‘कपडाहरू सबै घरभित्रै पुरिएका छन्। त्यही घटनाले झस्काई रहन्छ। डरले निन्दा लाग्दैन’, उनले थपिन्, ‘चिसो निकै छ। सुत्केरी मान्छे कसरी चिसोबाट आफू बच्ने र छोरालाई जोगाउने भन्ने चिन्ता लागिरहन्छ।’
जाजरकोट : भेरी नगरपालिका–१ कोलचौरकी ५७ वर्षीया हस्तकुमारी कामीको भूकम्पले घर मात्र भत्केको छैन, मन पनि भत्किएको छ। उनको सर्वोस्व गुम्यो। भूकम्पमा ५ नातिनातिना र बुहारी गुमाएर बाँचेकी उनी भन्छिन् ‘बरु मै अभागीलाई कालले लिएको भए हुन्थ्यो। भर्खरका लाउलाउ खाउखाउ भन्ने उमेरका पाँच नातिनातिना र बुहारी लग्यो।’
१५ वर्षअघि नै श्रीमान् गुमाएकी हस्तकुमारीको आँखा अझै ओभाएका छैनन्। न खान मन लाग्छ, न निन्द्रा नै। उनी टोलाइरहन्छिन्। शुक्रबार मध्यरातको त्यो घटना घरीघरी आँखा वरिपरि आइरहन्छ। उनले भनिन्, ‘खाना खाएर जेठी बुहारी र उनका तीन छोराछोरी एउटा कोठामा सुते। माइलो छोराको दुई छोरी र कान्छी छोरीका दुई छोराछोरी अनि म अर्को कोठामा सुत्यौं। गहिरो निन्द्रामा परेको बेला मध्यरातमा आएको भूकम्पले हामी सबैलाई पुरेछ। मेरो आधा शरीर चेपिएको रहेछ। मैले केही थाहा पाइन्। नातिनातिना कराएको सुनेपछि छिमेकीहरू आएर हाम्रो उद्धार गरेछन्। पुरिएको कोठाबाट निकालेपछि बल्ल मेरो होस आयो।’
उनको माइलो छोरा मोहनको ८ वर्षकी छोरी रविनालाई मात्र केही भएन। उनी कराएपछि गाउँलेहरू आए। छोरीको छोरा १२ वर्षीय विक्रम तिरुवा र हस्तकुमारीलाई घाइते अवस्थामा निकालेर अस्पताल पठाए। अरूलाई धेरै पुरेकाले निकाल्न नसेपछि प्रहरीलाई खबर गर्यौ। केही समयपछि प्रहरी आए। प्रहरीले पनि नसकेपछि सशस्त्र र नेपाली सेना बोलाएर राति ३ बजेतिर ६ जनालाई मृत अवस्थामा बाहिर निकालेको स्थानीय प्रेम विश्वकर्माले बताए।
भेरी नगरपालिका–१ जाजरकोटमा भूकम्पले घर भत्काएपछि प्लास्टिक टाँगेर बसेकाहरू । तस्बिर : राजेन्द्र कार्की
जेठा छोरा उदय रोजगारीका लागि विदेश गएका छन्। भूकम्पमा हस्तकुमारीकी ३० वर्षकी बुहारी जानुका, नातिनी १३ वर्षकी शर्मिला, ९ वर्षकी अन्जली र ४ वर्षको नाति उज्ज्वलको ज्यान गयो। माइलो छोरा मोहन विकको ११ वर्षको छोरी निरुताको पनि ज्यान गयो। छोरी लालमतीको छोरी गृष्म तिरुवाको पनि ज्यान गयो। एकै घरका ती ६ जनाको शव अहिले पनि जिल्ला अस्पतालमा राखिएको छ। जेठो छोरा मलेसियाबाट आइपुगेका छैनन्। उनले आफू नआउँदासम्म शव नबुझ्नु भनेकाले सबै शव जिल्ला अस्पतालमै छन्।
कान्छी छोरी ज्वाइँ पनि कमाई गर्न भारत गएका छन्। माइलो छोरा अर्को गाउँ गएका कारण उनी उक्त घटनाबाट बचँे। अहिले त्यो घरमा बुढी आमा, माइलो छोरा र उनकै एक छोरी छन्। वैदेशिक रोजगारमा गएको बेला श्रीमतीले दोस्रो विवाह गरेपछि दुई छोरी पालेर बसेका मोहनमा पनि अर्को बज्रपात परेको छ।
