हत्या अभियोगमा २० वर्षपछि पक्राउ परे केशलाल
अर्घाखाँची : अर्घाखाँचीको जलुकेमा २० वर्षअघि एक महिलालाई हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
२०६० साल फागुन १३ गते साविक जलुके गाविस ६ हाल शितगंगा नगरपालिका-८ चरिंगेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गामका केशलाल घर्तीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताए।
रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्वर ३ बाहिरी गाममा लुकिछिपी बसेको भन्ने प्रहरीको गोप्य सूचनाबाट थाहा भएपछि इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए।
मृतक घर्तीलाई एकान्त स्थानमा रहेको घरमा कोही नभएको अवस्थामा डरत्रास देखाएर पैसा माग्दा नदिएपछि हत्या गरेका थिए। अर्घाखाँची जिल्ला अदालतबाट मयाद थप गरी अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।