‘धोती’ गहना थियो कसरी बन्यो ‘गाली’ ?
काठमाडौं : धोती । मिथिला र मधेसको विशिष्ट आभूषण हो। तर, पछिल्लो समय यसलाई गाली गर्न एक शब्दको रूपमा प्रयोग गरेको पाइन्छ। साहित्यकार डा. राजेन्द्र विमल भन्छन्, ‘मिथिलाका कर्नाटवंशी राजाले शास्त्रार्थ गर्थे। परीक्षामा उत्तीर्ण हुने विद्वानलाई एक जोर धोती उपहार दिन्थे। तर, कलान्तरमा विश्वमा कहीँ नभएको कुरो नेपालमा देखिएयो, त्यही पहिरन ‘धोती’लाई गाली गर्न शब्दको रूपमा प्रयोग गर्न थालियो।’
भारतबाट भागेर सन् १०९७ मा मिथिला आएका कर्नाटवंशी राजा नान्यदेवले सिम्रौनगढ (बारा)मा राजधानी कायम गरेका थिए। उनले मिथिलाका विद्वानहरूलाई दरबारमा भेला पारेर शास्त्रार्थ गराउँथे। अहिलेजस्तो उहिले मेडल र रूपैयाँ पुरस्कार दिने चलन थिएन। डा. विमल थप्छन्, ‘मिथिलाका राजामहराजले धोतीलाई उच्च पुरस्कारको रूपमा प्रयोग गर्थे। त्यो बेला धोतीको एक प्रकारले महिमा गान हुन्थ्यो।’ तर, अहिले त्यही धोती लगाएर काठमाडौंको गल्ली हिँड्दा दुर्व्यवहार सहनुपरेको घटना सुनिनु र देखिनु दुःखको कुरा रहेको उनी बताउँछन्।
उनका अनुसार सिंहदरबारभित्र गम्छाको मुरेठ्ठा बाँधेर पस्दा ‘धोती’ भनेर होच्याइछ। यसले गर्दा मधेसमा सर्ट, पेन्ट लगाउने युवा पुस्ता बढे। सांस्कृतिक तथा धार्मिक पोसाक धोती, कुर्ता र गम्छा लगाउनेमा हिन्ताबोध गराइरहेको छ। यसलाई चिर्नका लागि पछिल्लो समय आफ्नो पहिरन प्रति गौरव गर्दै मधेसका युवाहरूले सांस्कृतिक, धार्मिक तथा परम्परागत पोसाक जोगाउन अभियान चलाइरहेका छन्। पुरुषले लगाउने धोती, कुर्ता, गम्छा, पाग र महिलाले लगाउने सारी, चोलो, पेटीकोटको संरक्षण र सम्बर्द्धनका लागि अभियान चलाएको हो। हालै मधेसका नर, नारीहरूले जानकी मन्दिर परिषरमा धोती, कुर्ता, गम्छा, पाग, सारी लगाएर जमघट गरेर रैथाने बस्त्रको प्रदर्शन गरेका हुन्। तिहारपछि हुन लागेको छठमा विशेषरूपमा सांस्कृतिक बस्त्र लगाएर सहभागी हुन उनीहरूले सबैमा अपिल गरेका छन्। ‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने नारा सार्वजनिक गरिएको बिजलपुराका रोशन महतोले सुनाए।
शासक वर्गले राज्यको पहुँच नभएका वर्गको जातजाती, भाषाभाषीको पहिचानलाई ओझेलमा पारेको साहित्यकार डा. विमल बताउँछन्। ‘सासक वर्गको आभूषण, खानपान, भाषा, साहित्यको धेरै चर्चा गरिन्छ। यसको धारण गर्नेहरूलाई गौरवान्वित गर्ने वातावरण बनाइन्छ,’ उनी थप्छन्, ‘ त्यसले तल्लो वर्गले धारण गर्ने संस्कृति, संस्कार, भाषा, साहित्यप्रति हिन्ताबोध गर्ने बीउ रोपियो।’ तल्लो वर्गमा आफ्नो परम्परा, खानपान, , बाजागाजा, संस्कार-संस्कृति, रहनसहनको संरक्षण र सम्वर्द्धन गर्ने नेतृत्वको अभावले यस्तो बीउ उम्रिने मौका पाएको उनी सुनाउँछन्।
