आयोजकलाई स्तब्ध पार्दै पुलिस वीरगन्ज गोल्डकपको फाइनलमा
वीरगन्ज : आयोजक भेट्रान सिटी क्लब वीरगन्जलाई सडन डेथमा स्तब्ध पार्दै नेपाल पुलिस क्लब वीरगन्ज गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
वीरगन्जको आदर्शनगर रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले आयोजक वीरगन्जलाई टाइबेकरमा सडन डेथमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
निर्धारित ९० मिनेटमा गोलरहित बराबरीमा सकिएपछि खेल टाइबेकरमा धकेलिएको थियो। तर टाइबेकरमा पनि ३-३ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो। यसअघि ९० मिनेटको खेल निक्कै रोमाञ्चक थियो। दुवै टिमका स्टाइकरहरूले गोल गर्ने पटक-पटक प्रयास गरेपनि गोलरक्षकहरूको उत्कृष्ट बचाउँदै विफल तुल्याइदिएका थिए।
टाइबेकरमा पुलिसका लागि उज्वल राई, हेम तमाङ र पृथ्वी चौधरीले गोल गर्न सफल भएका थिए। कप्तान रामचन्द्र वजे र प्रताप गुरुङको प्रहार भने वीरगन्जका गोलरक्षक राजु नगरकोटीले रोकेर विफल तुल्याइदिएका थिए।
यता वीरगन्जका अबी लामा, सुजल डंगोल र राजु नगरकोटीले गोल गर्न सफल भएका थिए भने राजन चौधरीको प्रहार पुलिसको गोलपोष्टको बारमाथिबाट बाहिरिएको थियो भने शीर्षस थापाको प्रहारलाई पुलिसका गोलरक्षक सत्रुधन चौधरीले रोकेर गोल हुनबाट जोगाएका थिए।
टाइबेकर र सडन डेथमा गरी वीरगन्जको तीन वटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक सत्रुधन चौधरी म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे। उपाधिका लागि अब पुलिसले अब फाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच बिहीबार हुने खेलको विजेतासँग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ।