प्रथम वीरगन्ज गोल्डकप फुटबलमा आयोजक वीरगन्जको विजयी सुरुवात
वीरगन्ज : प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगितामा आयोजक भेट्रान सिटी क्लब वीरगन्जले विजयी सुरुवात गरेको छ।
शनिबारदेखि आदर्शनगर रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा भारत दिल्लीको गढ्वाल डायमण्ड एफसीलाई टाइबेकरमा ३-१ले पराजित गर्दै आयोजक वीरगन्जले विजयी सुरुवात गरेको हो। जितसँगै वीरगन्ज सेमिफाइनलमा पनि प्रवेश गरेको छ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेलको अन्तिम निर्णय टाइबेकरबाट गरिएको थियो। टाइबेकरमा दिल्लीका गोलरक्षक हर्षित बिष्टले वीरगन्जका तर्फबाट पहिलो प्रहार गरेका कप्तान कृष्ण शाक्यको प्रहारलाई रोक्दै गोल हुनबाट बचाए पनि त्यसपछिका वीरगन्जका जनक कार्की, सुसन थापा र नवीन लामाको प्रहार भने सहजै गोलमा परिणत भएको थियो।
उता टाइबेकरमा दिल्लीका लागि अजय बिष्ट मात्र गोल गर्न सफल भए। सुमित कदयानको प्रहार गोल पोष्ट बाहिर गयो भने संकल्प सिंह र अन्जुल परासरको प्रहार वीरगन्जका गोलरक्षक राजु नगरकोटीले विफल पारिदिएका थिए।
उद्घाटन खेलको म्यान अफ दी म्याच वीरगन्जका गोलरक्षक राजु नगरकोटी घोषित भए।उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा आइतबारको खेल संकटा क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड नवलपरासीबिच हुने आयोजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए।
यसअघि प्रतियोगिताको समुद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका राजेशमान सिंहले कुनै समय फुटबलका लागि उर्बर भूमि रहेको वीरगन्जमा केही वर्षयता उदासिनता आएको बताए। उनले यो प्रतियोगिताले भने फेरि वीरगन्जमा फुटबल खेलप्रति उत्साह फर्काउने विश्वास आफूले लिएको बताए।
मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्ने छ। प्रतियोगतामा त्रिभुवन आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, संकटा क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी झापा, आयोजक वीरगन्ज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको गढवाल डायमण्ड क्लब एफसी गरी आठ टिम सहभागी छन्।
वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै हरेक खेलको म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद १० हजार, विधागततर्फ उत्कृष्ट हुने खेलाडी जनही २० हजार र प्रतियोगिताकै सर्वोत्कृट हुने खेलाडीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने श्रेष्ठले बताए ।