विरासत गुमाएको त्यो पुस्तकालय

विरासत गुमाएको त्यो पुस्तकालय
गोरखाको बड्डाँडामा रहेको जयन्ती पुस्तकालय भवन । तस्बिर : शिव उप्रेती

गोरखा : देवकोटाहरू जुम्लाबाट गोरखा कहिले आए, बड्डाँडा, बोहोरागाउँ र पण्डितगाउँ कहिलेदेखि बस्न थाले भनेर बताउन सक्नेहरू अहिले गाउँमा कोही भेटिँदैनन्। सजीव भए जुम्लाबाट देवकोटासँगै आएका जयन्तीदेवी मन्दिर, जयन्ती पुस्तकालय र सुदर्शन प्राविले बकिदिन्थे। 

गाउँ निर्जन बन्दै गएपछि यी सम्पदाहरू पनि अहिले निर्जीवन छन्, अनि बाँकी छन् केवल अस्थिपञ्जर। कहावतबाट यति चाहिँ थाहा छ, उनीहरू जुम्लाको पण्डितगाउँ र बोहोरागाउँबाट आएका हुन्। यत्ति चाहिँ थाहा छ, त्यहाँ पनि जयन्तीदेवीको मन्दिर थियो। र यो पनि थाहा छ, त्यहाँबाट आउने सबैभन्दा पहिलो व्यक्ति सुदर्शन देवकोटा हुन्।

सुदर्शन देवकोटा नेपालकै प्रथम राजदूत हुन् भनेर गर्व गर्छन्, यहाँका देवकोटाहरू। त्यतिबेला जुम्लाका राजाले गोर्खाली राजाका सामु सन्देश सुनाउन पठाएका सुदर्शन देवकोटा गोर्खाली राजाको सुझावअनुसार जुम्ला नफर्की बड्डाँडाको यही ठाउँमा घरजम गरी बसेका हुन्। उनीपछि बड्डाँडामा आएका जुम्लाका अरू देवकोटाहरूले त्यसकै सम्झनामा यहाँ पनि पण्डित गाउँ र बोहोरा गाउँ नामकरण गरे, नजिकै जयन्तीदेवी मन्दिर थापना गरे, चौतारा चिने, जब शिक्षा, चेतनाको विकास भयो अनि जयन्ती पुस्तकालय, सुदर्शन प्राथमिक विद्यालय पनि खुलाए।

बोहोरागाउँ, पण्डितगाउँमा नामी देवकोटाहरूका दामी घरहरू बने। छिनुले मसिनुसँग चिठेका ढुंगाका दुईतले, तीनतले घर ठड्याए। त्यसबेला बड्डाँडा, पण्डितगाउँ, बोहोरागाउँ गुल्जार थियो। देशले चिनेका राजेश्वर देवकोटा, वाचस्पति देवकोटा, डाक्टर उपेन्द्र देवकोटा, डाक्टर दिनेशचन्द्र देवकोटा यही गाउँले जन्मायो। तब सो गाउँ पण्डित गाउँ भनेर मात्र चिनिएन, घरैपिच्छे डाक्टर, इन्जिनियर जन्मिएर डाक्टर, इन्जिनियरको गाउँ बन्यो। समय त्यस्तै थियो, कसैले जन्माए जयन्ती पुस्तकालय, कसैलाई जन्मायो जयन्ती पुस्तकालयले। 

तर, अहिले न उनीहरू गाउँमा रहे, न रह्यो पुस्तकालय। २०१० सालमा स्थापना भएको हो, यो पुस्तकालय। अहिले यहाँ त्यतिबेला बटुलेका पुस्तकमात्र छन्, त्यतिबेला ठडिएको ‘आलय’ पनि छ, तर पुस्तकालय छैन। ‘जयन्ती पुस्तकालय स्था. २०१०’ भनेर लेखिएको त्यो भवन अहिले झाडीभित्र छ। पुस्तकहरू माकुराको जालोभित्र छन्। 

‘यहाँ विक्रमसम्बत् १९८० देखि भाषा पाठशाला चल्थ्यो। पूर्वमध्यमा र मध्यमा पढाइ हुन्थ्यो त्योभन्दा धेरै पढ्नु प¥यो भने काशी जान्थे भन्ने सुनिन्थ्यो’, निवृत्त शिक्षक प्रदीप देवकोटा भन्छन्, ‘गोरखा, धादिङ, नुवाकोट, तनहुँ, लमजुङदेखि पढ्न आउँथे। संस्कृतमात्र पढाइ हुन्थ्यो। बक्राङका अन्धागुरु गणेश अर्याल पहिलो गुरु हुनुहुन्थ्यो। वुद्धिविलास देवकोटा, राजेश्वर देवकोटाका बुवा हरिभक्त देवकोटा, दुर्गाभक्त देवकोटा, नारायणदत्त देवकोटाले पनि पढाउनु भएको थियो।’ 

एकसूर्य देवकोटाले भाषा पाठशालामा पढाएकाले ‘पाठशाले बा’ भनेर उनलाई बोलाउथे। त्यही ठाउँमा २०१० सालमा पुस्तकालय स्थापना गरिएको हो। राजेश्वर देवकोटाका काका ईश्वरीप्रसाद देवकोटाको नेतृत्वमा पुस्तकालय स्थापना गरिएको यहाँका बासिन्दा बताउँछन्। 