एक छोरी गुमाएका छन् भने एक भान्जी, भाउजू र तीन भतिज भतिजा गुमाउन पुगेका छन्। उनी भन्छन्, ‘घाइते आमालाई अस्पतालबाट आइतबार नै घरमा लिएर आएँ। घर भत्किएर बस्न लायक छैन। अहिलेसम्म राहत पनि पाएका छैनौं। तरकारी खेतीका लागि ल्याएको प्लास्टिकमुनि बसेका छौं। खाने गाँस पनि छैन। भएको सबै घरभित्रै पुरियो। छिमेकीले दिएको खाएर गुजरा चलाइरहेका छांै। कति दिन यसरी चल्ने हो उनले भक्कानिँदै भने, ‘विदेश गएका दाइलाई कुरेर बसेका छौं। दैव पनि हामी जस्तै गरिबलाई लाग्दो रहेछ।’
भेरी नगरपालिका–१ रावतगाउँकी ३५ वर्षीया उर्मिला रावत पनि त्यही घटना सम्झेर बेला–बेला झस्किन्छिन् भक्कानिन्छिन्। दुई छोराहरू गुमाउनु पर्दाको पीडा एकातिर छ भने अर्कोतिर उनी अहिले घरवारविहीन। साहाराविहीन भएकी छन्। सडकमै रात बिताउने गरेकी छन्। उनका दुई छोरा ९ वर्षीय सुदानको घरभित्रै च्यापिएर ज्यान गयो। उर्मिला आफू पनि च्यापिइन्। छोरा बचाउन सकिनन्।
‘गहिरो निन्द्रामा थियौं एक्कासि के पड्केको जस्तो आवाज आयो,’ उनले भनिन्, ‘त्यसपछि घर गरल्यामगुल्म ढल्यो। हामी सबै पुरियौं। त्यसपछि के भयो केही थाहा पाइन्। एकैपटक अस्पतालको बेडमा भएको थाहा पाएँ। छोराहरू खोजे बेहोस होली भनेर होला सायद। सुरुमा उपचार हँुदैछ भनेर मलाई झुक्याए। तर, आखिर घरमै पुरिएर मृत्यु भइसकेको रहेछ म अभागी के हेरेर बाँचौं।’
दुःखजिलो गरेर हुर्काएका छोराहरू लिने पापी दैवले मलाई किन बचाइस गहभरी आँसु झार्दै उनले भनिन् न बस्ने बास छ न खाने गाँस छ। साहूऋण गरेर विदेश गएका श्रीमान् फर्कन सकेका छैनन्। कम्पनीले आउन दिएको छैन। शोकको बेला श्रीमान्समेत घरमा नहुँदा उनलाई थप सास्ती भइरहेको छ। दुघर्टनामा बाँचेकी १३ वर्षीय छोरी समीक्षा र बहिनी साथमा छन्। बहिनी चन्द्रकला परियारका ७ वर्षको छोरा विनय र ५ वर्षकी सम्झानाको मृत्यु भयो। ठूली आमाको घर सुत्न गएका दुवै जना छोराछोरी घटनामा परे। चन्द्रकला भने घट्ट गएकी भएर बाँचिन।
रुकुम पश्चिम ज्यामिरकोटबाट पाहुना आएका उर्मिलाका मामा शंकर मल्ल र काकी पदमी मल्ल पनि घटनामा परी ज्यान गुमाउन पुगे। घरका चार, बहिनीका दुई छोराछोरी र पाहुना आएका तीन गरी ९ जना बसेका थिए घर भत्किँदा ६ जनाको मृत्यु भयो। एक जना पाहुना, उर्मिला र उनकी छोरी मात्र बाँच्न सफल भए। उनी अहिले पनि छोराहरूकै यादमा तड्पिरहेकी छन्। उनलाई त्यही घटनाले बारम्बार पछ्याइरहन्छ।
उनले भनिन्, ‘श्रीमान् विदेश जाँदा लिएको ऋण तिर्न सकेका छैनौं। कम्पनीलाई यता आउनलाई २ हजार रिन्गेट माग्छ रे। म साहाराविहीन छु। घर पूरै भत्किसक्यो कहाँ बसुँ, कसरी बाँचु ’? उनले भक्कानिदै भनिन्। सोही गाउँकी टीका विक दुई महिने सुत्केरी छिन्। उनी बसेको घर पनि भूकम्पले भत्काएपछि आमा छोरा दुवै परिए। छोरालाई काखीमा च्यापेर राखिन्। केही समयपछि छिमेकीले उद्धार गरे।
