भीआईपीको सेवा–चाकरमै राज्यसंयन्त्र, पीडित भोकभोकै

भीआईपीको लावालस्कर, पीडितको आकाशमुनि बास

जाजरकोट भूकम्प

भीआईपीको लावालस्कर, पीडितको आकाशमुनि बास

सर्वसाधारणको मतले जितेका राष्ट्रपति र प्रधानमन्त्रीलाई बिपत्तिमा परेर गाँस–बासबिहीन भएका तिनै सर्वसाधारणबाट केको सुरक्षा चुनौती हुन्छ ? ठूला दैवी विपत्तिमा सहानुभूति दिन र मनोबल बढाउन राज्य र सरकार प्रमुख पुग्नु राम्रो निर्णय हो। तर, तिनैको स्याहार–चकार र सवारी व्यवस्थापनमा राज्य संयन्त्र अलमलिनुचाहिँ देख्नेकै लागि लाजको विषय हो।

जाजरकोट : सर्वसाधारणको मतले जितेका राष्ट्रपति र प्रधानमन्त्रीलाई बिपत्तिमा परेर गाँस–बासविहीन भएका तिनै सर्वसाधारणबाट केको सुरक्षा चुनौती हुन्छ ? ठूला दैवी विपत्तिमा सहानुभूति दिन र मनोबल बढाउन राज्य र सरकार प्रमुख पुग्नु राम्रो निर्णय हो। तर, तिनैको स्याहार–चकार र सवारी व्यवस्थापनमा राज्य संयन्त्र अलमलिनुचाहिँ देख्नेकै लागि लाजको विषय हो। 

जाजरकोट र रुकुमपश्चिममा अहिले त्यस्तै भइरहेको छ। भूकम्पपीडितलाई साथ सहयोग गर्ने नाममा राज्यको खर्चमा गएका मन्त्रीदेखि सुरक्षाकर्मीसम्मलाई राष्ट्रपति र प्रधानमन्त्रीको पछि लाग्न भ्याइनभ्याइ छ। राहतको आसमा बसेका पीडित हेलिकप्टरमा राहत होइन, राष्ट्रपति र प्रधानमन्त्री आएको देख्दा ठूलो आशा गर्छन्। तर, तिनले अनुहार देखाउने र सरकारी संयन्त्रलाई अलमल्याउनेबाहेक केही नगर्दा जिल्ल पर्ने गरेका छन्। 

प्राथमिकता एउटा, राज्यको ध्यान अर्कै

भूकम्पबाट प्रभावित क्षेत्रमा हिजोआज दिनहुँ हेलिकप्टर उडिरहेका छन्। झट्ट हेर्दा पीडितका लागि राहत ओसार्न उडेका हुन् जस्तो लाग्नसक्छ। तर, जाजरकोट र रुकुमपश्चिमको आकाशमा उड्ने ती अधिकांश हेलिकप्टरहरू भूकम्पपीडितका लागि राहत ओसार्न उडिरहेका होइनन्/छैनन्। ती त भूकम्प प्रभावित क्षेत्रमा आउने भीआईपीहरूलाई भ्रमण गराउन उडेका हुन्। प्रभावित क्षेत्रमा हिजोआज राहत सामग्री ओसार्नेभन्दा हेलिकप्टरलाई भीआईपीहरू बोक्न र डुलाउन भ्याइनभ्याइ छ। 

भूकम्पले घरबारविहीन बनेका पीडितहरू खुला स्थानमा रात बिताउन बाध्य छन्। खाद्यान्नको अभावमा छाक टार्न मुस्किल छ। पीडितहरू गाँस र बासको अभावमा छटपटाइरहेका छन्। यस्तो अवस्थामा पीडितलाई समयमै राहत सामग्री उपलब्ध गराउनुको साटो हेलिकप्टरहरू जिल्लामा आउने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद् र राजनीतिक दलका नेताहरू ओसार्नमै अलमलिएका हुन्। यसले प्रभावित क्षेत्रमा पीडितहरूलाई राहत सामग्री उपलब्ध गराउन र भत्किएका घरहरूको उत्खननमा सकस भइरहेको छ। अर्कोतर्फ प्रभावित क्षेत्रमा अवलोकन र निरीक्षणको नाममाभीआईपीहरूको हेलिकप्टर सयरले राज्यको स्रोत र साधनको पनि दोहन भइरहेको छ।

भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको जाजरकोटका दुर्गम बस्तीमा सडक पुगेको छैन। जहाँ हेलिकप्टरबाट मात्र राहत सामग्री लैजानुपर्ने बाध्यता छ। तर, भूकम्पपछि उद्धार र राहतमा प्रयोग गर्ने भनिएका सेनाका हेलिकप्टरले राहत सामग्री बोक्न पाएका छैनन्।

तामझाम गरेर भएको राष्ट्रपतिको सवारीले न पीडितले राहत पाए, न त व्यवस्थापनको कुनै ठोस योजना बन्यो। बरु राष्ट्रपतिको यो भ्रमणका कारण पीडितले सास्ती भोगे। राहत र व्यवस्थापनमा खट्नुपर्ने कर्मचारी तथा सुरक्षाकर्मीको पनि समय खेर गयो।

जिल्लामा आउने भीआईपीलाई प्रभावित क्षेत्रमा घुमाउने काममा प्रयोग हुँदा दुर्गम क्षेत्रमा न राहत पुगेको छ, न त भत्किएका घर उत्खननका लागि सुरक्षाकर्मी नै। उत्खननका लागि तत्काल दक्ष जनशक्ति र सुरक्षाकर्मीहरू परिचालन हुनुपर्ने हो। पीडितका लागि राहत सामग्री पुग्नुपर्ने हो। तर, दिनहुँ जिल्लामा अवलोकनका लागि आउने भीआईपीका कारण राहत, उत्खनन र व्यवस्थापनका कामहरू प्रभावित बनेका छन्। 
null

भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि भन्दै जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेल।  

जिल्लामा विपद् व्यवस्थापनको नेतृत्व जिल्ला प्रशासन कार्यालय र त्यहाँका कर्मचारीले गर्नुपर्ने हुन्छ। तर, जाजरकोट र रुकुममा भने ठीक उल्टो भइरहेको छ। अर्थात् जिल्लामा लस्कर लागेर आउने भीआईपीको स्वागत र सत्कारमा नै खट्नुपर्ने बाध्यताले आफूहरूलाई विपद् व्यवस्थापनमा सकस भइरहेको कर्मचारीहरू बताउँछन्। विपद् व्यवस्थापनमा खटिएका एक कर्मचारीले भने, ‘बिहान उज्यालो हुन नपाउँदै भीआईपीहरू आउन थाल्छन्, उनीहरूको स्वागत र सत्कारमै खट्नुपर्छ। भीआईपीको पछि लाग्दा पीडितहरूको व्यवस्थापनमा काम गर्न पाएका छैनौं, सुरक्षाकर्मीको नेतृत्व पनि राहत र व्यवस्थापनमा भन्दा भीआईपीकै पछाडि लाग्न बाध्य भएका छन्।’ 

प्रभावित क्षेत्रमा अवलोकन र निरीक्षणको नाममाभीआईपीहरूको हेलिकप्टर सयरले राज्यको स्रोत र साधनको पनि दोहन भइरहेको छ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रकाश पन्त पनि राहत र व्यवस्थापनमा भन्दा भीआईपीको स्वागत कसरी मिलाउने भन्ने तनावमा छन्। यी जिल्लाका प्रहरी नेतृत्व मात्र होइन, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआईजी भीम ढकाल आफंै भीआईपीको सुरक्षामा खटिन बाध्य छन्। राहत र उद्धारमा खट्नुपर्ने नेपाली सेना र सशस्त्र प्रहरीको जनशक्ति पनि भीआईपीको सुरक्षा गर्न लागिपरेका छन्। एक प्रहरी अधिकारीले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू आउँदा सुरक्षाको व्यवस्था मिलाउनुपर्ने हुन्छ, उनीहरूको अघिपछि लाग्नुपर्ने र सुरक्षामा खटिनुपर्ने भएकाले सुरक्षाकर्मीलाई प्रभावित क्षेत्रमा उत्खननलगायतका काममा खटाउन 
सकिएको छैन।’ 

