काठमाडौं : आईसीसी टि - २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेलमा नेपालले छैटौं विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सन्दीप लामिछानेले ओमानको छैटौं विकेट लिएका हुन्।
पूर्वकप्तान लामिछानेले एउटै ओभरमा दुई विकेट लिएका हुन्। लामिछानेले १३.२ ओभरको खेलमा मेहरन खान र १३.१ ओभरमा आयन खानलाई आउट गराएका थिए। आयन २५ बलमा १८ रन बनाएर आउट भएका हुन्। अहिले ओमान ६ विकेटको क्षतिमा ९८ रनमा खेलिरहेको छ।
यस अगाडि नेपालका लागि सोमपाल कामीले ५.४ ओभरको खेलमा शोएब खानलाई आउट गराए। उनी ओमानका लागि शून्य रन बनाएर आउट भए। कामीको यो व्यक्तिगत दोस्रो विकेट हो। यस अगाडि उनले ३.१ ओभरको खेलमा अकिब इलियासलाई आउट गराएका थिए। उनले ६ बलमा २ रन मात्र बनाउन सके।
यस अगाडि गुल्सन झाले ४.६ ओभरको खेलमा प्रतिक अथावलेलाई आउट गराएका छन्। झाको बलमा प्रतिकलाई कप्तान रोहित पौडेलले क्याच आउट गराएका हुन्। उनले १८ बलमा २४ रन बनाउन सके।
यसैगरी करण केसीले पहिलो ओभरमै पहिलो विकेट लिएका थिए। केसीले कश्यप प्रजापतीलाई आउट गरेका हुन्। केसीको बलमा आशिफ शेखले क्याट आउट गराएका हुन्। प्रजापतीले ५ बलमा ८ रन बनाएर वेलियनमा फर्किए।
कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्। समूह एका विजेताले समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ।
फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।