मलेसियाविरुद्ध नेपालको दोस्रो सफलता
काठमाडौं : मलेसियाविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि - २० विश्वकप एसिया फाइनल छनोटको दोस्रो खेलमा नेपालले २ विकेट लिएको हो।
सातौं ओभरको अन्तिम बलमा करण केसी र आशिफ शेखले मलेसियाका कप्तान फायज अहमदलाई रन आउट गरेका हुन्। फायजले ४ बलमा ३ रन बनाए। यस अगाडि जुबैदी जुलकिफ्ले १६ बलमा २४ रन बनाएर आउट भएका थिए। उनी अविनाश बोहराको बलमा कुशल मल्लको हातबाट समातिएका हुन्।
अहिले मलेसियाले सात ओभरको समाप्तिमा ६५ रन बनाएर खेलिरहेको छ।
मलेसियाका कप्तान फायज अहमदले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले टस हारेपछि फिल्डिङको निम्तो पाएको हो।
नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहोरा रहेका छन्।
उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको सुखद सुरुवात गरेको घरेलु टोली नेपालले लगातार दोस्रो जित निकाल्ने दाउमा छ।
नेपालले बिहीबार ओमानसँग खेल्नेछ। कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्। फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।