पर्सामा सशस्त्र प्रहरीले पक्राउ गरेको एक ट्याक्टर धान स्थानीयले लुटे
वीरगन्ज : पर्सामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको तस्करीको एक ट्याक्टर धान स्थानीयले लुटेर लगेका छन्। पर्साको छिपहरमाई गाउँपालिकास्थित भेडिअर्वा टिहुकी नाकामा बुधबार बिहान सशस्त्र प्रहरीले धानसहितको ट्याक्टर नियन्त्रणमा लिइसकेको अवस्थामा स्थानीयको एक समूहले लुटेर लगेका हुन्।
भारतको बसन्तपुर नाकासँग जोडिएको पर्साको भेडिअर्वा नाका हुँदै बुधबार बिहान राजश्व छलेर भारतबाट ल्याइएको आशंकामा धानसहितको ट्याक्टर सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट मिर्जापुरका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए।
सशस्त्र प्रहरीले धानसहितको ट्याक्टर नियन्त्रणमा लिने बितिक्कै गाउँका महिला, पुरुष र बालबालिकाहरूले ट्याक्टरमा लोड रहेको धानको बोरा लुटेर लगेको प्रत्यक्षदर्शीले बताए।
यता पर्साका सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले भने सशस्त्र प्रहरीले धानसहितको ट्याक्टर रोकेर चेकजाँच गर्ने क्रममै स्थानीयको समूहले ट्याक्टरबाट धानको बोरा झारेर लिएरको गएको जानकारी पाएको बताए। उनले भने, ‘स्थानीयले धान लुटेरै लगेको हो भन्ने यकिन भइसकेको छैन। यस बारे छटानबिन भइरहेको छ।’
घटना प्रकाशमा आएपछि अनुसन्धानका लागि सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट मिर्जापुरका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक केशव सुवेदीलाई वीरगन्जस्थित सशस्त्र प्रहरी १३ नम्बर गणमा झिकाएर छानबिन भइरहेको कर्मचार्यले बताए।
उनको सट्टा मिर्जापुर बीओपीमा सशस्त्र प्रहरी निरीक्षक कपिल गिरीलाई पठाइएको सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले जानकारी दिए।