बोक्सीको आरोपमा दलित परिवारमाथि कुटपिट : चारजना घाइते, धामी पक्राउ
गौशाला (महोत्तरी) : महोत्तरीको गौशालामा बोक्सीको आरोपमा कुटपिट हुँदा दलित परिवारका चारजना घाइते भएका छन् । गौशाला नगरपालिका- ११ लक्ष्मिनियाँका राजेन्द्र चमारको घरभित्र पसी कुटपिट गर्दा उनकी श्रीमती एतवरिया देवी,छोरा सुरेन्द्र राम,बुहारीहरु समतोलिया देवी र सुन्दरदेवी घाइते भएका हुन्।
घाइतेहरूको जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीय नथुनी भनिने चन्द्रशेखर यादवको अगुवाइमा घरभित्र पसेका चारजनाको समूहले कुटपिट गर्दा उनीहरु घाइते भएको स्थानीय अजयकुमार कुशवाहाले जनाएका छन्।
एतवरिया देवीले टुनामुना लाएर गाउँघरका बालबालिकाहरू बिरामी परेको भन्दै दिसा खुवाएर गाउँघर घुमाउनुपर्छ भन्दै उनीहरू घरभित्र पसेका थिए। सोही क्रममा स्थानीय सन्तोष यादवले एतवरिया देवीको चुल्टो समाति भुँइमा घिसार्न थालेपछि बचाउन जाँदा आफूमाथि जाइ लागेको पीडित राजेन्द्र चमारले बताए ।
कुटपिटबाट श्रीमती र बुहारीको अवस्था गम्भीर रहेको चमारले बताए। उनले इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएको बताए । कुटपिटमा संलग्न तीनजना फरार रहेका छन्। उनीहरूको खोजि भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै,गौशाला-११ का धामी विनोद पासवानलाई प्रहरी नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर मनोज यादवले जानकारी दिए। उनलाई म्याद थपका लागि महोत्तरी जिल्ला अदालत लगिएको छ।
धामी पासवानले टुनामुना लगाएर बालबालिका बिरामी भएको बताएपछि स्थानीयहरू बोक्सीको आरोप लगाउँदै एतवरियालाई कुटपिट गर्न गएका थिए।