शिक्षक हत्याको विरोधमा कलैयामा प्रदर्शन
वीरगन्ज : बाराको कलैयामा सोमबार गोली प्रहार गरी शिक्षकको हत्या भएपछि त्यसको विरोधमा सोमबार साँझ प्रदर्शन भएको छ।
बाराको कलैया उपमहानगरपालिका-६ मदरशा टोलस्थित बाल एकता इंग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफको सोमबार दिउँसो साढे १२ बजेतिर गोली हानी हत्या गरिएको थियो।
सर्राफको हत्याको विरोधमा सोमबार साँझ कलैयाकै भरत चोकमा स्थानीयवासी र शिक्षकहरूले टायर बालेर प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले हत्यारलाई पक्राउ गरी कारबाही गर्, पुलिस प्रशासन मुर्दावाद,शान्ति सुरक्षा कायम गर लगायतका नारा पनि लगाएका छन्।
प्रदर्शनमा सहभागी एन प्याब्सनका मधेस प्रदेश अध्यक्ष नन्दन यादवले सर्राफका हत्यरालाई प्रहरीले तत्काल पक्राउ गरी कारबाही नगरे प्रदेशभरीकै निजी शिक्षण संस्थाहरू बन्द गरेर सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए।
सोमबार दिउँसो १२:३० बजेतिर स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्याक्तिहरूले गोली हानेर फरार भएका थिए।
३५ वर्षीय सर्राफको छाती र पेटमा गरी दुई राउन्ड गोली लागेको थियो। गोली लागेर घाइते भइ ढलेका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशीक अस्पतालमा पुर्याएका थिए।
त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगन्जस्थित नारायणी बयोधा मेडिसटी हस्पिटलमा लगिएको थियो। त्यहीँ उपचारका क्रममा सर्राफको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले बताए।
न्यौपानेका अनुसार सर्राफलाई कसले र किन गोली प्रहार गरेको भन्ने विषयमा केही खुलेको छैन। गोली प्रहार गरेर फरार भएकाहरूको पहिचानपनि खुल्न नसकेको न्यौपानेले बताए। गोली हानेर फरार भएकाहरूको खोजीका लागि भारतसँग सीमा जोडिएका नाकाहरू सिल गरिएको उनले बताए।