पुस्तकालयसँगै यहाँ ‘गोरखा नाटक समिति’ पनि गठन भएको थियो। ‘ईश्वरीपछि रुद्रप्रसाद देवकोटा, पूर्णचन्द्र देवकोटा, राजेश्वर देवकोटाका भाइ जगदीशचन्द्र देवकोटा, तुलसी न्यौपाने, रेवतीरमण देवकोटा, वुद्धिविलास देवकोटा, भरतमणि देवकोटा, लक्ष्मणमणि देवकोटा, प्रभादेवी देवकोटा (कैनी), उपेन्द्र देवकोटा, रमेशचन्द्र देवकोटाहरूले पुस्तकालय पनि चलाउनु भएको थियो, नाटक पनि गर्नुहुन्थ्यो’, स्थानीय वुद्धिविलास देवकोटा भन्छन्, ‘जब २०१८ सालमा यहाँ सुदर्शन प्राथमिक विद्यालय खुल्यो, यहाँको भाषा पाठशाला त्यसैमा गाभियो।’ २०३० सालमा नयाँ शिक्षा लागू भएपछि सुदर्शन निम्न माध्यमिक विद्यालय गाउँबाट केही पर, माल्तीगैरामा लगेर स्थापना गरिएको उनी बताउँछन्।

त्यतिबेलाको रमाइलोलाई शब्दमा वर्णन गर्न नसकिने अर्की स्थानीय देवकुमारी देवकोटाको भनाइ छ। ‘त्यतिबेला हुनुसम्म रमाइलो थियो’, उनी भन्छिन्, ‘गाउँभरि भरिभराउ मान्छे हुन्थे। काठमाडौंमा बस्नेहरूले नाटक बनाएर ल्याउँथे। गाउँमा नाटक देखाउँथे। जसका घरमा पनि मान्छे मान्छे थिए। अहिले त खै, जसको घर हेरे पनि रित्तो। गाउँ नै रित्तियो। गाउँमै  हिँड्न पनि डरमर्नु छ।’

बाहिरबाट हेर्दा पुस्तकालय जस्तो मात्र देखिन्थ्यो, तर जयन्ती पुस्तकालयले भित्रभित्र सामाजिक चेतनाको लहर ल्याउन ठूलो भूमिका खेलेको थियो। सदरमुकामबाट झन्डै सात कोस टाढा रहेको बोहोरागाउँ, पण्डितगाउँ त्यसै सदरमुकामभन्दा शिक्षित, सभ्य, सचेत र सशक्त भएको होइन, यसलाई नामी बनाउन जयन्ती पुस्तकालयको ठूलो भूमिका थियो। देश, विदेश बस्नेहरूले गाउँमा शैक्षिक, सामाजिक, राजनीतिक जागरण ल्याउन ठूलो मद्दत गर्थे। ‘नाटक’ त्यसकै एउटा माध्यम थियो।

त्यतिबेलै यहाँ टोल सुधार समिति, गाउँ सुधार समिति गठन भएको थियो। नाटक समितिले दसैंका बेला सांस्कृतिक कार्यक्रम र नाटक गथ्र्यो। पुस्तकालय समितिले बेलाबेला भलिबल प्रतियोगिता गथ्र्यो। सरसफाइ अभियान चल्थ्यो। गल्ली, आँगनमा एउटा झार उम्रिन पाउँदैनथ्यो। 
यो क्षेत्रमा कम्प्युटर कतै थिएन, तर जयन्ती पुस्तकालयले कम्प्युटर तालिम दिन्थ्यो। गाउँलेहरू भेला भएर हेर्नका लागि गोरखा फाउन्डेसनले २४ इन्चको टेलिभिजन सौजन्य गरेको थियो। बेलाबेला यस क्षेत्रका समाजसेवी, शिक्षासेवीहरूको तालिम, गोष्ठीहरू पनि जयन्ती पुस्तकालयमा हुने गथ्र्यो। 
‘जयन्ती पुस्तकालय यस क्षेत्रको शिक्षा र चेतनाको ज्योति नै भन्नुपर्छ’, प्रदीप देवकोटा भन्छन्।

तर एउटा यस्तो समय आयो, जयन्ती पुस्तकालयको विरासत बिलायो। बहुदल आएपछि मान्छेका विचारहरू मात्र विभाजित भएनन्, दाजुभाइ खलकका मनहरू विभाजित भए। एउटा घर एउटा पार्टीको, अर्को घर अर्को पार्टीको, वैचारिक द्वन्द्वले आगोपानी पनि बन्द हुने अवस्था आयो। मान्छेहरू विस्तारै आत्माकेन्द्रित हुन थाले।

विदेशमोही र सहरभोगीहरूले आफ्ना परिवार सहरतिरै तान्न थाले। ‘जतिबेलासम्म खरले छाएको घर थियो, मान्छेहरू गाउँमै बस्थे, जब ढुंगाले छाएर दुईतले, तीनतले घर बनाउन थाले, त्यसपछि त एक वर्ष पनि बसेनन्। छोडेर सहरतिर जान थाले’, वुद्धिविलास देवकोटा भन्छन्, ‘अहिले विद्यार्थी नै नभएपछि सुदर्शन निमावि पनि बन्द भयो। अमरज्योति मावि पढ्न जाने पनि कोही पनि छैनन्। पैसाले हो, गाउँ रित्तो बनाएको।’ 
पण्डितगाउँ, बोहोरागाउँलाई जाज्वल्यमान बनाउने जयन्ती पुस्तकालय अहिले निर्जन छ, झाडीभित्र माकुराको जालोले गुटुमुटु भएर थला परेको छ। नयाँ तरिकाले सञ्चालन गरियो भने जगाउन सकिने स्थानीयवासीको विश्वास छ। पहिले पनि पुस्तकालय मात्र थिए, चेतनालय थियो, फेरि पनि यसलाई पुस्तकालय, वाचनालयसँगै साइबर, योगा, सत्संगजस्ता विकल्प दिएर सञ्चालन गर्न सकिने प्रदीप देवकोटाको अपेक्षा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.