नदी प्रदूषित गर्ने उद्योगलाई दोस्रो पटक जरिवाना
वीरगन्ज : वीरगन्जको सिर्सिया नदीमा प्रदूषण गर्ने सिद्धि टेक्सटाइललाई महानगरपालिकाले दोस्रो पटक जरिवाना तिराएको छ।
नदीमा प्रदूषण गरेको भन्दै महानगरपालिकाले वीरगन्ज महानगरपालिका-२१ स्थित सिद्धि टेक्सटाइलसहित पाँच उद्योगलाई यसअघि गत चैत १४ गतेपनि ३/३ लाख जरिवाना गरेको थियो।
मंगलबार अनुगमनका क्रममा उद्योगबाट निस्किने रसायन र लेदोसहितको फोहोर पानी सिद्धि टेक्सटाइले सोझै सिर्सिया नदीमा मिसाएर प्रदूषित गरेको भेटिएपछि महानगरले उसलाई फेरि ३० हजार रुपैयाँ जरिवाना गरेको हो।
मंगलबार अनुगमनका क्रममा सिद्धि टेक्सटाइलले उद्योगबाट निस्केको रसायन र लेदोसहितको फोहोर पानी प्रशोधन नै नगरी सोझै सिर्सिया नदीमा मिसाउने गरेको भेटिएपछि ३० हजार रुपैयाँ जरिवाना गरिएको वीरगन्ज महानगरपालिका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदीन मियाँले बताए।
वीरगन्जका उद्योगी अशोक मित्तल सञ्चालक रहेको सिद्धि टेक्सटाइललाई यसअघि पनि महानगरपालिकाले तीन लाख रुपैयाँ जरिवाना गर्दा समेत उसले सिर्सिया नदिलाई प्रदूषित गर्ने कामलाई जारी नै राखेको भेटिएको उनले बताए।
वीरगन्जको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदी करपब तीन दशकदेखि प्रदूषणको चपेटामा परेको छ। पर्सा बारा औद्योगिक करिडोरमा रहेमा ४५ भन्दा बढी उद्योगले उद्योगबाट निस्कने फोहरजन्य पदार्थ, छालाजन्य लेदो र रसायनयुक्त पानी सोझै नदीमा मिसाउँदा नदी नै प्रदूषित बन्दै आएको छ।
वीरगन्ज र यस आसपासका करिब डेढ दर्जन गाउँका स्थानीयले त्यही प्रदूषित नदीमा छठ पर्व मनाउन बाध्य हुँदै आएका छन्। नदीलाई प्रदूषणमुक्त बनाउन महानगरपालिकाले गत चैतदेखि अभियान नै थालेर कडाइ गरेपछि दुई दिनअघि मात्र सिद्धि टेक्सटाइलसहितका यहाँका उद्योगले तिहार तथा छठ पर्व अगाडि नै सिर्सिया नदीको प्रदूषण रोक्ने सहमति जनाएका थिए।
त्यसअघि गत गत असोज २९ गतेका दिन महानगरका मेयर राजेशमान सिंह आफैले गरेको अनुगमन पश्चात् उद्योगका सञ्चालकहरूले रसायनयुक्त लेदो तथा फोहोर प्रशोधन गरेर मात्रै नदीमा पठाउने र त्यसो नगरे उद्योग सिल गरी नियमबमोजिम जरिवाना तिर्ने सहमति जनाएका थिए।
सहमति अनुसार मरियम लेदर उद्योग र अरनिको टेक्सटायल्सले अत्याधुनिक पानी प्रशोधन गर्ने प्लान्ट बनाउने कामअघि बढाए पनि सिद्धि टेक्सटाइलका सञ्चालक मित्तलले सहमतिलाई लत्याउँदै सिर्सिया नदीलाई प्रदूषित गर्ने कार्य जारी राखेको भेटिएपछि दोस्रो पटक जरिवाना गरिएको मियाँले बताए।
उनका अनुसार यअघि गत चैतमा ३र३ लाख जरिवाना गरिएका ग्लोबल लेदर, मारुती पल्स एन्ड पेपर र दुर्गा पल्स एन्ड पेपरले पनि आफ्ना उद्योगमा फोहोर पानी प्रशोधन गर्ने यन्त्र जडान गर्न अटेर गरिरहेका छन्।
यद्यपि ग्लोबल, मारुती र दुर्गा पल्सले छठसम्मका लागि उद्योग बन्द गरे पनि सिद्धि टेक्लेसटाइलले भने त्यस्तो नगरेको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख मियाँले बताए।