विश्वकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा
बागलुङ : झोलुङ्गे पुलको जिल्लाले परिचित छ ‘बागलुङ’। सबैभन्दा धेरै झोलुङ्गे पुलदेखि सिंगल स्पान प्रविधिमा विश्वकै लामो झोलुंगे पुल बागलुङमै छन्। सोही जिल्ला बागलुङमा सिंगल स्पान प्रविधिमा विश्वकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ।
बागलुङ नगरपालिका–४ गौरीधामदेखि छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङ जोड्ने गरी कालीगण्डकी नदी माथि निर्माणाधिन पुलको ९५ प्रतिशत काम सम्पन्न भएको छ। ५२४ मिटर लामो र १८५ मिटर अग्लो सिंगल स्पानको विश्वकै दोस्रो लामो झोलुङ्गे पुलको काम सुरु भएको एक वर्ष भित्र करिव ९५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी हिमशिखर हिरा कन्ट्रक्सनका प्रतिनिधि बसन्त घर्ती मगरले बताए।
स्सपेन्सन ब्रिज नेपाल ललितपुरले हिमशिखर हिरा कन्ट्रक्सनलाई कामको जिम्मेबारी दिएको थियो। २०७९ भदौ ४ गते यो पुल निर्माण कार्य थालनी भएको थियो। पुल निर्माण गर्न ८ करोड २३ लाखमा ठेक्का सम्झौता गरेको थियो। निर्माण कार्यको म्याद झण्डै १ वर्ष बाँकी रहेको छ।
पुलले यस क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक आकर्षित गर्ने कन्ट्रक्सनका प्रतिनिधि मगरले बताए। पुलले बागलुङबाट पर्वतको नाग्लीबाङ र नाग्लीबाङदेखि बागलुङको यात्रा छोटिने छ। पुल सञ्चालन भएमा धार्मिक र आन्तरिक पर्यटक तान्न सफल हुनुका साथै कृषि उपज बिक्री वितरण गर्नसमेत सहज हुने स्थानीय बताउँछन्।
पुल निर्माण गर्नका लागि पुलको मुखमा पर्ने जग्गा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले करिव ५ आना जग्गा निःशुल्क प्रदान गरेका थिए।
बागलुङमा चार वर्ष अघि ५६७ मिटर लामो सिंगल स्पानको विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको थियो। बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण भएको पुलको बागलुङ नगरपालिकाले गण्डकी स्वर्णिम झुला नामकरण गरेको छ। लामो पुल तयार भएको चार वर्षपछि बागलुङकै बागलुङ नगरपालिका ४ देखि पर्वतको जलजला गाउँपालिका–८ जोड्नेगरी दोस्रो लामो पुल तयार भएको हो।