उपचार निःशुल्क, ४१ चिकित्सक परिचालन

उपचार निःशुल्क, ४१ चिकित्सक परिचालन
सुन्नुहोस्

काठमाडौं : जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाको निःशुल्क उपचार गर्न सरकारले निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले घाइतेको निःशुल्क उपचार गर्न निर्देशन दिएका हुन्।

स्वास्थ्य क्षेत्रका साझदारहरूसँगको शनिबार बसेको बैठकमा मन्त्री बस्नेतले सरकारी/गैरसरकारी/निजी/ स्वास्थ्य संस्थाहरूलाई उपचार व्यवस्थापन निःशुल्क गर्न निर्देशन दिएका हुन्। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, भूकम्पमा परी जाजरकोट जिल्लामा मात्रै १ सय ५ जनाको मृत्यु भएको छ। १ सय २ भन्दा बढी घाइते भएका छन्। रुकुमपश्चिम जिल्लामा ५२ जनाको मृत्यु भएको छ। ७८ भन्दा बढी घाइते भएका छन्। छिमेकी दैलेखमा ३ र रोल्पामा एक जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। घाइतेहरूको उद्धार जारी रहेको छ। 

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जाजरकोट र रुकुमपश्चिम जिल्लामा १ सय ५७ जनाको ज्यान गएको छ। ३ सय ७५ जना घाइते भएका छन्। सामान्य घाइतेहरूको रुकुमपश्चिम अस्पताल, जाजरकोट अस्पताल र रुकुमको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ।

सुर्खेत, नेपालगन्ज र काठमाडौंमा उपचार मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, घाइतेमध्ये ५७ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत र भेरी अस्पताल नेपालगन्जमा रेफर गरिएको छ। सरकारले घाइतेहरूको विशेषज्ञ र विशिष्टिकृत सेवाका लागि प्रादेशिक अस्पताल सुर्खेत र भेरी अस्पताल नेपालगन्ज तोकेको छ। गम्भीर घाइतेहरूको हवाई उद्धार गरी नेपालगन्ज, सुर्खेत र काठमाडौंमा उपचार भइरहेको छ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा घाइते भएका २५ जनाको उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार घाइते एकजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। भर्ना भएकामध्ये ६ जनाको हातखुट्टा भाँचिएको छ। आइतबारदेखि अप्रेसन सुरु गरिने डा. खड्काले जानकारी दिए। 

त्यस्तै नेपालगञ्जस्थित भेरी अस्पतालमा ३१ जनाको उपचार भइरहेको छ। उद्धार गरी ल्याएकामध्ये ३३ वर्षीय टेकबहादुर पुनको मृत्यु भएको छ। नलगाड–१, पाली जाजरकोटका पुनको हेलिकप्टरबाट ल्याउँदाल्याउँदै ज्यान गएको थियो। 

भेरी अस्पतालमा अहिले दुई वर्षीया बालिकासहित जाजरकोट र पश्चिमरुकुमका ३१ जनाको उपचार भइरहेको छ। एम्बुलेन्सबाट ल्याइएका जाजरकोटका विमलकुमार कार्कीको दायाँ खुट्टा भाँचिएको छ। अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार, अधिकांश घाइतेको टाउको, हातखुट्टा, पेटलगायतका शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। भर्ना भएकामध्ये ८ जनाको अवस्था गम्भीर छ। अन्य घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ। 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २१ दिनकी बालिकासहित ७ जना घाइतेको उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेहरूमा र मुसीकोट नगरपालिका—७ की २१ दिनकी बालिका सीता पाण्डे, रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–१ की १२ वर्षकी निरुता पुन, २० वर्षकी सुशीला बुढा, २१ महिनाका ऋषव बुढाथोकी, सानोभेरी गाउँपालिका—४ की २० वर्षकी विमला ओली बुढाथोकी, २२ वर्षका गोपाल बुढाथोकी र ६२ वर्षकी सावित्री चन्द, ५५ वर्षकी मैना ओली छन्। 

४१ चिकित्सक परिचालन

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले शनिबार बिहान विशेषज्ञसहितको चारवटा संघ–संस्थाहरूबाट गरी कुल ४१ जनाको आकस्मिक चिकित्सकीय टोली परिचालन गरिएको जानकारी दिए। संघीय, प्रादेशिक र स्थानीय तहका विभिन्न मन्त्रालय र निकायसँग निरन्तर समन्वय भइरहेको उनले बताए। काठमाडौं उपत्यकाका हब अस्पतालहरूलाई पनि घाइतेको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। 

६.४ म्याग्निच्युडको भूकम्पका कारण कर्णाली र लुम्बिनी प्रदेशका १० वटा जिल्ला प्रभावित भएका छन्। भूकम्पको धक्का भने मुलुकभर महसुस गरिएको थियो। जाजरकोट जिल्लाको घेट्ना स्वास्थ्यचौकी र वारेफुट आधारभूत अस्पतालमा क्षति पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन नेपाल प्रहरी अस्पतालबाट प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको मेडिकल टिम, सशस्त्र प्रहरी बल समेतबाट खटिएको टोलीले आवश्यक उद्धार कार्य भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.