‘देवता मान्छौं, मान्दैनौं कु–संस्कार’

‘देवता मान्छौं, मान्दैनौं कु–संस्कार’
सामाजिक विकृतिविरुद्धको अभियानमा सामूहिक प्रतिबद्धता गर्दै कालीकोटका धामी र पण्डितहरू। तस्बिर : बिस्नप्रसाद न्यौपाने।

वीरेन्द्रनगर : कालिकोटको शुभकालिका गाउँपालिका–३ का तिलबहादुर शाही महावै जगनाथको धामी हुन्। उनी बालविवाह, छुवाछूत, बोक्सीप्रथा, जातीय विभेदलगायतका सामाजिक विकृतिका विरुद्ध बोल्छन्। उनी आफू पनि विभेद गर्दैनन्। विगतमा आफैंले देखेको विभेद र अहिलेको परिवर्तन भएको समाज देख्दा खुसी व्यक्त गर्छन्। उनी भन्छन्, ‘मान्छे–मान्छे बीचमा हुने विभेद कसैका लागि राम्रो नहुने रहेछ। पहिलेका पुर्खाहरूले यो चलन किन बनाए होलान् भनेर चिन्ता लाग्छ। बुझेर पनि नबुझे झैं गरेर विभेद गरिरहने मान्छेहरू मानव नै होइनन्। हामीले पहिलेका सकारात्मक कुराहरूको संरक्षण र गलत संस्कारहरू छोड्दै जानुपर्छ। आखिर परिवर्तन भनेकै यही न हो।’ 

पहिले महिनावारी भएका महिला हिँड्ने बाटोमा धामीझाँक्री र पण्डित हिँड्दैन थिए। ‘अपरिचित गाउँमा जाँदा यो बाटोमा महिनावारी भएका महिला हिँड्छन कि भनेर डर पनि लाग्थ्यो। हामीलाई पनि महिनावारी भएका महिला, दलित समुदायका व्यक्तिले छुँदा र अरुले छोएको पानी खाँदा देवताले अनिष्ट गर्छन् भनेर डर देखाइएको थियो। त्यसैले हामी डराएर परम्परागत कु–संस्कार मान्न बाध्य थियौं। हामीलाई पनि यस्तो विभेद गर्न रहर त थिएन’, शुभकालिका गाउँपालिका–८ का दाहालका धामी रत्नचन्द्र सेजुवालले भने, ‘अब हामीले बुझिसक्यौं। कु–संस्कार नमान्दा झन् देवता खुसी हुने रहेछन्। पवित्र मनले देवता मान्छौं। परम्परागत कुरीतिहरू मान्दैनौं। सबैलाई सम्मान गरेर समाजलाई सव्य बनाउन सहयोग गर्छौं। कसैलाई पनि विभेद गर्दैनौं।’ 

धर्ममा कतै पनि विभेद लेखिएको छैन। तिलागुफा नगरपालिका–७ का पण्डीत कृष्ण न्यौपानेले भने, ‘पहिले बाहुनको संस्कारमा महिनावारी नहुँदै विवाह गरिन्थ्यो। अहिले पो थाहा भयो विवाह त उमेर नपुगी गर्दा स्वास्थ्यमा गम्भीर समस्या हुने रहेछ। विवाह त २० वर्ष पुरा भएपछि मात्र गर्नुपर्ने रहेछ। हाम्रै पालामा धेरै केटाकेटीहरूको विवाह ७ देखि ११ वर्षसम्ममा भएको सम्झना छ। अहिले समाज निकै परिवर्तित र सचेत भएको छ। यस्ता विषयमा लामो बहस आवश्यक पनि छ। तर समाज सचेत भएर पनि केही सामाजिक विकृतिलाई छोड्न सकेको छैन। हामीले त मनैदेखि परम्परागत गलत प्रथा र कुरीति नमान्ने अठोट गरेका छौं। अरुले जे गरे पनि हामी विभेद र कूरीतिविरुद्ध आवाज उठाउँछौं। सामाजिक विकृति मुक्त समाज बनाउनु पर्छ भन्ने मेरो मान्यता हो।’ 

