नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
![नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय](https://annapurnapost.prixacdn.net/media/albums/tiktok_2_EcdVosLHhO_fZzVBEe0Nj.jpg)
काठमाडौं : नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक नखुल्ने बनाउने निर्णय गरेको हो।
नेपालमा टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले तत्कालका लागि त्यसलाई बन्द गर्ने निर्णय गरिएको उनको भनाई छ।
केहि दिन अगाडि पछिल्ला दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको भन्दै सरकारले निर्देशिका ल्याएको छ।
सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०८० पारित गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माका अनुसार सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले उक्त निर्देशिका ल्याएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फेसबुक, एक्स (पहिलेको ट्वीटर) र टिकटकलगायतका सामाजिक सञ्जालले नेपालमा अनिवार्य रूपमा सम्पर्क कार्यालय राख्नुपर्ने प्रावधानसहित सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको थियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माका अनुसार अबको तीन महिनाभित्र सामाजिक सञ्जालहरू नेपालमा सूचीकृत पनि हुनुपर्नेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)