जाजरकोट (कल्पत) : जाजरकोट नलगाड नगरपालिका– १ कल्पतका पूर्णबहादुर पुन शुक्रबार दिउँसो त्रिपाल टाँग्न काठ ठोक्दै थिए। श्रीमती र छोराछोरी उनीहरूलाई सहयोग गरिरहेका थिए। उनीजस्तै जाजरकोट कल्पतका करिब सयभन्दा बढी परिवार बास व्यवस्थापनका लागि लागेका थिए। कोही त्रिपाल हाल्दै थिए। कोही भने लत्ताकपडा भाडावर्तनलगायतका मालसमान ओसार्दै थिए। तर, यो दृश्य भूकम्प गएको एक सातापछि मात्रै देखियो। किनकि यतिका समय उनीहरूले त्रिपाल पाएनन्, खुल्ला आकाशमुनि बस्नु पर्यो।
जाजरकोटमा मात्रै १ सय १ जनाको ज्यान जाने गरी गएको भूकम्पले घरवारविहीन भए पनि एक सातासम्म त्रिपाल र अन्य राहत सामग्री केही पनि पाएका थिएनन्। नेपाल रेडक्रस सोसाइटी, यूनएफपीए, एडब्लूओ इन्टरनेसनललगायतका केही संघसंस्थाहरूले त्रिपाल र अन्य राहत सामग्री उपलब्ध गराएपछि भूकम्पपीडित स्थानीयले केही हदसम्म भए पनि राहत महसुस गरेका छन्। भूकम्पले सबै घर चिराचिरा परेका छन्।
‘एक हप्तासम्म घरबाहिर आँगनमा खुला आकाशमा बस्यौं। त्रिपाल पाएपछि गहुँबारीमै त्रिपाल हालेर बसेका छांै,’ ६५ वर्षीय स्थानीय मैमी बुढाले भनिन् ‘म एकल महिला हुँ मलाई ओत दिने घर भत्कियो। खुला आकाशमुनि चिसोमा कठ्याङ्रिएर बस्नु परेको थियो। आज भने त्रिपाल दिएका छन्। गाउँलेले मलाई पनि त्रिपालमा बस्ने व्यवस्था मिलाई दिएका छन्।’
शुक्रबार नै त्रिपाल आएकाले सबैले बस्ने स्थान बनाइसकेका छैनन्। गाउँदेखि अलि तल भर्खरै गहँु रोपेको बारीमा त्रिपाल राख्ने कार्य जारी छ। तर, शौचालय कहाँ गर्ने कसैले सोचेका छैनन्। एक सयभन्दा बढी परिवारका पाँच सय बढीले खुला शौच गर्नुपर्ने बाध्यता छ। खुला आकाशमुनि बस्नुपर्दा धेरै सुत्केरी, वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन्। स्थानीय बेलमती पुनले भनिन्, ‘घर भत्किएर बस्ने सक्ने अवस्था छैन। ढुंगा, माटो र काठले बनेका कुनै पनि घर बाँकी छैनन्। सबै घर चर्किएका छन्।’
भूकम्पका कारण कल्पत गाउँमा पाँच जनाको ज्यान गएको थियो भने १७ जना घाइते भएका थिए। दुई दर्जन घर भत्किएका र अन्य सबै घर पूरै चर्किएका छन्। एकै ठाउँमा गुचुमुचु भएर बसेको सुन्दर गाउँ अहिले कुरूप बनेको छ। मानिसहरू अहिले पनि त्रसित छन्। कतिबेला के हुने हो। भोकभोकै मरिने पो हो कि भन्ने चिन्ता पनि छ। पुरिएका घरका अन्तपात र कपडा निकाल्न पाएका छैनन्।
मौरीपालनको पकेट क्षेत्रको रूपमा रहेको कल्पतमा भूकम्पले धेरै मौरी घारमा समेत क्षति पुर्याएको छ। त्यही गाउँबाट मात्र करिब एक करोडको मह उत्पादन हुन्थ्यो भूकम्पले कतिपय घार नै गुडेर मौरी मरेका छन् भने बाँचेका मौरीले पनि मह उत्पादन गर्न छोडेको स्थानीय हरिबहादुर पुनले बताए। उनले भने ‘यस गाउँको मुख्य आयस्रोत भनेकै मह हो यो सिजन पनि हो तर सबै खत्तम भयो।’