यस्तै खाँडाचक्र नगरपालिकाका स्थानीय मष्टो देवताका धामीहरूले छाउपडी नमान्ने प्रतिबद्धता जनाएका छन्। छाउपडी प्रथाका मुख्य गडका रूपमा मानिने देवताका धामी र गाउँका ठालुहरूले नै छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरे। उनीहरूको एउटै स्वर थियो, ‘देवता मान्छौं, छाउ मान्दैनौं। महिनावारी भएकी छोरी, बुहारीलाई घरमै राख्छौँ। पहिले विभेद गरियो। अब गर्दैनौं।’ खाँडाचक्र नगरपालिका–७ पिलीका धामी हंसबहादुर मल्लले भने, ‘छाउपडी विरुद्धको अभियानमा हाम्रो पनि सक्रिय सहभागिता हुन्छ। छाउपडी प्रथा मान्नु हुँदैन भनेर गाउँमा सचेतना जोगाउँछौं। हाम्रो ठाउँमा देवता मान्ने चलन छ। छाउ मान्ने चलन पहिलेको तुलनामा घट्दै गएको छ। अब पूर्णरूपमा छाउ नबार्ने वातावरण बनाउँछौं।’ 

यस्तै स्थानीय धामी लिला पाण्डेले छाउ नबार्दैमा कसैलाई केही भए आफूले जिम्मा लिने बताए। उनले भने, ‘म आफैं देवताको धामी छु। तर तपाईंंहरू कसैलाई घरमै छाउपडी बसालेकै भरमा देवता लाग्यो भने त्यसको जिम्मेवारी स्वयं म आफैं लिन्छु। घरभित्र महिनावारी भएकी महिलालाई राखेर देवतालाई घण्ट चढाउनु परे, खसी काट्नु परे पनि म कहाँ आउनु होला। तपाइँहरू ढुक्क भएर छाउगोठ भत्काएर घरमै बस्नुहोस्।’ यसअघि गाउँमा परम्परागत सोच र पुरानो रीतिअनुसार चल्ने गर्थे। सबैले छाउगोठ हटाइ सफा कोठामा बस्दा देवता पनि नलाग्ने र महिला पनि सुरक्षित हुने भएकाले गाउँका सबै स्थानीयलाई छाउपडी प्रथा नमान्न सल्लाह दिने गरेको धामी पाण्डेले बताए। 

बालविवाह रोक्न धामी र पण्डित सक्रिय

कर्णालीमा बालविवाह रोक्न देवताका धामी, झाँक्री र विवाह गर्ने पण्डित नै सक्रिय हुन थालेका छन्। पछिल्लो समय स्थानीय सरकार र बालविवाह विरुद्ध अभियान चलाइरहेका गैरसरकारी निकायहरूको सहजीकरणमा बालविवाह रोक्न देवताका धामी र विवाह गरिदिने पण्डित नै सक्रिय हुन थालेका हुन्। कालिकोटको शुभकालिका र तिलागुफा नगरपालिकाका सबै धामी तथा पण्डितहरूले बालविवाहविरुद्ध एक्येबद्धता जनाउँदै विवाह गर्दा दुलाह र दुलहीको जन्मदर्ता अनिवार्य माग्ने र २० वर्षभन्दा बढी उमेरका दुलाहा दुलहीको मात्र विवाह लगन दिने प्रतिबद्धता जनाए। धामी तथा पण्डितहरूले भने, ‘बालविवाह कोही कसैले गर्ने र गराउने छैनौं, २० वर्ष नपुगेकालाई लगन दिने छैनौं, लगन माग्न आउनेलाई दुलाहा र दुलहीको जन्मदर्ता माग्नेछौं, बालविवाह विरुद्धको अभियानको नेतृत्व धामी झाँक्री र पण्डितहरूले नै गर्नेछौं र कसैले बालविवाह गर्न लागे सम्बन्धित ठाउँमा जानकारी गराउनेछौं।’ 

शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले बालविवाह, छाउपडी प्रथा, घरेलु हिंसा जस्ता सामाजिक विकृति मुक्त गाउँपालिका बनाउने अभियानमा धाँमी, झाँक्री र पण्डितहरूको साथले उत्साह थपिएको बताए। उनले भने, ‘हामी हिंसा र विभेदमुक्त समाज बनाउने अभियानमा छौं। यो अभियानलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेका छौं। गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले सामाजिक विकृतिहरूका कारण महिला, दलित, बालबालिका जस्ता लक्षित समूहहरूले समस्या भोग्नु परेको बताउँदै यसकाविरुद्ध कडा रूपमा लाग्ने बताइन्। 

