प्रिय पिर !

मनोविज्ञान

प्रिय पिर !

जसरी समस्याबाट भागेर समाधान हुँदैन, त्यसरी नै पिर चिन्ताबाट मुक्ति पाउन आइपर्ने समस्यालाई समाधान गर्नुको विकल्प छैन।

‘घरमा हुँदा वनको पिर, वनमा जाँदा घरको पिर अनि जीवन कहाँ हुन्छ थीर !’ यो भनाइ यत्तिकै चर्चित भएको अवश्य होइन। हुन पनि धेरै मानिस वर्तमानमा बाँच्दैनन्। कसैलाई भूत त कसैलाई भविष्यले सताइरहेकै हुन्छ। यसरी न गरेको काममा सफलता मिल्छ, न त खुसी नै।

भर्खरै सामाजिक सञ्जालमा भाइरल भएको पूर्वमन्त्री रामकुमारी झाँक्रीले काठमाडौंमा सम्पन्न गैरआवसीय नेपालीको सम्मेलनमा व्यक्त गरेको भनाइले पनि यसै कुराको पुष्टि गर्छ। उनले भनेजस्तो नेपाली देशमा बस्दा कसरी विदेश जाने भनेर चिन्ता गर्छन् अनि बिदेसिएपछि बिहान सबेरै आँखाको चिप्रा पनि राम्ररी सफा नै नगरी देशको चिन्ता गर्न सामाजिक मिडियामा हतारिन्छन्। हुन पनि आफ्नो राहदानीमा विदेशको भिसा लाग्दा खुसीयाली मनाउन उत्सव गर्नेहरू बिदेसिएलगत्तै उज्ज्वल भविष्यको आशासँगै परिवार अनि देशको पिरचिन्ताको भारी बोकेरै गएका हुन्छन्।

स–साना कुरामा खुसी हुनेहरू पनि आजकल विचलित भएको पाइन्छ। इन्टरनेटको सहज पहुँचसँगै संसारै आफ्नो मोबाइलमा हेर्न पाउँदा चाहिने, नचाहिने धेरै कुरा सिकेर पनि होला, मानिसहरूको असन्तुष्टी झनै चुलिएको छ। पहिले पहिलेभन्दा मानिसहरू देशविदेश बढी घुमेर धेरै कुरा प्रत्यक्ष देखेर, भोगेर आफू र आफ्नो देशलाई अरूसँग तुलना गरेर पनि होला, यो पिर, चिन्ता समयसँगै झन्झन् बढेर गएको छ। मर्दा पर्दा काम लाग्ने नजिकैको साथीभाइ अनि छिमेकीसँग त ईष्र्या र डाह गरी अनावश्यक पिर चिन्ता बढाउन मानिस खप्पिस हुन्छन्। यही बानीले गर्दा होला छिमेकी मुलुक चीन, भारतलगायत सात समुन्द्र पारी संसारकै शक्तिशाली विकसित देशहरू जापान, अमेरिका, बेलायतसँग तुलना गरेर नेताहरूलाई सधैं गाली गर्छन्। गाली नगरी संसारको जुनसुकै कुनामा बसे पनि नेपालीहरूको दिनचर्या सुरु नै नहुने भइसकेको छ।

मानिसहरू जुन काम गरिरहेका हुन्छन्, त्यसमा पूरै ध्यान दिएर गर्दैनन् र धेरैतिर हात हाल्नाले कुनै पनि विषयमा पारंगत पनि हुन सक्दैनन्। विकसित मुलुकका मानिसहरू एकपटकमा एउटा मात्र काम राम्रोसँग गर्ने गर्छन्, अहिले आफैंले प्रत्यक्ष अनुभव गर्दा पनि त्यस्तै पाउन सकिन्छ र उनीहरू सफल अनि समृद्ध पनि छन्। पिर गरेरमात्रै हुने भने भए नेपालीले जस्तो भविष्यको पिर कसैले गर्लान् र यो संसारमा ?

