गुटेरेसको स्वागतमा तयार लुम्बिनी
बुटवल : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतका लागि लुम्बिनी सिगारिएको छ। महिनौंदेखि अलपत्र सडक कालोपत्रे गर्नेदेखि रंगरोगनका कार्यहरू भइरहेका छन्।
आइतबार नेपाल आएका गुटेरेस मंगलबार लुम्बिनी आउँदैछन्। लुम्बिनीमा आउने उनी छैठौं महासचिव हुन्। राष्ट्रसंघका महासचिव उ थान्तको लुम्बिनी भ्रमणपछि लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय चासो सुरु भएको थियो। उनको लुम्बिनीमा स्मरण शालिकसमेत स्थापना गरिएको छ।
विकास कोषले एन्टोनियो गुटेरेसको भ्रमणलाई महत्वमा राखी स्वागतको तयारी गरेको हो। लुम्बिनीबाट महासचिव एन्टोनियो गुटेरेसले दिने सन्देश विश्वका लागि शान्ति सन्देशका रुपमा प्रभाह हुने विश्वास कोषको रहेको छ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले एन्टोनियो गुटेरेसको स्वागतका लागि तयारी भइरहेको बताए। ‘लुम्बिनीलाई विश्वमाझ अझ प्रवद्र्धन गर्ने यो मौका समेत हो, उनले भने,–‘बुद्धका शान्ति सन्देशलाई विश्वमाझ पुर्याउने अवसरका रुपमा हामीले सदुपयोग गर्नुपर्छ।’
करिब १५ वर्षपछि नेपालमा राष्ट्रसंघका महासचिव नेपाल आउने निश्चित भएसँगै लामो समयदेखि अलपत्र रहेका लुम्बिनी विकास कोषभित्रका सडक हतारहतार कालोपत्रे गर्न थालिएको हो। लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले सडक निर्माणलगायतका पूर्वाधारका काम छिटो सम्पन्न गर्न पटकपटक ताकेता गरेका थिए। तर, काम हुन सकेको थिएन।
अहिले निर्माण व्यवसायीहरू धमाधम काम गरिरहेका छन्। हेलीप्याडहरूमा रंगरोगन गरिएको छ। झाडी हटाउने, सडक बडार्ने, फोहोर हटाउने कामहरू धमाधम गरिएका छन्। निर्माण, सरसफाई मात्रै होइन विकास निर्माणको काममा पनि हतार हतार तिव्रताको साथ गरिरहेको छ। महासचिव गुटेरेसलाई लुम्बिनीको मायादेवी मन्दिरसम्म पुग्ने बाटो सफाइदेखि लिएर ६ सय ५० मिटर सडक पिच गर्न लागिएको छ।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले विकास कोषको चार नम्बर गेटदेखि शान्तिदीपसम्म पुग्ने ६ सय पचास मिटर सडक पिच गर्न लागिएको बताए।
त्यसैगरी, पाँच नम्बर गेटको निमार्णाधीन गेटको काम पनि सम्पन्न गर्ने तयारीमा रहेको योजना प्रमुख भट्टराईले बताए।
महासचिव गुटेरेसलाई चार नम्बर गेटबाट प्रवेश गराएर शान्तिदीप हुँदै मायादेवी मन्दिर लैजाने र पाँच नम्बर गेटबाट बाहिरिने गरी भ्रमणको तालिका रहेको भट्टराईले बताए। तालिका अनुसारको क्षेत्रको सौन्दर्यीकरणको काम भइरहेको छ।