तानसेनमा रोटी महोत्सव हुँदै
तानसेन : परम्परागत कला संस्कृतिमा धनी रहेको तानसेनको टक्सारटोलमा तिहार पर्वलाई लक्षित गरेर रोटी महोत्सव हुँदै छ।
पाल्पा उद्योग वाणिज्य संघ र तानसेन नगरपालिका, वडा नम्बर ३ को कार्यालय र मैत्री क्लब तानसेनको आयोजनामा यही कार्तिक २४ र २५ गते तानसेनको टक्सारमा प्रथम रोटी महोत्सव हुन लागेको हो।
महोत्सवलाई लक्षित गरेर गरिएको पत्रकार सम्मेलनमा रोटी महोत्सवमा तिहार पर्वलाई केन्द्रित गरेर स्थानीयस्तरमा उत्पादित रोटीहरू फिनी, लाखा, जुम्ली, अनरसा अर्सा, झिनीया, सेल, झर, पाते, लहरा तथा खुर्मा जस्ता विभिन्न रोटीका प्रकारहरू महोत्सवमा राखिने महोत्सव संयोजक रञ्जना थापा अर्यालले बताइन्।
महोत्सवमा आउने पाहुनाहरूलाई अन्य स्थानमा भन्दा सस्तो र गुणस्तरीय रोटीहरू उपलब्ध गराउने संयोजक अर्यालले बताइन्। तिहार पर्वलाई नेपालीहरूले रोटी रोटीको पर्वका रूपमा मनाउँदै आएका छन्।
तानसेनको बजारलाई चहलपहल बनाउन, स्थानीय उत्पादनको बिक्री वितरण बढाउन, स्थानीय स्तरमा रोजगारी बढाउन परम्परागत पेशा व्यवसायलाई प्रवर्द्धन गर्न रोटी महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष शैलेन्द भट्टराईले बताए।