अन्तरजातीय विवाह गर्ने जोडीले पायो एक लाख रुपैयाँ
मुगु : छाँयानाथ रारा नगरपालिका–१० चराप गाउँमा अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छ । छाँयानाथ रारा नगरपालिकाको आर्थिक वर्ष ०७९/ ०८० को नीति तथा कार्यक्रम अनुसार अन्तर जातिय विवाह गर्ने जोडीलाई प्रोत्साहन बापत एक लाख उपलब्ध गराएको हो ।
सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढा र छाँयानाथ रारा नगरपालिका–१० का २५ वर्षीय देवीकृष्णा कामीको जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छाँयानाथ रारा नगरपालिकाका मेयर बिष्णु कुमार भामले जानकारी दिए।
उनीहरूबीच दुई वर्ष लामो प्रेमपछि गत माघ १३ गते भागी विवाह भएको थियो। विवाह पछि दुवैजना राजीखुसीका साथ बसिरहेको देवीकृष्णाले बताए।
नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्ने कुरा आफूहरूलाई थाहा नभएको उनीहरूले बताए। जानकारी गराएपछि आवश्यक काजपत्र पेश गरेको कृष्णादेवीले बताइन्।
नगरपालिकाका प्रमुखबाट एक लाख रुपैयाँको चेक पाउँदा साह्रै खुशी लागेको उनीहरूले प्रतिक्रिया दिए। रञ्जिता कक्षा १२ मा पढ्दैछिन्। नगरपालिकाबाट पाएको सो रकम श्रीमतीको पढाइमा खर्च गर्ने देवीकृष्णा बताए।
जातिय विभेद अन्त्यका लागि नगरपालिकाले आर्थिक वर्ष ०७९।०८०को नीति तथा कार्यक्रममा नगरभित्रका अन्तरजातिय विवाह गर्ने प्रत्येक जोडिलाई प्रोत्साहनस्वरुप एक लाख रकम दिने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार पहिलो पटक यो जोडीले एक लाख रकम पाएका हुन्।