विज्ञान,प्रविधि र आविष्कार क्षेत्रको महत्व सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारले विज्ञान,प्रविधि र आविष्कार क्षेत्रको महत्व र यसमा जनशक्तिको भूमिकालाई उच्च महत्व दिएको बताएका छन्। विश्व विज्ञान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले वैज्ञानिक,अनुसन्धानकर्मी,प्रविधि विकास र नवप्रवर्तनमा लागेका युवा प्रतिभाहरूको सुरक्षा र प्रवर्द्धनमा लगानी बढाउने सरकारको नीतिहरू कार्यान्वयनमा रहेको बताए।
प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्षमा सरकारले वैज्ञानिक,अनुसन्धानकर्मी, आविष्कारक र युवा उद्यमीलाई सहयोग पुर्याउन युवामैत्री कार्यक्रमहरूका लागि बजेट विनियोजन गरेको बताएका छन्।
अनुसन्धान, आविष्कार र उद्यमशीलता प्रवर्द्धन गर्न विधेयकको मस्यौदा तयार भइरहेको शुभकामना सन्देशमा भनिएको छ।
शुभकामना सन्देशमा भनिएको छ,'नेपालको संविधानले वैज्ञानिक अनुसन्धान र नवप्रवर्द्धनलाई संघीय र प्रादेशिक दुवै सरकारको साझा अधिकारको रुपमा राखेको छु। अनुसन्धान,नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणालीहरू एकीकृत गर्न यस क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तिकरण र सवलीकरण गरी दीर्घकालीन नीति र कार्यक्रमहरू तर्जुमा गर्न सरकार तत्पर रहेको छ।'
प्रधानमन्त्री दाहालले विश्वले सामाना गरिरहेको विविध चुनौतीहरूलाई सम्बोधन गर्न तथ्यमा आधारित सरकारका नीति तथा कार्यक्रमहरू तर्जुमा र कार्यान्वयन गर्न विज्ञान र नवप्रवर्तनमा विश्वास अभिवृद्ध गर्न आवश्यक रहेको बताएका छन्।