उद्धार र राहतमा सरकारले गम्भीरतापूर्वक पहलकदमी लिएको छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको उद्धार र राहतलाई प्रभावकारी बनाइएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भूकम्पपछि उद्धार र राहतमा सरकारले गम्भीरतापूर्वक पहलकदमी लिएको बताए। उनले भूकम्पपछिको पुनःस्थापनामा पनि प्रभावकारी र वैज्ञानिक भूमिकाको आधार तयार भएको बताए। २०७२ को भूकम्पबाट शिक्षा लिएर यसपटक वैज्ञानिक र व्यवस्थित रूपमा पुनःस्थापनाको काम अगाडि बढाउने तयारी सरकारले गरिरहेको उनले बताए।
त्यस्तै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढेको वर्तमान सरकार देशमा विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न क्रियाशील रहेको जिकिर गरे। १० महिनाको अवधिमा अर्थतन्त्रको संकट अन्त्य गर्दै अर्थतन्त्रको दबा अन्त्य गर्न मेहेनत गरिएको र अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक देखिएको उनले बताए। उनले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको पनि धारणा राखे।
कार्यक्रममा प्रतिष्ठानलाई प्राविधिक शिक्षा पठन पाठन गर्नका लागि सहयोग गर्ने नेपालस्थीत भारतीय दूतावासलाई सम्मान गरिएको थियो भने कोरोना महामारी नियन्त्रण र उपचारमा सहयोग गर्ने प्रोजेक्ट होपलाई समेत सम्मान गरिएको थियो।