चरा र मान्छे

चरा र मान्छे
फाइल तस्बिर।
सुन्नुहोस्

 चरा 

बिहानीको चिसो घाम थियो 
बाँसघारीमा चराहरू 
हाँगा हल्लाए हल्ला गरे
युद्ध मच्चियो 
एकले अर्कोलाई ठुँङे लछारे 
भाँडभैलो गरे 
‘च्वाँऽऽ च्वाँ’को ध्वनि आयो 

फेरि हाँस्न थाले चराहरू 
कुरा मिल्यो 
ठुँडो जुधाउँदै प्रेम र सद्भाव साटासाट गरे 
मधुर मिलनमा केको सरम ?
चाहना हुनेले सर्वसाक्षी प्रणय लीला रचे 
सरेआम मादक बन्यो बिहानी 
सबैले समवेत सुमधुर गाए 
वातावरण गुञ्जायमान भयो 

अनि चराहरू
आफ्नो चारो खोज्न आफैं निस्के 
चारोमा मालपोत लागेन 
चारोमा आयकर लागेन 
चोरले चारो खोसेन 
कोही बलात्कार गर्न आएन 
कोही पोइल गएन 
कोही जार बन्नु परेन 
कोही भ्रष्टाचारी बनेन 
सिमाना थिएन देश थिएन
वसुधैव कुटुम्वकम्

न अस्पताल न डाक्टर 
न चोर न त प्रहरी 
शोषण थिएन 
मालिक थिएन 
नोकर थिएन 
न सामन्तवाद न पुँजीवाद 
न समाजवाद न त साम्यवाद 
न स्वर्ग न नरक न वैकुण्ठ नै 
न ईश्वर न देवता न त प्रार्थना 

न मोह न आसक्ति
न भाँडो न त सञ्चय 
हुर्केका छोराछोरी उडेर गए
बाबुआमा सहर्ष हेरिरहे 
न लोकाचार न पापाचार 
न आँसु न त प्रहसन 
डराउनुको दरकार थिएन 
केवल थियो त सर्वत्र स्वायत्तता।

मान्छे 
बिहान सबेरै उठें
आस्था अनुरूप भगवान्को भजन–
‘कराग्रे वसते लक्ष्मी करमध्य सरस्वती...’
पण्डित पादरी मुल्ला औ बोधिसत्वका सत्संग 
करुणा दया र क्षमा नै सर्वोत्तम रे 
‘परोपकार पुण्याय पापाय परपीडनम्’
इमानकी जय सदाचारकी जय 
‘वसुधैव कुटुम्बकम् अहिंसा परमोधर्म 
असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय 
सत्यमेव जयेते 
अहम ब्रह्मास्मी तŒवमसी 
‘बुद्धम् शरणम् गच्छामी धम्मम् शरणम् गच्छामी’ 
भीरु मानवले ईश्वरको पाउमा आँसु झारे झैं गर्‍यो 
प्रभु मलाई सद्बुद्धि देऊ !

दिन छिप्पिँदै थियो 
अनि, ढुंगा हृदयहरू 
घनघोर घनत्वका घण्टाउकेहरू 
चरणागत शरणागत दासानुदासहरू 
र सफेद लबेदामा लपेटिएका लिच्चडहरू 
जम्मा भए डबलीमा 
अदालतमा, कचहरीमा र मन्त्रिपरिषद्मा 
अनि, सर्वत्र अनाचार भयो 
दिउँसै बलात्कार भयो 
अबलाको चीत्कार भयो 
आर्तनादलाई पर्खालले छेक्यो 
न्याय आँखा नदेख्ने भयो 
देवता कान नसुन्ने भयो 
अनि, अनेकौं पाखण्डहरूले 
गच्छे अनुसार दूधले नुहाए 
साराका सारा ‘महानुभावहरू’ 
स्वच्छ, शुभ्र र सुमुख देखिए 

माथि माथि उड्ने चराले
नियालिरह्यो मनुष्यको संसार 
मसिना मोटा सबै पत्थरहरू 
मनका मैला तनका सुकिला 
कठोर कर्कश कलुषहरू 
सेतो बर्को ओडेर मन्द मुस्कुराउँदै 
बाहिरिँदै थिए आशीर्वाचनको अभिमानमा 
फेरि दासहरू निस्के एक हुल 
परतन्त्र परवश परजीवी भेडाहरू 
प्रभुपाद स्पर्शका आकांक्षी भृत्यवृन्द 

अनि, चिरबिर गर्दै चरा बोल्यो 
चाप्लुस चम्चा चाकर मान्छे 
चोर चाण्डाल चाटुकार मान्छे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.