राहत थन्कियो, पीडितले पाएनन्
जाजरकोट : जाजरकोटमा भूकम्प पीडितले राहत नपाएको गुनासो गरेका छन्। रेडक्रस लगायत विभिन्न निकायाबाट प्राप्त राहत सामग्री सम्बन्धित निकाएको ढिलासुस्तीले गर्दा पीडितले राहत पाउन नसकेका हुन्।
पीडितहरु खुल्ला आकाशमुनि बस्न बाध्य भएका भेरी नगरपालिका १ रावत गाउँका दिपक नेपालीले बताए। उनका अनुसार आइतबार बिहानसम्म पनि पीडितले त्रिपाल लगायतका समान नपाउँदा समस्यामा परेका हुन्।
जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरे पनि पीडित परिवारको तथ्यांक सकलन नहुँदा राहत वितरणमा अलमल भएको हो।
संकलित राहत सामग्री सम्बन्धित पालिकामार्फत बुझाउने काम भैरहेको र आइतबार बेलुकासम्म राहत वितरण कार्य हुने जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। पालिकाले राहत वितरणमा तदरुपता नदेखाउँदा ढिलाइ भएको उनले बताए। भूकम्पमा परी जाजरकोटमा मात्र १०५ जनाको मृत्यु र दुई सय बढी घाइते भएका छन्। तीन हजारभन्दा बढी घर भत्किएका छ्न्।