मानिसहरू आफ्नो जीवन वा पुस्ताको मात्रै पिर नगरी सात पुस्तासम्मलाई पुग्ने धन सम्पत्ति थुपार्न उद्यत् छन्। सन्तान, दरसन्तानहरूको समेत पिर गरेर आफूलाई सधैं दुःखैदुःखको भँुमरीमा पार्दै मानिस सन्ततिको समेत भविष्य बिगार्छन्। सन्तानलाई राम्रो शिक्षा, स्वास्थ्य र संस्कार मात्रै दिने हो भने उसले भविष्य आफैं सुन्दर बनाउन सक्छ भन्ने हेक्का कमैले राख्छन् र सोहीअनुसार व्यवहार गर्छन्। कसैलाई के को पिर, कसैलाई के को पिर, घरज्वाईंलाई खानकै पिर भन्ने प्रचलन परापूर्वकालदेखि चलिआएझंै जीवन जिउने कला नजान्दा, कालले बरु छोड्ला यो पिर भन्ने चिजले मानिसलाई छोड्ने देखिन्न।

मात्रा मात्र थोरै धेरै होला तर साँच्चिकै पिर चिन्ता नभएको मानिस यो संसारमा पाउन मुस्किल छ। बुझ्दै जाँदा जहाँ समस्या त्यहाँ पिर चिन्ता हुन्छ र समस्या अनि आशाबिनाको जीवन कसैको पाइन्न। मान्छे जब यो धर्तीमा आउँछन्, तब समस्या पनि सँगै लिएर आउँछन् भने झैं जब जीवन सुरु अनि पिर सुरु। त्यसैले हजारौं वर्षपहिले नै भगवान् बुद्धले जीवनलाई दुःख, पिरबाट कसरी मुक्त गर्न सकिन्छ भनेर अर्ती उपदेश दिएकै हुन्। त्यसो त बुद्धको उपदेश पाएर पनि मानिस यसबाट मुक्त हुन भने सकिरहेका छैनन्। हुट्टिट्याउँ आफैंले आकाश धानेको माने जस्तो यो सांसारिक मोहमा मानिस यति फस्दैछन् कि सारा कुराको पिर चिन्ता लिइरहेका छन्।

सामान्यतया डाक्टरले आफ्ना बिरामीलाई उपचार गर्दा औषधि लेख्ने क्रममा धेरै चिन्ता नलिनुस् भन्ने गरेको पाइन्छ। यो पिर चिन्ता लिने क्षमता पनि व्यक्तिव्यक्तिअनुसार फरकफरक हुने हुनाले मानिस सम्हालिन नसकेर सामान्यदेखि कडा खालका कैयौंमा मानसिक समस्या देखिन्छन्। जीवनमा आइपर्ने लाखौं, करोडौं समस्यालाई समाधान गर्ने क्षमता एउटै व्यक्ति वा परिवारमा हुँदैन। अर्कोतिर बेलाबेलामा आइपर्ने प्राकृतिक विपत्ति, भूकम्प, पृथ्वीको तापक्रममा भइरहेको वृद्धि, नयाँ–पुराना रोगहरू, आतंकवाद, भोकमरी, युद्धजस्ता कैयन समस्या संसारै मिले पनि समाधान गर्न नसकिरहेको उदाहरण छन्। व्यक्तिगतदेखि परिवार, समाज, देश र पूरै विश्वकै लागि आइपर्ने समस्या र त्यसले ल्याउने पिर, चिन्तालाई हेर्ने हो भने निकै भयावह छ। हुन त पिर, चिन्ता पनि धेरै किसिमका वा आकारका हुन्छन्। कुनै व्यक्तिगत तवरमै समाधान गर्न सकिने त कुनै पारिवारिक र सामाजिक, कुनै देश तथा कुनै कुनै त सारा विश्व नै लाग्नुपर्ने देखिन्छ।