उनका अनुसार काठमाडौंमा मधेसीहरू धोती, कुर्ता, गम्छा लगाएर हिँड्न हिन्ताबोध गरिरहेको अवस्था छ। यस्ता बस्त्रधारण गर्नेहरु आफूलाई जोकर बुझ्न बाध्य छन्। तर नयाँ युवा पुस्ताले आफ्नो पहिचान संरक्षण, प्रचारप्रसारमा जुट्न अब ढिला गर्न नहुने डा. विमल बताउँछन्।
मगही भाषा, साहित्य र संस्कृतिमा विद्यावारिधि गरेका डा. वीर बहादुर महतोका अनुसार विदेशी पहिरनले मधेशका संस्कृतिक आभूषणहरु लोप हुँदै गइरहेको छ। युवा पुस्ताले रैथाने पहिरन लगाउन लाज मानिरहेका छन्। यसले सांस्कृतिक वस्त्रको बजार घट्दै गएको छ। कुर्ता, चोलो, पेटीकोट सीलाएर जीवन चलाउने सूचीकारहरूको पेसा नै संकटमा पर्न थालेको छ।
सांस्कृतिक वस्त्र संरक्षण एवं सम्वर्द्धनका लागि महोत्तरीको गौशालाका कवि मोहन महतो कोईरीले चार वर्ष अघि अभियानको सुरुवात गरेका थिए। धोती, कुर्ता र गम्छा लगाएर उनले एउटा भिडियो समाजिक सञ्जालमा राखेर सांस्कृतिक तथा धार्मिक बस्त्रको संरक्षणमा युवा पुस्तालाइै अगाडि आउन आह्वान गरेका थिए। अहिले जुन सन्देश फैलिएर मधेशमा चर्चा बटुलेको छ।
विभिन्न पर्व, उत्सव र महोत्सवमा सांस्कृतिक वस्त्रधारण गरेर युवा पुस्ता सहभागी हुँदा खुसी लागेको कवि कोइरीले सुनाउँछन्। ‘हाम्रो सांस्कृतिक वस्त्र लोप नहोस् र नयाँ पुस्ताले पनि आफ्नो पहिचानको लागि यसको धारण गरोस् भन्ने मुल उद्देश्यका साथ काम सुरु गरे,' उनी भन्छन्, 'अहिले मधेशका युवाहरू धोती,कुर्ता,गम्छा र युवतीहरु सिधा सारीका साथ पर्व र उत्सवमा सहभागी हुन थालेका छन्।’
विदेशी पहिरनले मधेशका सांस्कृतिक आभूषणहरु लोप हुँदै गइरहेको छ। संस्कृति विद् डा. महतो भन्छन्, ‘सांस्कृतिक वस्त्र, पर्वतोहारले कुनै पनि जात, धर्म, देशको पहिचान दिन्छ। यो आउँदा पुस्ताका लागि हामी नासोका रूपामा दिएर जानुपर्छ।’ धोती-कुर्ता मधेसको मुख्य पहिचान रहेको उनी बताउँछन्।
‘देवी देवतालाई पूजा गरिन्छ। तर, भगवानले लगाएको बस्त्र मधेशीले लगाउँदा ‘धोती’ भनेर अपमान र गाली गरिन्छ,' डा. विमल भन्छन्, ' भगवान् धेरै राम्रो तर, उनले लगाएको बस्त्र ‘धोती’ र ‘मुरेठ्ठा’ चाहीँ बेठिक?’ त्यसैले हाम्रो बुझाई नै गलत भएको उनी तर्क गर्छन्।
अहिले मिथिला र मधेस क्षेत्रमा पूजापाठ, उत्सव, महोत्सव, परपाहुनालाई स्वागत र सम्मान गर्दा धोती, कुर्था र गम्छा, सारीजस्ता आभूषणहरू दिने चलन छ। साहित्यकार डा. विमल भन्छन, ‘जतिठूलो विदुवान भएपनि काठमाडौं र पहाडी क्षेत्रमा धोती, कुर्ता र गम्छा लगाएर गयो भने उसलाई कमजोर ठान्छिन्।’ तर, केही अबुझहरूले यस्तो प्रवृति देखाउने गरेकाले यसबाट दुःखी नहुन उनी सन्देश बाँड्छन्, 'बिस्तारै युवा पुस्तामा आफ्नो संस्कार, संस्कृति, खानपान, आभूषण संरक्षणमा गर्न नव जागरण आएको छ।' यसलाई उनले पुनरउत्थानवादी युग भनेका छन्।