उनले भनिन्, ‘हामीले सुरुवातमा सबैलाई सचेतना जोगाउँछौं। सबै पक्षहरूसँग छलफल गरेर बालविवाह, छाउपडी प्रथा, बहुविवाह, लैंगिक हिंसा जस्ता सामाजिक विकृति विरुद्धको अभियान थाल्छौं। तर सचेत बनाउँदा बनाउँदै पनि कसैले हिंसा र विभेद गरे कडा रूपमा कानुनी कारबाही गर्ने व्यवस्था मिलाउँछौं। 

यस्तै तिलागुफामा पण्डित्याइँको काम गर्ने सबै पण्डितहरूले विवाहको लगन दिँदा जन्मदर्ता माग्न थालेका छन्। उमेर नपुगेको छोराछोरीको विवाह गर्ने अभिभावकहरूलाई उमेर पुगेपछि मात्र लगन हेराउन आउन उनीहरूले सुझाव दिन थालेका छन्। तिलागुफा नगरपालिका–५ का पण्डित मणिप्रसाद उपाध्यायले भने, ‘बालविवाह कानुनी र सामाजिक अपराध भएकाले हामी त्यसलाई अन्त्य गर्न लागिरहेका छौं। सरकार, स्थानीय नागरिक, हामी पण्डित र धामीहरू सबैले एकमत बनाउँदा बालविवाह निकै कम भएको छ। पहिले हामीलाई पनि बालविवाह हुँदाका जोखिम र कानुनी पाटोको विषयमा थाहा थिएन। जहिले विवाह गर्दा पनि शुभ कार्यका रूपमा लिन्थ्यौँ। तर अहिले बालविवाहलाई शुभ कार्यका रूपमा हामी मान्दैनौं। त्यस कारण उमेर नपुगेका दुलाहा दुलहीहरूको विवाह पनि हामी गर्दैनौं।’ 

पण्डितहरूसँगै तिलागुफाका मष्टो देतवाका धामीहरू पनि बालविवाह रोक्न लागि परेका छन्। तिलागूफाका धामीका अगुवा टेकबहादुर शाहीले भने, ‘उमेर नपुगेका कुनै पनि दुलहादुलहीलाई हामी लगन दिँदैनौं। गाउँमा विवाहका लागि मानिस प्रायः पण्डित र केहीले देवताको धमेलो हालेर विवाहको लगन माग्ने प्रचलन छ। ती दुईवटा उपाय गरेर लगन नमागी विवाह नै हुँदैन। त्यसका लागि हामी ८५ जना धामी र २६ जना पण्डित गरेर १ सय ११ जना छौं। सबैले उमेर नपुगेका दुलाहा र दुलहीको विवाह नगर्ने सहमती गरिसकेका छौं। हामीले लगन नदिएर बालविवाहको भोज नखाने हो भने कोही कसैले पनि बालविवाह गर्ने आँट गर्दैनन्।’

गाउँका न्यायाधीश देवी देवता

कर्णाली मष्टो देवताहरूको आधारइलाका नै हो। यहाँ १२ भाइ मष्टाका मन्दिरहरू छन्। यहाँ मष्टो धलपुरो, दाडे मष्टो, कामल्या मष्टो, सिमष्टो, खोदाई मष्टो, बज्यूमष्टो, कालासिल्लो, रमालमष्टो लगायतका १२ वटा मष्टोहरू छन्। वर्षभरिमा माघ पूर्णिमा, जेठ पूर्णिमा, साउन पूर्णिमा र दसैंको समयमा जुहारे पैठ गरी चारपटक भव्य पाठपूजाका साथै मेलाहरू लाग्ने गरेको छ। यहाँ गएर स्वच्छ मनले गरेको भाकल पूरा हुने धार्र्मिक विश्वास अहिले पनि कायमै छ। गाउँमा अन्यायमा परेकाहरूले देवताको भाकल गर्दा न्याय पाउने पनि विश्वास छ। 