मानिस स्वभावले नै विकासप्रेमी हो तर पनि विकाससँगै विनाश पनि भइरहेकै हुन्छ। संसारभर नै प्रकृतिको दोहन गरिरहेको विकासले आउने सन्ततिमाथि थुप्रै किसिमका संकट आउन सक्ने पिर, चिन्ता सबैलाई छ। प्रविधिको विकाससँगै कृत्रिम व्यक्तित्व, च्याट जीपीटी र समग्र डिजिटल संसारको विकासले मानिसको दिनचर्या सजिलो हुँदै गएको छ। तर पनि यसले निम्त्याएका समस्याहरूबारे सर्वत्र चर्चा चलिरहेकै छ। पानीकै लागि तेस्रो विश्वयुद्ध चाँडै हुँदैछ भन्ने चर्चा पनि सुरु भइसकेको छ भने अर्कोतर्फ डिजिटल संसारले राम्रै फड्को मारिरहेको छ। त्यसैले अहिलेको समयमा अब हुने युद्ध भनेको सूचना र तथ्यांकका लागि हुन्छ भन्नेहरू पनि छन्। पिर, चिन्ता पनि के के को पो गर्नु ? चुप लागेर केही नगरी बस्न पनि सजिलो छैन। गरे नि चिन्ता, नगरे पनि चिन्ता, भए पनि पिर नभए पनि पिर, खाए पनि पिर नखाए पनि पिर, यो पिर चिन्ताले कसैलाई पनि छोड्ने देखिन्न।

गरिबलाई के खाउँ के लाउँ भन्ने चिन्ता, धनीलाई भएको सम्पत्ति बचाउनदेखि अझै धेरै धन सम्पत्ति थुपार्नुपर्ने चिन्ता, निरोगीलाई रोगी भइन्छ भन्ने चिन्ता, रोगीलाई कसरी निरोगी हुने चिन्ता। साँच्चिकै भन्ने हो भने यो पिर चिन्ता भन्ने चिज मानिसको छायाँ नै हो, जसले पानीमुनि गए पनि छोड्दैन। गीताको उपदेशमा मानिस जन्मँदा नि नांगै मर्दा नि नांगै। किन गर्नु चिन्ता ? भने पनि संसारका जीवित सबैले धेरै थोरै चिन्ता गरेकै हुन्छन्। सांसारिक मायाजालबाट मुक्त भएका वा भई टोपलेका जोगी, योगी, ज्ञानी तथा विभिन्न धार्मिक गुरुलाई पनि चिन्ताले सताएकै हुन्छ।

सबै भनेजस्तै भएकै छ। केलाई लिनु चिन्ता ? भने पनि त्यो क्षणिक मात्रै हो भन्ने बुझ्न गाह्रो छैन। अझ अचम्म त के भने मानिसहरूलाई लिन मन नलागे पनि लिनै पर्ने चिजमा पिर चिन्ता पर्दो रहेछ। यदि कसैले म त पिर चिन्ता लिँदिनँ भन्छ भने आफैंलाई ढाँटेको हो भन्न सकिन्छ। किनकि यो कसैले चाहेर वा नचाहेर पनि सबैले धेरै थोरै लिनै पर्ने वा लिइराख्ने चिज हो। समाज, देश र सारा ब्रह्माण्डकै चिन्ता लिने धेरै छन्। अरूको के चिन्ता लिनु र ? भनेर शान्त भए पनि आफ्नै शारीरिक र मानसिक पिर चिन्ता त अवश्य आफैंले नै लिनुपर्ने बाध्यता हुँदो रहेछ। आफ्नो क्षमताले नभ्याएर वा नसकेर ठूला पिर चिन्ताहरूलाई समयलाई छोडी दिए पनि अन्य किसिमका पिर चिन्ता त आफैंले लिनै पर्ने बाध्यता छँदैछ। भगवान् गौतम बुद्ध पनि संसारकै पिर, चिन्तालाई हटाउन पर्‍यो भनेर चिन्तित भई दरबार छाडेर गएकै हुन्। जिजस क्राइस्ट पनि संसारको पाप नष्ट गर्न सबैको चिन्ता भगाउन आफैं क्रसमा झुन्डिएर शरीर त्याग गरेको भनिन्छ। भगवान् राम र कृष्णले पनि रावण र कंशलाई मारेर संसारलाई राक्षसको चिन्ता र पिरबाट मुक्त गरी धर्मको रक्षा गर्न त्यत्रो लडाइँ लडेका थिए रे। विभिन्न धर्मका भगवान्ले मानिसका लागि विभिन्न कालखण्डमा जस्तोसुकै पराक्रम गरे पनि यो पिरचिन्ताले मानिसलाई छोडेको छैन।

बर्मा गए पनि कर्मसँगै भने जस्तै भविष्य सुन्दर बनाउन संसारको कुनै पनि कुनामा गए पनि पिर र चिन्ता पनि मानिसको छायाँ र श्वासजस्तै जीवन रहेसम्म मानिसले सँगसँगै बोकेरै हिँड्नुपर्ने चिज रहेछ भन्दा फरक नपर्ला। भएको समस्या र घटनाको कुरै छोडौं। मानिस धेरै त हुँदै नहुने वा हुनै नसक्ने कुराहरूलाई सोचविचार गरेर होला कि भनेर पनि चिन्तामाथि चिन्ता थपिरहेका हुन्छन् र पिर, चिन्ताले कहिल्यै नछोड्ने देखिन्छ।

आत्मविश्वासको कमी भएका मानिसहरू नै फाइदा होला कि भनेर नै अरूको आशा गर्छन्। मानिसको मनलाई खुसी नबनाई मनको इच्छा पूा नगरी पिर चिन्ता नहट्ने हुनाले होला, मानिस मनोकामना पूरा हुने भनेर परापूर्वकालदेखि नै विभिन्न देवीदेवताको पूजाआजा गर्दै आएका हुन्। बिजुली र आवाजको गतिभन्दा तेज मनलाई शान्त पार्न मनुष्यको वशमा नभएरै होला, पूर्वजले बेलैमा भगवान्लाई जिम्मा लगाइदिएका होलान्। तेत्तिस कोटी भगवान्ले तीन कोटी नेपालीको मनलाई शान्त पार्न वा मनको इच्छा पूरा गर्न नसकिरहेको अवस्थामा संसारकै अर्बांै मानिसको मनोकांक्षा पूरा गरी पिर चिन्ता हटाउने कुरा यथार्थमा सम्भव हुने कुरा पनि होइन। आफैंले कर्म नगरी केही हुनेवाला छैन क्यारे ! भने झैं यथार्थमा आफैंले गरेको कर्मले नै मानिसको अलि–अलि भए पनि मनको इच्छा पुरा हुने हो। भाग्यमा छ भनेर डोकोमा दूध दोएर अड्छ र ? भन्ने भनाइलाई मनन् गर्ने हो भने कर्म नै मनुष्यको धर्म हो भन्न सकिन्छ। राम्रो कर्म गर्दा जीवनमा आइपर्ने अनेकौं समस्या समाधान हुँदै जान्छन्। हरेक समस्याको समाधान हुन्छ भने जस्तै यो पिर, चिन्ताको पनि समाधान सजिलै भेटिन्छ। समस्यासँगै सुरु हुने पिर चिन्तालाई समाधानसँगै हटाउन पनि सकिन्छ। जीवन रहेसम्म समस्याहरू जसरी आउँछन् समाधानको बाटो खोजेर त्यसलाई हल गर्दै जानु नै पिर चिन्ताबाट मुक्त हुनुको उत्तम उपाय हो।

हुन त संसार नै विश्वासमा चलेको छ, मानिसहरू जे विश्वास गर्छन् भविष्य पनि त्यस्तै हुन्छ। मानिसमा भएको असीमित बुद्धिविवेक प्रयोग गरेर आफ्नो कर्ममा मात्र विश्वास गरी अघि बढ्ने हो भने धेरैको मनको इच्छा पूरा भई खुसी हुन सकिन्छ अनि पिर चिन्तालाई भगाउन सकिन्छ। आफ्नो बलबुताले भ्याएसम्म, नभए अरूको सहयोग लिएर भए पनि अगाडि आएको समस्याहरूलाई समाधान गर्नुपर्छ। यसरी जीवनलाई अगाडि बढाउनुमा नै पिर चिन्ताबाट मुक्त हुने उचित र भरपर्दो उत्तर छ भन्न सकिन्छ।