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले विपद् व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको स्वीकार गरे। उनले भने, ‘विपद् व्यवस्थापनमा सकस भइरहेको छ, सडक नपुगेका प्रभावित क्षेत्रमा राहत सामग्री लैजान सकिएको छैन। राहत र व्यवस्थापनमा जनशक्ति अभाव भएको छ, हामी केही जनशक्तिले मात्र रातदिन खटिएर सम्भव छैन।’ उनले भीआईपीका कारण समस्या भएको स्वीकार नगरे पनि विपद् व्यवस्थापनमा भने जनशक्तिको अभाव भएको बताए।

पीडितलाई गिज्याउने भीआईपीको सवारी

भूकम्पका कारण घरबारविहीन बनेपछि पीडितहरू टेन्टमा बसेका थिए। जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माविको प्रांगणमा राखिएका टेन्टहरू मंगलबार बिहान एकाएक हटाइयो। राष्ट्रपतिको सवारी हुने भन्दै आफूहरूको ओत लाग्ने टेन्ट सुरक्षाकर्मीले एकाबिहानै हटाएपछि पीडितहरू आक्रोशित बने।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत गर्न भन्दै पीडितका त्रिपाल हटाइएको थियो। राष्ट्रपति सवार हेलिकप्टर अवतरण गर्ने स्थान नभएपछि पीडितहरूका त्रिपाल नै हटाइएको थियो। पीडितका त्रिपाल हटाएर राष्ट्रपतिको धुमधाम स्वागत गरिए पनि पीडितले भने आश्वासनबाहेक केही पाएनन्।

nullभूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि सेनाको हेलिकप्टरमार्फत कात्तिक २१ गते जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको सुरक्षाका लागि लठ्ठी समाएर उनी हिँड्ने बाटो छेकेर उभिएका सुरक्षाकर्मी।

यतिमात्र होइन राष्ट्रपतिले मंगलबार रुकुमपश्चिम र जाजरकोटका प्रभावित क्षेत्रमा हेलिकप्टरबाट पनि अवलोकन गरे। केही स्थानमा स्थलगत अवलोकन पनि गरे। उनको पछाडि स्वागतमा कर्मचारी र सुरक्षाकर्मीको लावालस्कर नै लाग्यो। तर, तामझाम गरेर भएको राष्ट्रपतिको सवारीले न पीडितले राहत पाए, न त व्यवस्थापनको कुनै ठोस योजना बन्यो। बरु राष्ट्रपतिको यो भ्रमणका कारण पीडितले सास्ती भोगे। राहत र व्यवस्थापनमा खट्नुपर्ने कर्मचारी तथा सुरक्षाकर्मीको पनि समय खेर गयो। राष्ट्रपति फिर्ता भएपछि पीडितहरूले हेलिकप्टर बसाल्न हटाइएका त्रिपालहरू पुनः टाँगे।

राष्ट्रपतिको भ्रमण मात्र होइन, भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा आउने मन्त्री, सांसद र नेताहरूले आफूहरूलाई गिज्याउने काम गरिरहेको पीडितको गुनासो छ। राहत र व्यवस्थापनमा ध्यान दिनुको साटो भीआईपीहरूले हेलिकप्टरमा घुमेर आफूहरूको पीडामा अरू पीडा थप्ने काम गरिरहेको पीडितको दुखेसो छ।

