अस्पताल जान सुझाव दिन्छन् धामी
कालिकोटको पलाँता गाउँपालिका–१ पुलाँहा निवासी गोरख बुढा स्थानीय मष्टो देवताका मुख्य धामी हुन्। गाउँका सबै स्थानीयहरू सामान्य रुघाखोकीदेखि अन्य रोगहरू लाग्दा उनीसँगै झारफुक गर्न आउने गर्थे। गाउँमा स्वास्थ्य सेवाको पहुँच नभएपछि स्थानीय नागरिक देवताका धामीलाई नै डाक्टर मान्न बाध्य थिए। उनी पनि विगत लामो समयदेखि गाउँलेका डाक्टरको रूपमा काम गर्दै आएका छन्। अहिले पनि कतिपय स्थानीय नागरिक बिरामी हुँदा पहिले उनीकहाँ नै जाने गर्छन्। धामी बुढा बिरामी हुँदा आफू कहिले पनि अस्पताल जाँदैन थिए। तर अहिले त्यस्तो छैन। उनी आफैं बिरामी हुँदा अस्पताल जान थालेका छन्।
देवता भाके बिराम पनि निको हुन्छ भन्ने कुरा उनी धामी नहुँदा पनि विश्वास गर्थे र धामी भइसकेपछि पनि विश्वास गर्दै आएका थिए। तर अहिले गाउँलेहरू बिरामी भएपछि आफूसँग झारफुकका लागि आउँदा उनी धामी काँप्दै भन्छन्, ‘सन्चो भएपछि भयो। भएन भने अस्पताल जानु।’ पचालझरना गाउँपालिका ८ स्थित बजैमष्टाका धामी नयरुप सन्ज्यालले भने, ‘विगतमा बिरामीहरूलाई आफूसँग आएपछि धामी काँपेर दोखालो देखाउथ्यौँ। अहिले हामी अस्पताल देखाउँछौं। अहिले सन्चो भए भयो नत्र उपचारका लागि अस्पताल जानु भनेर सल्लाह दिन्छु।’
उनी मात्र होइन, अहिले धेरैजसो धामीहरू उपचारका लागि अस्पताल आउन थालेका छन्। थिर्पुमा उपचारकै लागि आएका बाजुरा गोत्रीका कालिका माईका पुजारी नरेन्द्रबहादुर शाहीले भने, ‘धेरैलाई धामी काँपेरै निको पारियो। तर आफूलाई निको पार्न सकिएन। आँखा नदेख्ने र शरीर दुख्ने समस्या अस्पताल पुगेर उपचार गराएपछि मात्र निको भयो। उनले भने, ‘विगतमा महिनावारी भएका महिलाहरू जान्छन् भनेर अस्पताल नजाने गथ्र्यौं। तर अहिले जान थालियो। अस्पताल जाँदा कुनै समस्या पनि भएको छैन।’