भूकम्प पीडितको उद्धार र राहतको काम एकद्वार प्रणालीबाट हुन्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प पीडितका लागि सहयोग,राहत र उद्दारका लागि एकद्वार प्रणाली लागू गर्ने बताएका छन्। आइतबार बिहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पीडितको नाममा विभिन्न संघसंस्थाले पैंसा उठाउने गरेको भन्दै यसलाई रोक्न एकद्वार प्रणाली लागू गर्ने बताएका हुन्।
प्रधानमन्त्री दाहालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई एकद्वार प्राणलीबाट राहत र सहयोग उपलब्ध गराइने बताए।
एकद्वार प्रणालीको मुख्य केन्द्र काठमाडौं, सुर्खेत र नेपालगन्जमा राखिने र त्यहीबाट भूकम्प पीडितलाई राहत र सहयोग गर्ने बताए। 'भूकम्प पीडितका लागि विभिन्न संघस्थाहरू तथा मित्रराष्ट्रहरूले सहयोग गर्ने कुरा आएका छन्। जसले मनलाग्यो त्यसले जहाँबाट मन लाग्यो त्यहीबाट पैंसा उठाउने र आफ्नो ढंगले खर्च गर्ने। यो अनावश्यक यो पटक गर्न दिँदैनौ भनेका छौं,'प्रधानमन्त्री दाहालले भने,' यसैले एकद्वार प्रणाली आवश्यक छ । यसमा सबैको सहयोग आवश्यक छ। खासगरी राजनीतिक दल र विभिन्न संघसंस्थाहरूले कडाइसाथ लागू गर्नुपर्छ।'
एकद्वार प्रणालीको समन्वय हाल गृहमन्त्रालयले गर्ने उनले बताए।
प्रधानमन्त्री दाहालले भूगोलको अध्ययन गरिने बताए। ' कुन भूगोल भूकम्पमा बढी क्षति हुने खालको छ, कुन कम क्षति हुने भूगोल छ, त्यसको अध्ययन चाहिन्छ। त्यससम्बन्धी विज्ञता र जनचेतना पनि चाहिन्छ,' प्रधानमन्त्रीले भने, 'यसपटक सबैतिर भौगोलिक अध्ययन गर्ने र त्यसका आधारमा बस्ती बसाल्नेतिर सोच्नुपर्छ। विपदका लागि चाहिने आवश्यक सामग्रीहरु ७७ जिल्लामा राख्ने गरी काम गरौं। अहिलेदेखि नै ती सामग्री स्टोर गरेर राखौं।'
उनले पुनस्र्थापना प्रभावकारी बनाउनुपर्ने बताए। 'त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ। भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्मिाणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ। आउने दिनमा थप प्रभावकारी बनाउने गरी हामीले काम गरौं,' प्रधानमन्त्रीले भने।
प्रधानमन्त्रीले भौतिक संरचना निर्माणमा जनचेतना आवश्यक रहेको औंल्याए। उनले भने,'घरहरू कुन प्रकृति र कसरी बनाउँदा भूकम्पबाट कम क्षति हुन्छ भन्ने कुरा जनचेतना आवश्यक छ। यो पटक सबैतिर अध्ययन गरेर गाउँबस्ती बसाउने र घर निर्माणको कुरालाई निश्चित मापदण्ड भित्र ल्याउनुपर्छ। यो कामको सुरूवात गर्छौं,'उनले भने।
प्रधानमन्त्री दाहालले प्राकृतिक विपदबाट प्रभावितहरूलाई राहत र सहयोग उपलब्ध गराउन ७७ जिल्लामा राहतका सामग्री जम्मा गरिने त्यहीबाट वितरण गरिने बताए।
प्रधानमन्त्रीले विपदपछिको उद्दार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन आग्रह गरे।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा एक सय ५७ जनाको निधन भएको छ ।