कञ्चनपुरको कृष्णपुरमा नमुना चौपाया व्यवस्थापन
कञ्चनपुर :जिल्लाको कृष्णपुर नगरपालिकाले चौपाया व्यवस्थापन सुरु गरेको छ। पूर्वपश्चिम राजमार्गमा छाडिएका चौपायाका कारण सवारी दुर्घटना हुने र खेतीपाती जोगाउन समस्या हुने समस्या हुँदै आएको थियो।
नगरपालिकाले २०७९ सालको लक्ष्मीपूजाका दिनदेखि अहिलेसम्म १५ सय छाडा पशुचौपायाको व्यवस्थापन गरेको छ। जसका लागि गौसाला निर्माण गर्नुका साथै मलसँग पराल साटेर दानाको व्यवस्थापन गरेको छ।
गौसालामा गोबर मलको चाङ लागेको छ। एक ट्रयाक्टर ट्रालीको ५ हजारका दरले गोबर मल पनि बिक्री हुने गरेको छ। स्थानीय शिक्षक दीपक सिंह भण्डारीका अनुसार गाई व्यवस्थापनले स्थानीयलाई सहज भएको छ।
वडा नम्बर २ का अध्यक्ष अर्जुन सिंह साउदले भने, ‘हामी जितेपछि कार्यपालिकाले सबैभन्दा पहिला चौपाया व्यवस्थापनमा लाग्ने प्रण गर्यौं, कुनै दलबाट भन्नुभन्दा पनि जनतालाई सहज पार्ने योजनामा सर्वसहमति नै भयो’, उनले भने ।
वडा नम्बर ४ का वडाध्यक्ष धर्मबहादुर सिंहले अहिले गौसालामा गाई छोड्न आउनेलाई ११ सय रुपैयाँ रकम दिने गरेको बताए। नगरपालिकाले आफ्नो क्षेत्रमा बनाएका ५ वटा गौसालाका लागि गत वर्षको बजेटबाट २५ लाख रुपैयाँ खर्च गरेको छ।
नगरपालिकाले हरेक गौसालामा एकजना हेरालुको खर्च पनि दिएको छ। नगरपालिकाले अबको वर्ष राम्रो राम्रो बाच्छी छानेर नस्ल सुधारको कार्य पनि गर्ने जनाएको छ ।
नगरप्रमुख हेमराज ओझाले समुदायले पनि छाडा चौपाया व्यवस्थापनमा खटिएर सहयोग गरेको बताए ।