जिल्लाको ग्रामीण समुदायका नागरिकहरूका स्थानीय देवी देवता नै न्यायाधीश हुने गरेका छन्। कानुनको पहुँचमा सहजै नपुग्ने स्थानीय विपन्न नागरिकहरूका लागि न्याय दिने माध्यम नै देवता हुने गरेका छन्। स्थानीय नागरिकले जग्गा सम्बन्धी विवाद, आर्थिक लेनदेन, चोरी ठगीका घटना, बिरामी पर्दा तथा घरायसी झै झगडाहरूमा देवताका धामीलाई बसालेर न्याय माग्ने गरेका हुन्। देवी देवताको पूजाले दुखी बिरामी निको हुने, भुत लागेको छोड्ने, पारिवारिक सुख शान्तिका साथै खेतमा राम्रो बाली पनि हुने विश्वास रहेको खाँडाचक्र नगरपालिका–३ का मष्टो धलपुराका गुठीयार धनप्रसाद पाण्डेले बताए। उनले भने, ‘पहिले कुनै नयाँ कामको सुरुवात गर्दा देवी देवताको भरोषामा गरिन्थ्यो।’ 

मष्टो धलपुरो खसानहरूको मुल देवता हो। खस आर्यहरू जहाँ भए पनि मष्टो धलपुरो नमान्ने कोही छैनन्। खसहरूको परम्परा नै मष्टो धलपुरो देवतासँग जोडिएको छ। कर्णाली खस राज्य भएकाले कर्णालीमा मष्टो देवता प्रायः सबैले मान्ने गर्छन्। उनले भने, ‘मष्टो धलपुरो पूजाको समयमा एकादशीका दिनदेखि ब्रत बसेर स्वच्छ मनले जे माग्यो त्यही पाइन्छ। जे सोच्यो त्यही पुग्छ।’ स्थानीय पे्रमबहादुर शाहीले देवीदेवताको विश्वासले नै हरेक देवताको पैठमा खुटो धजा, फूल चामल लिएर आउने गरेको बताए। 

अस्पताल जान सुझाव दिन्छन् धामी

कालिकोटको पलाँता गाउँपालिका–१ पुलाँहा निवासी गोरख बुढा स्थानीय मष्टो देवताका मुख्य धामी हुन्। गाउँका सबै स्थानीयहरू सामान्य रुघाखोकीदेखि अन्य रोगहरू लाग्दा उनीसँगै झारफुक गर्न आउने गर्थे। गाउँमा स्वास्थ्य सेवाको पहुँच नभएपछि स्थानीय नागरिक देवताका धामीलाई नै डाक्टर मान्न बाध्य थिए। उनी पनि विगत लामो समयदेखि गाउँलेका डाक्टरको रूपमा काम गर्दै आएका छन्। अहिले पनि कतिपय स्थानीय नागरिक बिरामी हुँदा पहिले उनीकहाँ नै जाने गर्छन्। धामी बुढा बिरामी हुँदा आफू कहिले पनि अस्पताल जाँदैन थिए। तर अहिले त्यस्तो छैन। उनी आफैं बिरामी हुँदा अस्पताल जान थालेका छन्। 

देवता भाके बिराम पनि निको हुन्छ भन्ने कुरा उनी धामी नहुँदा पनि विश्वास गर्थे र धामी भइसकेपछि पनि विश्वास गर्दै आएका थिए। तर अहिले गाउँलेहरू बिरामी भएपछि आफूसँग झारफुकका लागि आउँदा उनी धामी काँप्दै भन्छन्, ‘सन्चो भएपछि भयो। भएन भने अस्पताल जानु।’ पचालझरना गाउँपालिका ८ स्थित बजैमष्टाका धामी नयरुप सन्ज्यालले भने, ‘विगतमा बिरामीहरूलाई आफूसँग आएपछि धामी काँपेर दोखालो देखाउथ्यौँ। अहिले हामी अस्पताल देखाउँछौं। अहिले सन्चो भए भयो नत्र उपचारका लागि अस्पताल जानु भनेर सल्लाह दिन्छु।’ 

उनी मात्र होइन, अहिले धेरैजसो धामीहरू उपचारका लागि अस्पताल आउन थालेका छन्। थिर्पुमा उपचारकै लागि आएका बाजुरा गोत्रीका कालिका माईका पुजारी नरेन्द्रबहादुर शाहीले भने, ‘धेरैलाई धामी काँपेरै निको पारियो। तर आफूलाई निको पार्न सकिएन। आँखा नदेख्ने र शरीर दुख्ने समस्या अस्पताल पुगेर उपचार गराएपछि मात्र निको भयो। उनले भने, ‘विगतमा महिनावारी भएका महिलाहरू जान्छन् भनेर अस्पताल नजाने गथ्र्यौं। तर अहिले जान थालियो। अस्पताल जाँदा कुनै समस्या पनि भएको छैन।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.