रुकुमपश्चिमको आठबिस नगरपालिका–११ रिठ्ठामा भूकम्पमा बाबुआमा दुबै गुमाएकी जैकुमारी मल्लले भनिन्, ‘हामी छानो नभएर खुला स्थानमा बसेका छौं, मन्त्री र नेताहरू हाम्रो टाउकोमाथि हेलिकप्टरमा उडिरहेका छन्। आजसम्म गाउँमा न त्रिपाल आएको छ, न त राहत। मन्त्री र नेताहरू हाम्रो दुःखलाई हेलिकप्टरबाट हेरेर गिज्याउने काम गरिरहेका छन्।’ उनले नेता र मन्त्रीहरू आफूहरूकै अगाडिबाट धुलो उडाएर कुद्ने गरेको भन्दै हालसम्म गाउँमा राहत नआएको गुनासो गरिन्। 

nullभूकम्प प्रभावित क्षेत्र जाजरकोटमा अवस्था बुझ्न क्रमशः कात्तिक १८ गते पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

राहत ढुवानीमा पनि अवरोध

प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सेनाका हेलिकप्टरहरू छन्। तर, ती हेलिकप्टरहरू राहत ढुवानीमा भन्दा मन्त्री र नेता ओसार्नमै व्यस्त छन्। यसले गर्दा सडक नपुगेका क्षेत्रमा राहत सामग्रीको ढुवानीमा कठिनाइ भइरहेको हो। सडक नपुगेका र मानिसले बोकेर लैजान सम्भव नभएका बस्तीमा पीडितले त्रिपाल नै पाउन नसकेको सूचना आइरहेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए। उनले भने, ‘कतिपय यस्ता पनि प्रभावित क्षेत्र छन्, जहाँ राहत सामग्री लैजान सडक नै पुगेको छैन। पीडितहरूले राहत माग्दै दिनहुँ फोन गर्न थालेका छन्, सडक नपुगेको स्थानमा हेलिकप्टरबाट मात्र ढुवानी गर्नुको विकल्प छैन।’

 ‘हामी पीडितको उद्धार र राहतको काममा व्यस्त छौं, पीडितको व्यवस्थापनमा कठिनाइ भइरहेको छ।’ जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले भने, ‘भीआईपीहरू हेलिकप्टरमा घुमिरहेका छन्, यो समयमा हेलिकप्टरहरू राहत सामग्रीको ढुवानीमा प्रयोग हुनुपर्छ।’

स्थानीय प्रशासनले राहत सामग्री ढुवानीमा हेलिकप्टरको आवश्यकता महसुस गरिरहेको छ। तर, हेलिकप्टरहरू जिल्लामा आउने राष्ट्रपति, उपप्रधानमन्त्री, मन्त्रीहरू र दलका नेतालाई बोक्न व्यस्त छन्। यसकारण पनि दुर्गममा राहत सामग्रीको ढुवानीमा अवरोध भइरहेको हो। मंगलबार मात्र राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा आएपछि दिनभर राहत ढुवानी रोकियो। राष्ट्रपति प्रभावित क्षेत्रमा रहुन्जेल अर्काे हेलिकप्टर उद्धारका लागि तयारी अवस्थामै राख्नुपर्ने भएका कारण दुईवटै हेलिकप्टरले दिनभर राहत सामग्री ढुवानी गर्न पाएनन्। यदि राष्ट्रपति नआएको भए मंगलबार सुर्खेत, नेपालगञ्ज र दाङबाट नेपाली सेनाले राहत सामग्री हेलिकप्टरबाट जाजरकोटका बारेकोट, कुशे र नलगाडका प्रभावित क्षेत्रमा ढुवानी गर्ने कार्यतालिका थियो।

राष्ट्रपति पौडेलेको भ्रमणका कारण मात्र होइन, यही कात्तिक २० गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि दिनभर सेनाको हेलिकप्टर प्रयोग गरे। जाजरकोट र रुकुमपश्चिमका आधा दर्जन प्रभावित क्षेत्रमा घुमेका उनले दिनभर हेलिकप्टर लिएका कारण पनि राहत तथा उद्धार सामग्रीको ढुवानीमा अवरोध भएको थियो। पछिल्ला दिनमा भीआईपीहरूले नै हेलिकप्टरमा प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्न थालेपछि राहत सामग्रीको ढुवानीमा अवरोध भएको छ। केहीदिन पहिला गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि हेलिकप्टरमा प्रभावित क्षेत्रको भ्रमण गरेका थिए। 

को भीआईपी कहिले आए ?
 