जसरी समस्याबाट भागेर समाधान हुँदैन, त्यसरी नै पिर चिन्ताबाट मुक्ति पाउन आइपर्ने समस्यालाई समाधान गर्नुको विकल्प छैन। पिर चिन्ताबाट मुक्त हुनु भनेको खुसी हुनु हो जुन क्षणिक हुन्छ भन्ने बुझ्नु जरुरी छ। मानिस खुसी हुने एक सय एक उपाय छन्, जसलाई अपनाउँदा क्षणिक रूपमा भए पनि पिर चिन्ताबाट मुक्त हुन्छन्। खुसी हुने सबैभन्दा सजिलो र सस्तो एकमात्र उपाय भनेको मानिसको आफ्नै सोच हो। त्यसैले जहाँजहाँ जजसले जे जे गरे पनि जबसम्म मानिस आफैं खुसी भएको सोच्दैन, तबसम्म खुसी हुन सक्दैन। बजारमा व्यापारीले खुसी भन्ने चिज बेचेको पाइँदैन। त्यसैले खुसी बाहिर अन्त कतै खोजेर नपाइने हुनाले आफूखुसी भएको आजैबाट सोचौं, खुसी होऔं अनि पिर चिन्ता भगाऔं।

अनावश्यक पिर चिन्ता स्वास्थ्यका लागि हानिकारक भए पनि केही आवश्यक पिर चिन्ताले जीवनमा अन्ततः प्रगति, खुसी र सन्तुष्टि नै दिन्छ। आवश्यक चिन्ता नलिँदा मानिस साह्रै लापरबाह हुन्छन्। कुनै पनि तयारी गर्दैनन् र फलस्वरूप आँटेको काम पूरा हुँदैन। भविष्यप्रति चिन्तित नहुने हो भने मानव जाति अझै पनि ढुंगेयुग वा जंगली युगमै हुन्थ्यो होला। मानव समाजको विकासक्रम नै रोकिन्थ्यो सायद। कुनै पनि कुरामा असफल भइन्छ कि भन्ने पिरले नै वास्तवमा मानिसलाई राम्ररी तयारी गर्न उत्प्रेरित गर्दछ।

औषधि पनि धेरै भए विष हुन्छ भने जस्तै भए, नभएको अधिक अनावश्यक पिर चिन्ता विषसमान भए पनि आवश्यक चिन्तामा औषधीय गुण हुन्छ। आवश्यक चिन्ताले जीवनको हरेक समस्यालाई समाधान गरी अघि बढ्न ऊर्जा दिन्छ। मानिसहरू अक्सर राजनीतिक नेताहरूलाई देशको चिन्ता नलिएको भनेर गाली गर्ने गर्छन्। जुन जोगी आए पनि कानै चिरेको भन्ने भनाइ यति बिघ्न चर्चित हुनुमा यी राजनीतिक नेताहरूले देशको चिन्ता साँच्चिकै नलिएकै भएर पनि हो। देश बनाउने भनेर हिँडेका यी नेताहरूले अलिकति पनि पिर चिन्ता लिएका भए व्यवस्थासँगै जनताको अवस्था पनि अवश्य परिवर्तन हुने थियो।

असल अभिभावकहरूले परिवारको उज्ज्वल भविष्यको चिन्ता लिएरै सन्तानको शिक्षा र स्वास्थ्यमा राम्रो लगानी गर्छन्। कुशल व्यापारीहरूले आफ्नो व्यवसायको प्रगतिको लागि चिन्तित भएरै मेहनत गर्छन्। त्यसरी नै कुशल शासक वा नेताहरूले पनि देशलाई विकसित र समृद्ध बनाउन अनि जनताको मनमा राज गर्न आवश्यक चिन्ता लिनैपर्ने देखिन्छ। अरूले खाएर आफ्नो भोक मेटिँदैन भने झैं आफ्नो पिर, चिन्ता आफैंले लिने हो। यसर्थ आजैबाट पिर चिन्ता लिन सुरु गरौं किनकि आवश्यक पिर चिन्ता लिनु राम्रै हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.