मौलापुरकी मेयर साहमाथि निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
रौतहट : सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहमाथिको कारबाही तत्काललाई रोकिएको छ।
सर्वोच्चले नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले पदमुक्त गर्ने निर्णय कार्यान्वयनमा रोक लगाएको हो। शुक्रबार साहलाई पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले निर्वाचन आयोगले गरेको कारबाही बदर गर्दै पुनर्बहाली गर्न आदेश दिएको हो। अदालतले निर्वाचन आयोगलाई १५ दिनभित्र यस सम्बन्धमा लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ।
मेयर साह २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन्। एमाले छाडेर प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी प्रवेश गरेको भन्दै नेकपा एमालेले मेयर साहलाई कारबाही गरेको थियो।