भीआईपीका कारण भूकम्प प्रभावित क्षेत्रमा राहत तथा व्यवस्थापनको कार्यमा अवरोध भइरहेको छ। तर, अवलोकनको नाममा भीआईपीहरूको जिल्लामा आउने लस्कर भने लामै छ। भीआईपीहरू आउनेक्रम रोकिएको छैन। राष्ट्रपति रामचन्द्र पौडेल सेनाको हेलिकप्टरमा यही कात्तिक २१ गते जाजरकोट र रुकुमपश्चिम पुगे। उनको स्वागत र सुरक्षाका लागि कर्मचारी, नेता र सुरक्षाकर्मीको लावालस्कर नै लाग्यो।

यस्तै भूकम्प गएको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल हेलिकप्टरमा जाजरकोट पुगे। कात्तिक १८ गते बिहानै जाजरकोट र रुकुमपश्चिम पुगेका उनको स्वागत र सुरक्षाका लागि नै ठूलो जनशक्ति खटिएको थियो। यस्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का कात्तिक १९ गतेपछि निरन्तर प्रभावित क्षेत्रको भ्रमणमा छन्।

nullउपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री  मोहन बस्नेतसहितका नेता

 यस्तै अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ कात्तिक १९ गते प्रभावित क्षेत्रको भ्रमणमा आए। कर्णालीका प्रदेश प्रमुख तिलक परियारले पनि प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। उनी कात्तिक २१ गते जाजरकोट पुगेका थिए।

nullप्रदेश प्रमुख तिलक परियार।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले कात्तिक १८ गते भ्रमण गरे। यस्तै स्वास्थ्यमन्त्री मोहन बस्नेत कात्तिक १९ गते, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत कात्तिक १८ गते र भौतिकमन्त्री प्रकाश ज्वाला पनि कात्तिक १९ गते प्रभावित क्षेत्रमा दलवलसहित पुगे। उनीहरूको भ्रमणमा जिल्लाका कर्मचारी र सुरक्षाकर्मी खटिएका थिए। अर्काेतर्फ प्रदेशका मन्त्रीहरू सबैजना प्रभावित क्षेत्रमा बारम्बार आउने गरेका छन्। यस्तै प्रतिनिधिसभा र प्रदेशसभाका सांसद र दलका नेताहरू पनि एकपछि अर्को आउने गरेका छन्। 

‘भीआईपीको भ्रमण रोक’

प्रभावित क्षेत्रमा भीआईपीको लस्कर लाग्न थालेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। नागरिक समाजका अगुवा र स्थानीय तहका जनप्रतिनिधिहरूले तत्काल भीआईपीको भ्रमण रोक्नुपर्ने बताउन थालेका हुन्। भीआईपीको भ्रमणले पीडितको राहत तथा व्यवस्थापनका काम प्रभावित बनेको उनीहरूको भनाइ छ।

null

नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहले पीडितका समस्याहरू ओझेलमा परेको बताए। उनले भने, ‘यो समय भनेको पीडितलाई राहत सामग्री उपलब्ध गराउने र उनीहरूको व्यवस्थापन गर्नुपर्ने हो, तर दिनहुँ जिल्लामा आउने भीआईपीका कारण यी कामहरू प्रभावित भएका छन्। कर्मचारी र सुरक्षाकर्मीहरू भीआईपीकै स्वागत र सत्कारमा व्यस्त छन्, राहत वितरण र व्यवस्थापनमा कहिले समय दिने ?’ उनले भीआईपीहरू आएर समय खेर फाल्नुभन्दा जिल्लामा भइरहेको विपद् व्यवस्थापनमा निगरानी र निर्देशन दिनुपर्ने बताए।