‘७० वर्षकी हजुरआमा सुन्तली कामी पुरिनुभएछ। उहाँलाई निकाल्न सकेनन्। पछि मृत्यु नै भइसकेको रहेछ। श्रीमान्, आफू, सासू–ससुरा सबै घाइते भयौं। केही समयपछि एम्बुलेन्स आएर हामीलाई अस्पताल लियो। अहिले घर फर्किसकेका छौं तर बास त्रिपालमुनि छ,’ उनले भनिन्, ‘कपडाहरू सबै घरभित्रै पुरिएका छन्। त्यही घटनाले झस्काई रहन्छ। डरले निन्दा लाग्दैन’, उनले थपिन्, ‘चिसो निकै छ। सुत्केरी मान्छे कसरी चिसोबाट आफू बच्ने र छोरालाई जोगाउने भन्ने चिन्ता लागिरहन्छ।’
भूकम्पले भेरी नगरपालिका–१ मा मात्र ३१ जनाको ज्यान गएको छ। ४५ जना घाइते भएका छन्। करिब तीन सय घर भत्किएका छन्। वडा नम्बर १ का रावतगाउँ, कोलचौर, पिपे, रिम्न, मैदे, जुरेलीलगायतका गाउँका पीडितहरू अहिले पनि खुला ठाउँ अभावले सडकमै सुतिरहेका छन्। पीडितले भत्किएका घरभित्रका सामानहरू बाहिर निकाल्न सकेका छैनन्। केही थान त्रिपाल, कम्बल र म्याट आइतबार वितरण गरिएको छ। कति घरमा क्षति भयो एकिन हुन नसक्दा राहत वितरण प्रभावकारी हुन सकेको छैन। धेरै पीडित परिवारले राहत पाउन सकेका छैनन्। भूकम्पको पीडाले गाउँहरू शोकमा डुबेका छन्।
जाजरकोटबासी त्रासमै, झस्किरहन्छन् पीडित
फेरि पनि भूकम्प जान सक्ने डरले जाजरकोटबासी त्रसित छन्। भूकम्पपछि परकम्पन गइरहने र चर्किएका घर जतिबेला पनि ढल्न सक्ने भएकाले जिल्लावासी त्रसित छन्। मानिसहरू सामान्य चर्किएका घरमा पनि पस्न डराइरहेका छन्। पुरिएका घरका समान निकाल्न सकिरहेका छैनन्। खण्डहर जस्तै बनेको सदरमुकाम खलंगाको थाप्ले क्षेत्रमा धेरै मालसामान भत्किएका घरभित्रै पुरिएको छ। जतिबेला पनि हल्लिएको जस्तो भइरहन्छ भेरी नगरपालिका–३ का किरण भण्डारीले त्रिपालमुनि रात बिताउन बाध्य भएको बताए।
भएको घर भत्किएपछि हामी सडकमा आएका छौं कहिलेसम्म यसरी बस्नुपर्ने हो उनले चिन्ता प्रकट गरे। बेला–बेला त्यही घटनाले झस्किाइरहने उनले बताए। भूकम्पको पीडा धेरैजसो महिला, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र अपांगलाई परेको छ। उनीहरूलाई खान बस्न र सुत्नको समस्या परिरहेको छ।
भेरी नगरपालिका–३ थाप्लेकी प्रकृति शाह भूकम्पमा पनि घाइते भएकी छन्। उनले सपनामा पनि भूकम्प आएको देखिने गरेको बताइन्। बेला–बेला टोलाइरहने उनले आँखै अगाडि धेरैको ज्यान गएको देखिन जसले गर्दा पनि उनलाई बेला–बेला त्यही घटनाले झस्काइरहन्छ। बालबालिकाहरूमा त्रास बढेको स्वास्थ्यकर्मीहरू बताउँछन्। यस्तो बेला मनोसामाजिक परामर्शको आवश्यकता पर्ने जिल्ला अस्पताल जाजरकोटमा कार्यरत डा. समीक्षा मल्लले बताइन्।