टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको अप्रेसन
टीकापुर : टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको पत्थरीको अप्रेसन गरिएको छ। जटिल अप्रेसन मानिने पित्तथैलीको पत्थरीबाट पीडित टीकापुर नगरपालिका-२ की ३७ वर्षीया रमिता चौधरीको अप्रेसन गरिएको छ।
टीकापुर अस्पतालमा कार्यरत जनरल सर्जन डाक्टर नवीनचन्द्र भट्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर अनु शर्मा, एनेस्थेसिया सहायक सन्तोष जोशी लगायत स्वास्थ्यकर्मीको टोलीले टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको पत्थरीको अप्रेसन गरेको हो।
‘अस्पतालका स्वास्थ्यकर्मीहरूको टोलीले पहिलो पटक पित्तथैलीको पत्थरीको ल्याप्रोस्कोपीबाट अप्रेसन गरेको छ’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले भने ‘जटिल अप्रेसन मानिने पित्तथैलीको अप्रेसन सफल रुपमा सम्पन्न भएको छ, अब यस्ता समस्याको नियमित अप्रेसनहरू सुरु गरिनेछ।’
अस्पतालमा रहेको ल्याप्रोस्कोपी दुरविन प्रविधिको प्रयोग गरिएको अप्रेसन गरिएकी चौधरी आज अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी लामो समयदेखि पत्थरीबाट पीडित थिइन्। डाक्टर भट्टको नेतृत्वमा दैनिकजसो जनरल अप्रेसनहरू हुँदै आएका छन्।