यस्तै जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले भीआईपीहरूको हेलिकप्टर ‘आतंक’ बन्द हुनुपर्ने बताए। ‘हामी पीडितको उद्धार र राहतको काममा व्यस्त छौं, पीडितको व्यवस्थापनमा कठिनाइ भइरहेको छ’ उनले भने, ‘भीआईपीहरू हेलिकप्टरमा घुमिरहेका छन्, यो समयमा हेलिकप्टरहरू राहत सामग्रीको ढुवानीमा प्रयोग हुनुपर्छ। जिल्लामा आउने भीआईपीको सवारीले पीडितको व्यवस्थापनमा अलमल भएको छ, यसलाई रोकेर सबै शक्ति विपद् व्यवस्थापनमा केन्द्रित गर्नुपर्छ।’ अहिले अवलोकनभन्दा पनि काम गर्नुपर्ने समय भएको उनको भनाइ छ।null

महिला अधिकारकर्मी सुनिता बोहराले नेता र मन्त्रीहरू हेलिकप्टरमा मात्र घुमेको भन्दै आलोचना गरिन्। ‘पीडितहरू खान नपाएर भोकै छन्, सुत्केरी र गर्भवतीहरूले ओत लाग्ने ठाउँ पाएका छैनन्’ उनले भनिन्, ‘मन्त्री र नेताहरू हेलिकप्टरमा घुम्नमै मस्त छन्, मन्त्रीले चढेका हेलिकप्टरहरू राहत सामग्रीको ढुवानीमा प्रयोग गरौं। जिल्लामा आउने मन्त्री र नेताका कारण पीडितका समस्याहरू ओझेलमा परे, यसतर्फ नेता र मन्त्रीले सोच्नुपर्छ।’

हेलिकप्टरबाट अवलोकन गरेर पीडितका वास्तविक समस्याहरू समाधान नहुने उनको भनाइ छ। यस्तै अधिवक्ता भीमबहादुर सिंहले भीआईपीको लस्करले राज्यको स्रोत दुरुपयोग भएको बताए। उनले भने, ‘पीडितले खाना पाएका छैनन्, भीआईपीहरू हेलिकप्टरमा सयर गरेर पीडितहरूको गास खोसेका छन्। मन्त्री र नेताहरूको लस्करले विपद् व्यवस्थापनमा खट्नुपर्ने कर्मचारी र सुरक्षाकर्मीले पनि काम गर्न पाएनन्, भीआईपीको अर्थ नहुने भ्रमणहरू रोक्नुपर्छ।’


यो समय भनेको पीडितलाई राहत सामग्री उपलब्ध गराउने र उनीहरूको व्यवस्थापन गर्नु हो। तर, दिनहुँ आउने भीआईपीका कारण यी कामहरू प्रभावित भएका छन्।  
राजेन्द्रविक्रम शाह,संयोजक, नागरिक समाज जाजरकोट 

पीडितको व्यवस्थापनमा कठिनाइ भइरहेको छ। तर, भीआईपीहरू हेलिकप्टरमा घुमिरहेका छन्। यो समयमा हेलिकप्टरहरू राहत सामग्रीको ढुवानीमा प्रयोग हुनुपर्छ।
चन्द्रप्रकाश घर्ती, प्रमुख, भेरी नगरपालिका, जाजरकोट

भीआईपीको लस्करले राज्यको स्रोत दुरुपयोग भएको छ। पीडितले खाना पाएका छैनन्। भीआईपीहरू हेलिकप्टरमा सयर गरेर पीडितहरूको गाँस खोसेका छन्।
भीमबहादुर सिंह,अधिवक्ता, जाजरकोट

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.