‘घरसँगै मन भत्किएको छ’

‘घरसँगै मन भत्किएको छ’
रुकुमको आठबिसकोटमा भूकम्पपछि विस्थापित भएर खुला आकाशमुनि स्थानीय । तस्बिर : बिस्नप्रसाद न्यौपाने

वीरेन्द्रनगर : भूकम्पमा परेर घर भत्कियो। घरभित्र रहेको अन्नपात पनि त्यसैमा पुरियो। गाँस पनि गुम्यो। सरकारले राहत दिने भनेको खबर मात्र सुनेका छन् पीडितले। तर, पाएका छैनन्।

‘अब न बास रह्यो, न गाँस’, रुकुम मुसिकोट नगरपालिका–१३ की भूकम्प पीडित दुर्गाकुमारी कामीले भावुक हुँदै आफ्नो पीडा यसरी पोखिन््, ‘खुलाचौरमा टहरा बनाएर बसेका छौं। भूकम्पबाट बाँच्न त बाँचियो। अब गाँस बास कपासको व्यवस्था नभएर मरिने भइयो।’ उनका १२ र १४ वर्षका दुई छोरा छन्। श्रीमान् ७५ वर्षको उमेरका भएकाले काम गर्न सक्दैनन्। ‘खान नपाएर भोकभोकै मरिन्छ कि भन्ने पीर छ’, उनले भनिन्।  

भूकम्पमा परी आफन्त गुमेको पीडा थामी नसक्नु छ। बाँचेकाहरू भोकभोकै टहरोको बास छ। गाउँमा त पहिले आफूसँग नहुँदा सरसपटी र पैँचो चल्थ्यो। अहिले कतै सापटी माग्न जाउँ भने पनि सबैलाई त्यस्तै समस्या रहेको प्रभावित स्थानीय बताउँछन्। ‘कसको घरमा सापटी लिनु र खै’, रुकुम आठबिसकोट नगरपालिका–९ का भूकम्पपीडित हरि पुनले भने, ‘भूकम्पबाट त पीडित भइयो, भइयो। अब सरकारले घाउमा मलम लगाउला भन्ने आस छ। राज्यले समयमै गाँस र बासको व्यवस्था मिलाहोस्।’ शनिबार राति जाडोमा गाँसबिनाको टहरोको बास आफू र आफ्ना परिवारका लागि निकै पीडादायी भएको उनले सुनाए। त्यसमाथि फेरि पनि भूकम्प आउँछ कि भन्ने त्रास उनमा उत्तिकै छ। 

भेरी नदीको किनार। एकातिर नदीको चिसो सिरेटो छ। अर्कातिर लत्ताकपडा भत्किएको घरभित्रै पुरिएकाले एक सरो लगाएको लुगाबाहेक शरीर ढाक्ने केही छैन। रुकुम आठबिसकोट नगरपालिका–१४ छेपारेकी गीता पुनले भनिन्, ‘हाम्रो गाउँका ४० बढी घरमा भूकम्पले क्षति पुर्‍याएको छ। हामीसँग न खाने गाँस छ, न बस्ने बास छ। जाडो निकै बढेको छ। गाउँनजिकैको खेतमा खुला आकाशमुनि बसिरहेका छौं। राहतको नाममा एउटा त्रिपाल पनि पाएका छैनौं।’

दुर्गा, हरि र गीताको परिवारको पीडा मात्र होइन्, रुकुमको आठबिसकोट नगरपालिका, मुसिकोट नगरपालिका, चौरजाहरी नगरपालिका, सानीभेरी गाउँपालिका, बाफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिकाका ४ हजार २ सय ३६ घर भूकम्पबाट पूर्णरूपमा ध्वस्त भएका छन्। जहाँका ४ हजार २ सय ३६ परिवार नै गाँस र बासविहीन छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार रुकुममा भूकम्पबाट जम्मा ७ हजार २८ घरमा क्षति भएको छ। जसमा ४ हजार २ सय ३६ घर पूर्णरूपमा क्षति भएको छ भने २ हजार ७ सय ९२ घरमा आंशिक क्षति भएको छ। 

यस्तै, जाजरकोटको पीडा पनि कहालीलाग्दो छ। जाजरकोटमा भूकम्पबाट मानवीय क्षति बढी भए पनि भौतिक क्षति भने कम भयो। प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, कुसे गाउँपालिका, बारेकोट गाउँपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा गरी जम्मा ३ हजार ६ सय ५० घर भूकम्पबाट क्षति भएको छ। जसमध्ये ९ सय ५ घरमा पूर्णक्षति भएको छ भने २ हजार ७ सय ४५ घरमा आंशिक क्षति भएको छ। जाजरकोटका कालेगाउँ, रावत गाउँ, रिम्ना, चिउरीलगायतका थुप्रै गाउँहरू भूकम्पबाट प्रभावित छन्। यी गाउँहरूमा अहिले भूकम्प पीडितहरूको खुला चौरमा टहरोको बास छ। 

जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा परम्परागत घरमा क्षति धेरै पुगेको छ। प्रहरीले अहिले यस विषयमा तथ्यांक संकलन गरिरहेको छ। भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घर नै पूर्णरूपमा क्षति भएको स्थानीयको भनाइ छ। विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन्। भूकम्पले धेरैजसो ढुंगा र माटाले बनाइएका घरमा क्षति पुगेको छ। काठले बनाइएका घर र बजारमा बनाइएका नयाँ पक्की घरमा त्यति क्षति पुगेको छैन। तत्कालीन जाजरकोट दरबारसमेत भूकम्पका कारण चिरा परेको छ। 

जाजरकोटको नलगाडको सिंगो गाउँ चिउरे गाउँ नै भूकम्पबाट प्रभावित भएको छ। सबैभन्दा बढी भौतिक क्षति भएको यस गाउँका १ सय ८६ घर परिवारको बास  खुला आकाशमुनि छ। यस गाउँमा १३ जनाले ज्यान गुमाएका छन्। दलित समुदायको बसोबास भएका यहाँका अधिकांश मानिसको रोजगारीको गन्तव्य कालापाहाड हो। कालापाहाड नगए यहाँको बस्तीलाई छाक टार्नै मुस्किल हुन्छ। खेतमा भएको उत्पादनले वर्षभरि खान पुग्दैन। किनेर छाक टार्ने उक्त गाउँका करिब एक हजार जनसंख्या अहिले बिचल्लीमा छ। स्थानीय रतने विकले भने, ‘हामी गाउँका सबै मानिस अहिले गाँस बासविहीन छौं। हाम्रो पेटमा न चारो छ। न ओत लाग्ने ठाउँ नै छ। चिसो सिरेटोमा बारीको काल्नामा रात बिताउनुपर्ने भयो। हामीलाई खाद्यान्न, त्रिपालसहित ओढ्ने–ओछ्याउने कपडाको व्यवस्थापन भए निकै राहत हुने थियो। सरकारी तथा दातृ निकायहरू राहतको काम सुरु गरे पनि व्यवस्थित भइसकेको देखिँदैन।’ 

भूकम्पबाट बढी मानवीय क्षति भएका दुई वडा

जाजरकोटको भेरी नगरपालिका–१ र रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ मा भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति भएको छ। प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–१ मा ३१ जनाको मृत्यु भएको छ। यस्तै रुकुमपश्चिम आठबिसकोट नगरपालिका प्रमुख रवि केसीका अनुसार भूकम्पमा परी आठबिसकोट नगरपालिका–१४ मा २४ जनाको मृत्यु भयो। उनले भने, ‘भूकम्पबाट बढी प्रभावित नगरपालिकाको वडा नं. ९, १०, ११, १२, १३ र १४ मा गरी ४४ जनाको मृत्यु भयो।’ जाजरकोटको भेरी नगरपालिका– १ र आठबिसकोट नगरपालिका पूरै शोकमा डुबेका छन्। आठबिसकोट नगरपालिका–११ मा स्थानीय एकै परिवारका ६ जनाको मृत्यु भएको छ। 

राहत वितरणमा तीव्रता

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरि पन्त लम्सालले भूकम्पबाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन भइसकेकाले अब राहत वितरण चाँडै हुने बताए। उनले भने, ‘जिल्लाभरि कहाँ के कति क्षति भएको छ भन्ने विवरण आइसकेको छ। अब राहत दिने काम सुरु हुन्छ। तर, राहत वितरण गर्ने कार्य व्यवस्थित रूपमा गर्नका लागि व्यवस्थापन गर्न थालिएको छ। अब जिल्लाको विपद् समितिको बैठक बसेर तत्काल खाद्यान्न, कम्बललगायतका सामग्री वितरण गर्ने तयारी भइरहेको छ।’

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले भूकम्पपीडित परिवारलाई राहत वितरणको काम तीव्र गतिमा हुने बताए।  उनले भने, ‘सुरुवातमा त सबैको ध्यान उद्धारमै गयो। नागरिकको जिउ धनको सुरक्षाका लागि सबै निकायहरू लागे। अब सबै पीडितहरूलाई अत्ति आवश्यक सामग्रीहरू तत्काल वितरण गर्नका लागि हामीले पहल गरिरहेका छौं। यो कार्य ढिलो हुँदैन। नागरिकलाई राज्य भएको अनुभूति चाँडै दिलाउनेछौं।’

गाँस र बासका लागि आवश्यक पर्ने सामग्रीहरू विभिन्न ठाउँबाट ढुवानी भइरहेको उनले बताए। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले राहत वितरणको कार्य एकद्वार प्रणालीमार्फत गरिने बताए। उनले जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गरिने बताए। 

‘तत्काल सबै पीडितलाई राहत’

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पपीडितलाई तत्काल राहत वितरण गरिने बताएका छन्। आइतबार भूकम्पमा परी ज्यान गुमाएकी जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतलाई श्रद्धाञ्जलि अर्पण गर्दै उनले यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्दै भूकम्पपीडितलाई एक दुई दिनभित्रै राहत उपलब्ध गराइने आश्वासन दिए। श्रद्धाञ्जलिसभामा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो।    

उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताए। उनले भने, ‘राहत सामग्री बाटोमा आउँदैछ। एक/दुई दिनभित्र पीडितले पाउँनेछन्।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.