बङ्गलादेशमा तेक्वान्दो पदक जितेका खत्रीलाई काभ्रेमा ५० हजार रुपैयाँसहित सम्मान
काभ्रे : बङ्गलादेशमा तेक्वान्दो पदक जितेका काभ्रे बेथानचोकका विष्णु खत्रीलाई ५० हजार रुपैयाँसहित गाउँ पालिकाले सम्मान गरेको छ। शुक्रबार गाउँपालिका अध्यक्ष, उपाध्यक्षले खत्रीलाई सम्मान गरेका हुन्।
अक्टोबर १९ देखि २१ मा बङ्गलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगततर्फ समेत गरी खत्रीले दुई ओटा पदक जितेका थिए।
जिल्लाको बेथानचोक गाउँपालिका ५ भंगालाका खत्री नेपालको तर्फबाट प्रतिनिधित्व गरेर बङ्गलादेश खेल्न गएका थिए। प्रतियोगितामा उनले पुम्सेमा रजत हात पार्न सफल भएका थिए। टिम पुम्सेमा विष्णु खत्रीसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यको टिमले कास्यपदक मेडल जितेको थियो।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले विश्वस्तरको प्रदर्शन गर्दै गाउँपालिकाको मात्र नभइ देशकै गरिमा उच्च राख्न सफल भएकोमा खत्रीलाई धन्यवाद व्यक्त गरे।
पालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले खेलकुदको विकासका लागि गाउँपालिकाले लगानी गर्दै आइरहेको र प्रतिभा उत्पादन र प्रोत्साहनका गतिविधि गर्दै जाने बताइन्। पालिकाले अन्तर्राष्ट्रिय तहमा पदक जित्ने पालिकाको खेलाडीलाई अगामी दिनमा पनि सम्मान गर्दै जाने बताइन्।
अफ्नो पालिकाले सम्मान गरेपछि खत्रीले सम्मानले आफूलाई थप उर्जा र हौसला मिलेको बताए। हामी खेलाडी सधैव देश र आफ्नो जन्म गाउँ सम्झेर अनुशासनमा रहेर खेल खेलिरहेको बताउँदै यस्तो सम्मानले खेल क्षेत्रको विकास हुने बताए।