डोनेसियाको सुपारी नेपालबाट तस्करी !
झापाको मेची नदीकिनारमा प्रहरीको आँखा छल्दै सुपारी पारि लैजानेको दैनिक लाइन नै हुन्छ। ती भारतमा सबैभन्दा बढी बिक्री हुने सुपारी यो नाका हुँदै भारत जान्छ। तर, नेपालको किसानको भन्दा धेरै इन्डोनेसियाबाट नेपाल आएको सुपारी तस्करीको माध्यमबाट भारत पुग्छ।
इन्डोनेसियाबाट सुपारीको पैठारी गर्न अनुमति पाएको व्यापारिक समूहनै त्यही आयातित सुपारीलाई भारत निर्यात गर्ने बढी चलखेलमा लाग्ने गरेका छन्। विभिन्न घटना क्रमले पनि यसलाई पुष्टि गर्छ। विदेशबाट सुपारी ल्याउने र त्यसलाई नेपालको झापामा उत्पादन भएको फर्जी कागज बनाएर भारतमा निर्यातसमेत हुने गरेको सुपारीखेती विकास
संस्थानका अध्यक्ष देवी खतिवडा दाबी गर्छन्। दुई वर्षअघि मात्रै निर्यात खुलाउनमा झापाका गोविन्द सरिया र प्रदीप मित्तल तथा विराटनगरका दिनेश राठीले नेपाल उद्योग वाणिज्य महासंघ र वाणिज्य विभागलगायतका निकायमा दबाब दिएको झापा उद्योग संघका यमबहादुर श्रेष्ठ बताउँछन्। झापामा झापा उद्योग संघले मात्र उत्पत्तिको प्रमाणपत्र अर्थात् सर्टिफिकेट अफ ओरिजिन (सीओ) जारी गर्ने अनुमति पाएको थियो। त्यसैले ठूला व्यापारीको दबाब संघलाई बढी आउने गरेको थियो।
समुद्रपारका मुलुकबाट पैठारी गरिएको सुपारीलाई नेपालको उत्पादन भन्ने देखाएर आर्थिक वर्ष २०६७/०६८ देखि भारततर्फ निर्यात गर्न थालिएको थियो। भारतको सरकारी पक्षले सुपारीको फर्जी निर्यात बन्द गर्न तीव्र दबाब दिइरहे पनि निकासीको क्रम २०७०/७१ सम्म कायम रह्यो। उद्योग संगठन मोरङका अनुसार आर्थिक वर्ष २०७२/०७३ देखि सुपारीको निकासी सहज रूपमा हुन नसकेको हो।